2021-02-28Sunday शान्ति खोज्दै आएका स्वयम्भुलाई खोकनाको आश्रय, अनि बन्द भयो मारकाट ! – Online Khabar – Hamro Nepal

शान्ति खोज्दै आएका स्वयम्भुलाई खोकनाको आश्रय, अनि बन्द भयो मारकाट ! – Online Khabar


६ कात्तिक, काठमाडौं । कुनै समय फर्पिङका एक तान्त्रिक राजा आफ्नी प्रेमिका अजिलाई भेट्न नियमित टेकुको पचलीमा आउने गर्थे । साँझमा पचली आएका राजा बिहान झिसमिसेमै आफ्नो राज्य फर्किन्थे । नेवार परम्परामा जब मान्छे पुरानो हुँदै जान्छ उसलाई देवताको रूपमा मान्ने चलन छ । त्यसैले पचलीमा रहेकी ती अजीलाई पनि सबैले देवी नामले पुकार्थे ।

सदाझैं नवरात्रको एकदिन राजा आफ्नी प्रेमिका भेट्न टेकु पुग्दा अजीले राजालाई भैरव स्वरुप देखाउन बिन्ती गरिन् । राजालाई थाहा थियो कि भैरव स्वरुप प्रस्तुत गरेपछि अजी बेहोस् हुने छिन् । बेहोसीमा उनले आफूलाई पुरानै अवस्थामा ल्याउन सक्ने छैनन् । त्यसैले उनले आफ्नो भैरव स्वरुप देख्ने इच्छा नगर्न पटक पटक आग्रह गर्दै आएका थिए ।

सबैतिर ती राजाको तान्त्रिक शक्तिको चर्चा थियो । त्यही चर्चाका कारण खुल्दुलीको भूमरीमा फसेकी अजीले राजाको आग्रह स्वीकार गरिनन् र आफ्नो जिद्दी कसिरहिन् । त्यसपछि वाग्मतीको जल ल्याएर त्यसबाट कसरी भैरव स्वरुपलाई शान्त गराउने ? भन्ने विधि सुनाएर राजाले आफूभित्रको भैरव स्वरुप जगाउन थाले ।

जब भैरव जाग्यो तव अजी त्यो अजंग स्वरुप देखेर बेहोस् भइन् । भैरवलाई शान्त गराउने विधि अजीबाहेक कसैलाई पनि थाहा थिएन । कोही व्यक्ति नभएपछि रातभर टेकुको पचलीमा भैरवको उग्र स्वरुप बसिरह्यो ।

बिहान झिसमिसे हुन लागेपछि भैरवस्वरुपका राजा आफ्नै राज्यतिर लागे । उनी थकित मुद्रामा थिए तर उनलाई शान्त गराउने विधि जानेका कोही पनि भेटिएनन् । फर्किने क्रममा हाल खोकनाको सिकाली मन्दिर क्षेत्रमा वाग्मतीको किनारमा एउटा ठूलो रुखलाई समातेर बसिरहेका थिए । उनको शरीरमा भैरवस्वरुप अझै शान्त भइरहेको थिएन । रातिदेखि नै शरीर कापीरहेको थियो ।

उता खोकनाको बस्तीमा पहिलेदेखि नै ठूलाठूला तान्त्रिकहरुको बसोबास थियो । नौरथाको दिन नवरथ नुहाउन गएका खोकनावासीले वाग्मतीको किनारमा रहेका भैरव स्वरूपलाई देखेर तान्त्रिक विधिबाट जात्रामा ढाल्नेबारे सोच्न थाले । त्यही कथासँग सम्बन्धित छ अहिले दसैंको सट्टा जात्रामा रमाउने खोकनावासीको सिकाली जात्राको किंवदन्ती । यही राजालाई जात्रामा सामेल गराएका कारण सिकाली जात्रा १२ वर्षमा एक पटक टेकुको पचली लैजाने गरिन्छ ।

****

स्कन्द पुराणको माघ महात्म्यममा उल्लेख भएअनुसार दक्ष प्रजापतिले आफू र आफ्ना पति महादेवप्रति गरेको व्यवहार सहन नसकी सतिदेवीले यज्ञकुण्डमा हामफालेर देह त्याग गरेको कुरा नारदले महादेवलाई सुनाउँछन् । क्रोधित भएका महादेवले काली र भैरवको स्तुति गरेर देवता गण उपस्थित  दक्ष प्रजापतिको यज्ञकुण्डलाई तहसनहस गरिदिन्छन् ।

सिकाली मन्दिर

सोही पौराणिक कथा अनुसारको जात्रा एक सातादेखि ललितपुरको खोकना क्षेत्रमा पर्ने सिकाली चौरमा मनाउने गरिन्छ । जहाँ सोही पौराणिक कथामा उल्लेख भएको सबै घटनाक्रमलाई नाटकीय पाराले देखाउने गरिन्छ ।

****

खोकना हरेक क्षेत्रको लागि अरुभन्दा भिन्न र विशेष छ । धेरैले दसैं मान्न नहुने गाउँको रुपमा मात्रै यो क्षेत्रलाई चिनाउने गर्छन् । तर एउटामात्रै विशेषताले यो क्षेत्रलाई चिनाउँदा यो क्षेत्रको संस्कृतिको लागि त्यसले न्याय गर्दैन ।

दक्षिण एसियामै बिजुली बत्तीको पहिलो अनुभव यही गाउँले गर्यो । १९६८ मा फर्पिङमा उत्पादित बिजुलीलाई चन्द्र शम्शेरले परीक्षणको लागि सबैभन्दा पहिले यही गाउँ रोजेका थिए । पहिलो पटक बत्ती बलेको घर अद्यापि खोकनामा सुरक्षित छ । पहिलो पटक कलधाराको पानी यही गाउँका मान्छेले पिउन पाए, १९५८ सालमा देशभरि खोलेका ६० वटा पाठशालामध्ये एउटा पाठशाला यही क्षेत्रमा खुल्यो । राणा शासकहरुले यो क्षेत्रलाई विशेष महत्व दिएका थिए । यसको मुख्य कारण यहाँको सुविधा र संस्कृति नै हो भन्छन् रुद्रायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णभगत महर्जन ।

दसैंको समयमा सबैतिर मारकाट र हत्याहिंसा भएपछि शान्तिप्रेमी स्वयम्भु भगवानमा बेचैनी बढेर गयो । उनी यस्तो शान्त ठाउँको खोजीमा गए जहाँ शान्ति मिलोस् । त्यही बेलामा उनी खोकनामा रहेको रुद्रायणी मन्दिरमा गएर शरण लिएको किंवदन्ती छ

खोकना लिच्छविकाल, मध्यकाल र अहिलेसम्म पनि हरेक कोणले विशेष छ । मध्यकालमा भौतिक एवं सांस्कृतिक सुविधाका कारण यस क्षेत्रलाई जितापुर नामले चिन्ने गरिएको थियो ।

खोकनावासीले अहिले पनि कुकुरा, सुँगुर र बंगुर पालेमा अशुभ हुन्छ भन्ने मान्छन् । त्यसैले यो भेगमा यी पशुपन्छी कसैले पाल्दैनन् । त्यसैले विविध विशेषताले धनी यो गाउँ दसैंको समयमा अरुभन्दा भिन्न संस्कृतिका कारण सधैं चर्चामा आउँछ ।

****

खासमा खोकनावासीहरु सिकाली जात्रा दसैंभन्दा पुरानो जात्रा हो भन्ने विश्वास गर्छन् । त्यसैले सिकालीमा व्यस्त हुँदा दसैं मान्ने फुर्सद नभएको उनीहरुको कथन छ ।

हुन पनि सिंगै गाउँ आश्विन शुक्ल प्रतिपदा (दसैं मनाउनेको लागि घटस्थापना)को दिनदेखि सप्तमी (दसैंको फूलपाती) दिनसम्म सिकाली जात्रामा व्यस्त हुन्छ । कोही भैरव, महाकाली र वीरभद्र बनेर दक्ष प्रजापतिको यज्ञ विध्वंश गर्न पुग्छन् त कोही देवता गणको रुपमा सिकाली चौरमा पुगेका हुन्छन् । रुद्रायणीसँग सम्बन्धित गुठीमा रहेका ४६ जना देवगणहरु सबै महर्जन र डंगोल थरका व्यक्तिहरु छन् ।

भैरवगणले यज्ञ विध्वंश गरिसकेपछि देवता गणलाई लखेट्दै पूरै गाउँ परिक्रमा गरेपछि भोलिपल्ट सिकाली नाच देखाएर यस वर्षको सिकाली जात्रा सकिन्छ ।

स्वयम्भुलाई शरण दिने गाउँ

अन्यत्र सबैतिर दसैंको दिन आसुरी शक्तिलाई दैवी शक्तिले पराजित गरेको उपलक्ष्यमा बली चलिरहेको दिन खोकनाका कुनै पनि मन्दिरमा घण्टा बजाउनसमेत प्रतिबन्ध छ । यी दिनमा गीत गाउने लगायतका सबै कार्य बन्द गरिन्छ ।

यो विशेषगरी बज्रयानी बौद्धमार्गीहरुले शान्तिको लागि गरेको आह्वान हो । यस्तो गर्नुको पछि पनि एउटा छुट्टै कथन र किंवदन्ती पाइन्छ । दसैंको समयमा सबैतिर मारकाट र हत्याहिंसा भएपछि शान्तिप्रेमी स्वयम्भु भगवानमा बेचैनी बढेर गयो । उनी यस्तो शान्त ठाउँको खोजीमा गए जहाँ शान्ति मिलोस् । त्यही बेलामा उनी खोकनामा रहेको रुद्रायणी मन्दिरमा गएर शरण लिएको भन्ने किंवदन्ती छ । त्यसैले रुद्रायणी देवीको शिरमा करुणामयको मूर्ति स्थापना गरिएको पाइन्छ ।

अन्त धेरै बली दिने दिन यहाँ सबै हतियारलाई विश्राम दिने गरिन्छ । यो तत्कालीन सम्राट अशोकले हतियार बिसाएर शान्तिको बाटोबाट विश्व जित्नेयात्रामा लागेको सम्झनामा यो जात्रा मनाउने गरिएको स्थानीय बताउँछन् ।

समयक्रमसँगै परिमार्जन हुँदै आएको जात्रा

मध्यकालमा नेपाल उपत्यका (अहिलेको काठमाडौं उपत्यका) मा धेरै जात्रापर्वहरुको विकास भयो । सिकाली जात्रामा पनि मध्यकालीन समाजको झल्को रहेको महर्जन बताउँछन् । यसरी समयक्रम अनुसारका संस्कृतिलाई समेट्दै सिकाली जात्रा अहिलेसम्म पनि चलिरहेको छ ।

लिच्छविकालमा भैरवलाई मान्नेहरुको संख्या धेरै थियो । मध्यकालसम्म आउँदा पनि भैरवको क्रेज घटेन । आठौं शताब्दीमा लेखिएको विश्वास गरिने स्कन्द पुराणमा शिवले समेत आफ्नो जटाबाट महाकाली, वीरभद्र र भैरवको आराधना गरेको उल्लेख भएपछि उनलाई मान्नेहरु झनै बढेर गए ।

अर्काेतर्फ सिकाली जात्राको मुख्य आकर्षण सिकाली नाचमा पनि छ । आजभन्दा झण्डै ६ सय वर्ष पहिलेदेखि सुरु भएको विश्वास गरिने सिकाली नाच जात्राका लागि उल्लेखित विधिकै अधिनमा रहेर चल्ने गरेको छ । जुन जात्राको सातौं दिन वा सप्तमीको दिन गर्ने गरिन्छ ।

सिकाली जात्राको विधि

जबजब अरुको घरमा घटस्थापनाको तयारी हुन्छ, त्यसपछि खोकनाका कुमार केटाहरु हातमा उखु र भोगटे बोकेर घरघरमा पूजा सामग्री संकलन गर्न सुरु गर्छन् । एक छाक खाना त्यसमा पनि भरपूर चोखोनितो, नियमित स्नान लगायतका विधि पूरा गरेका ती कुमार केटाहरुले तृतीयाको दिन बिहानसम्म पनि पूजा सामग्री संकलन गर्ने कार्यलाई निरन्तरता दिन्छन् ।

रुद्रायणी गुठी देवता खलकको गुठी हो । यस्तै, तीन किसिमको गुठी सिकाली जात्रामा सम्मिलित हुन्छ । टः गुठी, सलागु गुठी र जः गुठीबाट आश्विन शुक्ल तृतीयाको दिन तीन वटा चोखो राँगो बली दिने गरिन्छ । सोही दिन चोखोनितो गरेका कुमार केटाहरुले चोखो राँगोको आलो रगत दिएर सिकाली चौरमा रहेकी देवीलाई जगाउन जाने गर्छन् ।

हालको खोकना क्षेत्रबाट केही पर वाग्मती नदीको किनारामा एउटा मन्दिर छ, त्यसभित्र ठूलो सिकाली देवीको स्वरुप मानिएको ढुंगा छ । त्यही देवीलाई नै रुद्रायणी वा सिकाली देवी भनेर चिनिन्छ । चोखो रगत चढाएर त्यहाँ तान्त्रिक विधिबाट पूजा हुन्छ । पहिलेपहिले तान्त्रिक विधिबाट बली दिइएको राँगो जिउँदो बनाइन्थ्यो भन्ने चलन पनि पाइन्छ ।

यसरी बली दिइएको राँगोको मासु गुठीको नाइकेदेखि सबैलाई भाग लगाएर बाँडीचुँडी खाने चलन छ । मासुको अनेकथरी परिकार बनाएर खाने गरिन्छ ।

उता जाँड पकाउने घ्याम्पोको बाहिरपट्टि एउटा विशाल भैरवको चित्र बनाइएको हुन्छ । त्यही भैरव आकृतिलाई कसाइले राँगाको आन्द्राबाट बनाएको गहना लगाइदिने गर्छन् । अर्काेतर्फ भैरवको आकृति कुँदिएको घ्याम्पोमा जाँड भने पकाइरहेका हुन्छन् ।

भैरवलाई आन्द्राको गहना लगाइदिएपछि निरन्तर बाजा बजाउँदै भैरव जगाउने काम गरिन्छ । बीचमा बाजा खण्डित भयो भने भैरव जाग्दैनन् भन्ने मान्यता छ । आश्विन शुक्ल पञ्चमीको दिन तान्त्रिक विधिबाट पूजा गर्ने चलन छ ।

सिकाली जात्राको मुख्य दिन

आश्विन शुक्ल षष्ठी अर्थात् सिकाली चौरमा विशेष जात्रा हुने दिन आजकै दिन महादेवले वीरभद्र महाकालीलाई जगाउने र देवतागण सम्मिलित दक्ष प्रजापतिको यज्ञ ध्वस्त पार्ने काम गरिन्छ । वीरभद्र र महाकाली जगाउने तान्त्रिक विद्या जानेका व्यक्तिले विधि पूरा गरेपछि देवता खलकमध्येका एक जनामा वीरभद्र र महाकालीको स्वरुप जाग्ने गर्छ । घरमै रहेका गुठियारले आफूमा भगवान जाग्नुभन्दा पहिले नै त्यस्तै खालको व्यवहार देखाउन थालिसकेका हुन्छन् । उसमा वीरभद्र र महाकालीको स्वरुप जाग्छ भन्ने जानेपछि उसलाई तुरुन्त सिकाली चौर पुर्याउने गरिन्छ । रुद्रायणीसँग सम्बिन्धित तीनवटै गुठीमा नौ/नौ जनाको समूह हुने गर्छ । रुद्रायणी गुठियार सिकाली चौरमा सांस्कृतिक मुकुट, पोसाक, गरगहना आदिमा सजिएर देवगणको भेषमा सिकाली चौर पुग्छन् ।

अर्काेतर्फ महाकाली र वीरभद्र जागेकालाई सिकाली चौरमा पुर्याएर चोखो पानीले हात धोएर रक्सी चखाएपछि बिस्तारै महाकाली र वीरभद्रको रुपमा उनीहरुको व्यवहार सुरु हुन्छ ।

सिकाली चौरमा मुकुटधारी देवता खलकको जात्रामा वीरभद्र महाकालीले प्रसादको रुपमा ल्याएको भात छरेर यज्ञमा उपद्रव मच्चाउँछन् ।

त्यहाँ जात्रा हेर्न आउनेले प्रसादको रुपमा छरेको भात खाएमा आफ्नो शरीरमा रहेको रोग निको हुन्छ भन्ने विश्वास गर्छन् ।

षष्ठीको दिन मध्याह्नसम्म जात्रा सकिन्छ । जात्रा सकिएपछि महाकाली, वीरभद्र र भैरवले देवता खलकलाई पूरै गाउँ लखेट्दै जान्छन् । यसक्रममा भैरव, काली र वीरभद्र पछिपछि हुन्छन् भने देवगण अघिअघि हुन्छन् । भैरव जाग्ने व्यक्तिको साथमा घ्याम्पो हुन्छ । उनीहरुको शरीरमा छुट्टै किसिमको कम्पन उत्पन्न हुन्छ । उनीहरुले षष्ठीको दिन खटमा रुद्रायणीलाई बोकेर जात्रा गर्ने गर्छन् । अन्तिममा क्वँलाछीमा आएर जात्रा समापन हुन्छ ।

सप्तमीको दिन क्वँलाछीमा सिकाली नाच गरिन्छ । त्यसको भोलिपल्ट अष्टमीको दिन रुद्रायणी देवीलाई ख्वापाः मा स्थापित गर्ने गरिन्छ । योसँगै यो वर्षको सिकाली जात्राको सम्पूर्ण विधि सम्पन्न हुन्छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>