2021-02-25Thursday साहित्यमा गुटैगुट, समीक्षक भन्छन्- राम्रै हो – Online Khabar – Hamro Nepal

साहित्यमा गुटैगुट, समीक्षक भन्छन्- राम्रै हो – Online Khabar


२४ असोज, काठमाडौं । अघिल्लो साता कवि तुलसी दिवसको एउटा भनाइलाई लिएर साहित्यकारबीच मत बाझियो । कविले भनेका थिए– ‘कवितामा एक्लो कवि नै समूहभन्दा बलियो हुन सक्छ ।’

समूह वा गुट भनेको कुनै खास उद्देश्य लिएर केही व्यक्तिको पक्ष, मत वा स्वार्थका आधारमा बनेको सानो दल वा जमात हो । साहित्यमा समूह निर्माणलाई ‘गुट’को नामले बढी अर्थ लगाइन्छ । नेपाली साहित्यको आधुनिक कालदेखि गुटबन्दीले प्रधानता पाएको देखिन्छ ।

गुटबन्दीको सिलसिला

बैरागी काइँला, इन्द्रबहादुर राई र ईश्वरवल्लभ मिलेर सुरु गरेको ‘तेस्रो आयाम’ नेपाली साहित्यको प्रभावशाली वैचारिक आन्दोलन मानिन्छ । लामो समय उनीहरू तीनजनालाई एक ढिक्काको रुपमा हेरियो । तेस्रो आयामका एकमात्र जीवित सदस्य काइँला भन्छन्, ‘विचार र आवश्यकताले बनेको गुट राम्रो हो, तर गुट विचारगत नभएर स्वार्थगत हुन्छ भने त्यसले समाजलाई अहित गर्छ ।’


विचारलाई केन्द्रमा राखेर बनेका गुटमा तेस्रो आयाम, झर्रोवाद, राल्फा, अस्वीकृत जमात, सृजनशील अराजकता, तरल अभियान (तरलतावाद), पहिचान आन्दोलन, उन्मुक्त पुस्ता आदि पर्छन् ।

२०४१ सालमा सुरु भएको तरलवादका सदस्य कवि तीर्थ श्रेष्ठका अनुसार साहित्यमा वैचारिक बहस सेलाउन नदिन तरल अभियान सुरु गरिएको हो । तरलवादको स्थापना हुँदा तीर्थ श्रेष्ठ, फणीन्द्र नेपाल र विनय रावलको टोली साहित्य लेखन र गतिविधिमा निकै सक्रिय थियो ।

‘कतिपय गुटले सिद्धान्त स्थापित गर्छ भने कतिले व्यक्ति’, पोखरा निवासी कवि श्रेष्ठ भन्छन्, ‘तथापि, सृजनशीलता वृद्धि गर्ने सकारात्मक सोचले बनेको गुटले साहित्य र समाजको अहित गर्दैन ।’

काठमाडौं र काठमाडौंबाहिर बस्ने साहित्यकारहरूको राजनीतिक झुकाव अनुसार क्षेत्रीय स्वभावका गुटहरु पनि बन्ने गरेको उनी देख्छन् । कविता, कथा, गजल, गीत, नाटकका विधागत गुट पनि बन्ने गरेको उनी बताउँछन् ।

चार दशकअघि मित्रतामा जोडिएका नारायण ढकाल, राजव, विमल निभा र श्यामललाई ‘ग्याङ अफ फोर’ भनिन्थ्यो । कम्युनिष्ट विचार र तिख्खर सृजनामा विश्वास गर्ने भएकाले चारजनाको एउटा समुहजस्तो देखिएको उनीहरू स्वीकार गर्छन् ।

‘हामी गुटमा एक–अर्काको प्रशंसा गर्दै आत्रागमा बसेका छैनौं’ ढकाल भन्छन्, ‘हामी एक–अर्काको रचनामाथि खुल्ला बहस गर्छौं, साहित्यको गुणवत्तामाथि कहिल्यै सम्झौता गरेनौं, गर्दैनौं ।’

विमल निभाले आफूलाई सिकिस्त हुने गरी व्यंग्य गर्ने गरेको बताउँछन् ढकाल । निभा भन्छन्, ‘गुट रचनात्मक बनाउने हो भने समग्र साहित्यको श्रीवृद्धि हुन्छ । मैले साथीसमूहबाट सृजनात्मक अन्तक्रिया पाइरहेको हुनाले नै उहाँहरूसँग नजिक छु ।’

कम्युनिष्ट भर्सेस डेमोक्रयाट

नेपाली साहियमा मुख्यतः कम्युनिष्ट विचारमा आस्था राख्ने र प्रजातान्त्रिक (डेमोक्रयाट) साहित्यकारको दुई धार छ ।

यी दुई विचारका आ–आफ्नै संघ छन् । कम्युनिष्ट विचार मान्ने साहित्यकार ‘प्रगतिशील लेखक संघ’ र प्रजातान्त्रिक विचारका साहित्यकारको ‘नेपाली लेखक संघ’ सक्रिय छन् ।

प्रगतिशील लेखक संघका अध्यक्ष जीवेन्द्रदेव गिरीलाई नेपाली साहित्यिक अभियान/गुटमध्ये प्रगतिशील समूह सबभन्दा ठूलो आकारको सशक्त विचार समूह लाग्छ । नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङ दुवै संघलाई संगठित गुट मान्छन् ।

नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङ दुवै संघलाई संगठित गुट मान्छन् । ‘मिल्ने विचार समूहका साहित्यकार संगठित भएको ठूलो समूहबाट नै लेखक संघ निर्माण हुन्छ’, उनी भन्छन्, ‘अनि त्यस संघभित्र बनेका सा–साना समुहलाई उपगुट भन्न सकिन्छ ।’

मुकारुङको विचारमा, अभियान र आन्दोलनसहित विचार पनि मिसिएको गुट दिगो हुन्छ । ‘गुटका सदस्यहरूलाई सृजनात्मक कर्ममा सक्रिय भइराख्ने माहोल बन्छ’, उनी भन्छन्, ‘किनभने त्यहाँ एकअर्काबीच बढी अन्तरक्रिया हुन्छ ।’

प्रगतिशील लेखक संघका अध्यक्ष जीवेन्द्रदेव गिरीलाई नेपाली साहित्यिक अभियान/गुटमध्ये प्रगतिशील समूह सबभन्दा ठूलो आकारको सशक्त विचार समूह लाग्छ । ‘प्रगतिशीलता मार्क्सवादको आलोकमा हुर्किएको विशिष्ट चिन्तन हो’, गिरी भन्छन्, ‘ठूलो सांस्कृतिक अभियान चलाउन यस्तो बलियो समूह चाहिन्छ ।’

सामुहिकताको लागि समूह निर्माण हुने उनको तर्क छ । समूहका एकले अर्कोको खुट्टा तान्ने, क्षुद्र टिप्पणी गर्ने चलन पनि कायम रहेको गिरी स्वीकार गर्छन् ।

माक्र्सवादी चिन्तक आहुति ‘गुट’ र ‘विचार समूह’मा रहेको फरक बुझ्न सुझाउँछन् । उनका अनुसार एउटै विचार समूहभित्र पनि फरकफरक गुट हुन सक्छ ।

कुनै गुट निहित स्वार्थमा बन्ने सम्भावना पनि धेरै देख्छन्, आहुती । ‘मान्छेले विचारको कुरा सुन्ने भएकाले गुटले पनि विचारको जलप लगाएको हुन्छ’, उनी भन्छन्,  ‘विचारलाई केन्द्र बनाएर व्यक्तिहरूको समूह बन्छ भने त्यसलाई गुटको सकारात्मक प्रयास मान्न सकिन्छ ।’

आहुतिका अनुसार साहित्यिक गुटको प्रकटीकरण, प्रभाव र विस्तार धीमा हुन्छ ।

२०५० को दशकमा ‘सृजनशील अराजकता’ आन्दोलन सुरु गरेका राजन मुकारुङ भने गुट स्वभाविकरुपमै निर्माण हुने प्रक्रिया मान्छन् । उनका अनुसार चिनजान, संगति र विचारधारा मिलेर बलियो गुट बन्छ । ‘गुट बन्नु साहित्यका लागि फलदायी छ’, उनी भन्छन्, ‘तर, नातावाद, स्वार्थपूर्तिजस्ता नकारात्मक प्रभाव दिए गुटको अर्थ हुँदैन ।’

मुकारुङ, उपेन्द्र सुब्बा र हाङयुग अज्ञात मिलेर सुरु गरेको सृजनशील अराजकतालाई नेपाली साहित्यमा गुटबन्दीकै रुपमा हेरिन्छ । मुकारुङ आफूलाई लाग्ने गुटबन्दीको आरोप सहजै स्वीकार गर्छन् अनि रुची, विचार र समकालीनताका आधारमा आफू अनुकूलको गुटमा रहन मन पराउँछन् ।

कथाकार ध्रुव सापकोटा ३२ सालको बुटपालिस आन्दोलन ताकाको साहित्यिक समूहलाई अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्नेहरूको साझा गुट मान्छन् । उनी भन्छन्, ‘अभिव्यत्तिी स्वतन्त्रताका लागि गरिएको बुटपालिस गर्ने जमातलाई गुट भनिन्छ भने त्यसले त साहित्य र समाज दुवैलाई हित गरेको छ नि ।’

कवि मनु मन्जिल राम्रो लेखक उत्तरको ध्रुवताराजस्तै तारामण्डलमा अलग्गै देखिने बताउँछन् । ‘गुटमै बसे पनि राम्रो लेखक हामीलाई हाम्रै होजस्तो लाग्छ’, उनी भन्छन्, ‘एक लाइन राम्रो साहित्य नलेख्नु, समुह वा गुटको धक्कु दिनु अथवा फलाना–फलाना व्यक्ति यो–यो गुटका हुन् भन्दै पर्चा लेखेर चर्चित हुन खोज्नु चाहिँ बेकार कुरा हो ।’

प्रतिभावान कवि/लेखकहरूले समूह बनाएर राम्रा सिर्जना गरे, नयाँ कुरा लेखे भने साहित्यलाई योगदान हुने मन्जिल बताउँछन् ।

पछिल्लो पुस्ताका कवि स्वप्निल स्मृतिलाई पनि गुटबन्दीको आक्षेप लाग्ने गर्छ । ‘रंगवाद’ सुरु गरेका उनी विचार निर्देशित गुटले नै सिर्जनात्मक उन्नयन गर्ने विश्वास राख्छन् ।

समीक्षक राम लोहनी नेपालमा गुट भन्नेबित्तिकै नराम्रो सोचिहाल्ने मनोविज्ञान रहेको बताउँदै भन्छन्- साहित्यमा गुट खराब होइन

गुट भन्नेबित्तिकै नकारात्मक तत्त्व सोच्न नहुने स्मृतिको तर्क छ । उनी भन्छन्, ‘मानिस सामाजिक प्राणी भएकाले साहित्य रचना समाज र राजनीतिबाट पनि निर्देशीत हुन्छ । यसैले एउटा गद्य कवि र छन्द कवि पनि सँगै हुन सक्छन् । उनीहरूको जीवनशैली र रुची मिलेर नै गुट बन्छ ।’

समीक्षकको नजरमा गुट

समीक्षकहरूको लागि पछिल्लो समय नेपाली साहित्यमा देखिएको गुटको बहस ‘कूटनीति’ बन्दै आएको छ । उनीहरू आफूअनुकूल गुटको समालोचना–व्याख्या गरिरहेका देखिन्छन् । उनीहरू कहिले गुटबन्दीले साहित्य बिग्रार्न लागेको त कहिले सृजनात्मक मलजल गरिरहेको दुई खाले टिप्पणी गरिरहन्छन् ।  यद्यपि, साहित्यमा गुटहरू स्वभाविक प्रक्रियाले बन्ने कुरामा समीक्षकहरू सहमत छन् ।

समालोचक अभि सुवेदी विश्व साहित्यमा आ–आफ्नै धरातलमा उभिएका साहित्यिक गुटहरू बनेको हुनाले नेपाली साहित्यमा पनि त्यसको प्रभाव परेको बताउँछन् ।

नेपाल र भारतमा भने मूलतः प्रगतिशील र प्रजातान्त्रिक गुटको प्रभाव रहेको सुवेदी बताउँछन् । उनी भन्छन्, ‘साहित्यमा निःसृत विचारले जातीय, वर्गीय, क्षेत्रिय, लैंगिक, सीमान्तकृत जमातलाई उभिन सक्ने बनायो भने साहित्यको वैचारिक गुट सार्थक हुन्छ ।’

साहित्यिक गुटले ‘हामी फरक छौं’ भन्ने बहससहित अस्तित्वको दाबी गर्न सघाउने सुवेदी बताउँछन् । त्यसका लागि गुटको ध्येयमा साहित्यिक गुणवत्तालाई उनी शर्त मान्छन् । सुवेदी थप्छन्, ‘उम्दा साहित्यका सर्जक कुनै गुटमा हुँदा पनि स्वतन्त्र रहन सक्छन् ।’

कुनै समय आफूलाई चित्तले खाएको विचारसँग मिलेर साहित्यिक आन्दोलनमा होमिएका कवि बैरागी काइँलाका अनुुसार विचाररहित गुटको कुनै अर्थ हुँदैन । उनी समाज र साहित्यको उन्नयन नहुने गुट नबनेकै राम्रो मान्छन्् । स्वार्थसिद्धि र तत्कालीन दाउपेचका लागि बनेको गुट साहित्यका लागि फलदायी हुँदैन ।

समीक्षक राम लोहनी भने नेपालमा गुट भन्नेबित्तिकै नराम्रो सोचिहाल्ने मनोविज्ञान रहेको बताउँछन् । ‘साहित्यमा गुट भनेको खराब कुरा होइन’, उनी भन्छन्, ‘त्यसलाई खराबीको रुपमा बुझ्नु र खराब बनाउनुचाहिँ खराब कुरा हो ।’

समालोचक गोविन्दराज भट्टराई पनि व्यक्तिहरूबीचको समानताले गुट बनिरहने बताउँछन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>