2021-02-25Thursday त्रिभुवन विमानस्थलमा ‘ग्राउण्ड ह्याण्डलिङ’ को भित्रीकथा – Online Khabar – Hamro Nepal

त्रिभुवन विमानस्थलमा ‘ग्राउण्ड ह्याण्डलिङ’ को भित्रीकथा – Online Khabar


२२ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ (भुमिस्थ सेवा) सुविधा उपलब्ध गराएपछि यो विषय गत साता यो राष्ट्रिय मुद्दा बन्यो । प्राधिकरणको नियमित काममा समेत विभागीय मन्त्रीले हस्तक्षेप गरेर भन्नुपर्‍यो कि ‘निर्णय तत्काल कार्यान्वयन नगर्नू ।’

मन्त्रीको आदेशले तत्कालीन आक्रोश त मत्थर पार्‍यो, तर सरकारी ध्वजाबाहकले पाउँदै आएको ग्राउण्ड ह्याण्डलिङ निजी कम्पनीलाई दिने निर्णय फिर्ता भने भएको छैन । जुनसुकै बेला हिमालय एयरलाइन्सले आफ्ना यात्रु आफ्नै भर्‍याङ र बस प्रयोग गरी व्यवस्थापन थाल्नेछ ।

यो ह्याण्डलिङको काम अहिले त्रिभुवन विमानस्थलमा नेपाल एयरलाइन्सले गरिरहेको छ । सरकारले राष्ट्रिय ध्वजाबाहकले पाइरहेको सुविधा खोस्दै निजी क्षेत्रलाई दिने निर्णय गरेपछि नेपाल एयरलाइन्स व्यवस्थापनले मुख खोलेरै भन्यो, ‘सरकार आफंैले नेपाल एयरलाइन्सको आम्दानी खोस्ने कामको शुरुवात गर्‍यो ।’

नेपाल एयरलाइन्सले पाएको सुविधा

नेपालमा विसं. २००७ सालबाट हवाई सेवा प्रारम्भ भयो । त्यसको करीव एक दशक नेपालमा भारतीय कम्पनीले नै जहाज उडाउँथे । यात्रु भारतीय दूतावासका कर्मचारी र नेपालका राजा तथा मन्त्रीहरु मात्र हुन्थे ।

२०१५ सालमा नेपाल एयरलाइन्सको स्थापना भयो । इतिहासमा पहिलोपटक मुलुककै राष्ट्रिय ध्वजाबाहक जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्‍यो ।

नेपाल एयरलाइन्सको ग्राउण्ड ह्याण्डलिङको सेवा सोहीबेलादेखि प्रारम्भ भयो । २८ सीट क्षमताको डाकोटा जहाज त्यसबेला नेपाल एयरलाइन्सले भित्र्याएको थियो । नेपाल एयरलाइन्समा तीन दशकभन्दा लामो समय काम गरेका पूर्वअधिकारी रामहरी शर्मा भन्छन्, उक्त जहाजबाट यात्रुको व्यवस्थापन गर्ने गरी नेपालमा ग्राउण्ड ह्याण्डलिङ सेवा शुरु भएको हो ।

के हो ग्राउण्ड ह्याण्डलिङ सेवा ?

विमानस्थलमा यात्रुको चेकइन भइसकेपछि उनीहरुलाई जहाजसम्म लैजाने र जहाजमा आएका यात्रुलाई अध्यागमनसम्म ल्याउने काम यसमा पर्छ । सोही प्रयोजनका लागि बसको प्रयोग गरिन्छ । ब्यागेज तथा कार्गो सामानहरुलाई समेत त्यसैगरी जहाज सम्म लैजाने र जहाजबाट निकाल्नुपर्छ । यो सेवासमेत ग्राउण्ड ह्याण्डलिङमा पर्छ ।

जहाजबाट यात्रु झरिसकेपछि जहाजभित्र सरसफाइ हुन्छ । जहाजलाई पार्किङ वेसम्म लैजाने र सुरक्षित राख्न सहयोग गर्ने कामसमेत यसै सेवाभित्र पर्छ ।

नेपालमा एरोब्रीज छैन । सोहीकारण जहाजको ढोकासम्म लैजाने विशेष प्रकारको भर्‍याङ र गाडीसमेत राखेर यात्रुलाई झार्ने काम यसमा पर्छ ।

नेपाल एयरलाइन्ससँग २०१५ सालपछि लामो समयसम्म सानो क्षमताका जहाज मात्र थिए । कम्पनीले २०१८ सालमा आन्तरिक उडानका प्रयोग गर्न सिंगल इन्जिन जहाज किन्यो । २०२० सालमा १२ सीट क्षमताको चिनियाँ जहाज भित्र्यायो । २०२३ सालमा नेपाल एयरलाइन्सको जहाजको क्षमता बढ्यो । उसले फोकर फ्रेण्डसीप एफ–२७ जहाज किन्यो । यो ४४ सीट क्षमताको थियो ।

त्यसैगरी २०२७ सालमा एभ्रो जहाज भित्राइयो, यो पनि ४४ सीट क्षमताकै थियो । अहिले नेपाल एयरलाइन्सले उडाइरहेका ट्वीनअटर जहाज पनि त्यस समयमै किनिएका हुन् । नेपाल एयरलाइन्स पहिलो पटक २०२९ सालमा ठूलो क्षमताका जहाजको युगमा प्रवेश गर्‍यो । उक्त वर्ष बोइङ ७२७ जहाज भित्राइएको हो । यो जहाजले १२३ जना यात्रु बोक्न सक्थ्यो । नेपाल एयरलाइन्सको व्यवसायिक ग्राउण्ड ह्याण्डिङ सेवा यसै वर्षबाट प्रारम्भ भयो ।

त्यसअघि नेपाल आउने विदेशी कम्पनीका जहाज ठूला हुन्थे । उनीहरुको जहाजलाई मिल्ने भर्‍याङ र अन्य उपकरण नेपाल एयरलाइन्ससँग थिएनन् । तर, नेपाल एयरलाइन्सले बोइङ ७२७ जहाज भित्र्याएसँगै उक्त जहाजलाई आवश्यक पर्ने भुमिस्थ सेवाका उपकरणसमेत नेपाल एयरलाइन्सले खरीद गर्‍यो । त्यसबाट अन्य कम्पनीका जहाजलाई समेत व्यवस्थापन गर्न सकिन्थ्यो ।

त्यसपछि भने नेपाल एयरलाइन्सले बोइङ ५७५ र त्यसपछि एयरबस ३३० सम्मको जहाज खरीद गर्‍यो । हरेकपटक नयाँ जहाज आएसँगै त्यससँग मिल्ने उपकरण र सामग्री सँगसँगै भित्र्याइने गरेको छ । यसले सोही प्रकृतिका विदेशी जहाजको ग्राउण्ड ह्याण्डलिङमा नेपाल एयरलाइन्सलाई सहज हुने गरेको छ ।

एयर इण्डिया र थाइ एयरले कसरी पाए सेल्फ ग्राउन्ड ह्याण्डलिङ ?

नेपालमा नेपाल एयरलाइन्स जन्मनु अगाडि नै काठमाडौंमा भारतीय विमानहरु आवत–जावत गर्थे । त्यसक्रममा आफ्नो जहाज र यात्रुको व्यवस्थापन गर्न चाहिने उपकरण उनीहरु आफैं ले किनेका थिए ।

नेपाल एयरलाइन्ससँगै जन्मिएको थाई एयर पनि नेपाल एयरलाइन्सले ठूला जहाज किन्नु अगाडि नै नेपाल आउन थालेको हो । उसले पनि आफ्नो जहाज र यात्रुलाई चाहिने भुमिस्थ सेवाका लागि आवश्यक सामान र उपकरण आफैंले खरीद गर्‍‍यो ।

पूर्वअधिकारी शर्मा सम्झन्छन्, ‘त्यसबेला नियमनकारी छुट्टै निकाय थिएनन्, सरकारको अनुमतिमा जहाज आउँथे, उनीहरुले आफ्नो सुविधाका सामान आफैं जोड्थे । यसरी उनीहरुको ग्राउण्ड ह्याण्डलिङ शुरु भएको हो ।’

शर्माका अनुसार नेपालमा जसरी नेपाल एयरलाइन्सको सेवा शुरु भयो, त्यसैगरी थाई र एयर इण्डियाको सेवा शुरु भएको हो । त्यसकारण अहिले हिमालय एयरलाइन्सलाई दिए जसरी त्योबेला थाई र एयर इण्डियाले नपाएको उनको भनाइ छ ।

जुनबेला नेपालमा सेवा सुविधा नै थिएन, त्यसबेला प्रवेश गरेका कम्पनीले आफैं सेवा विकास गरेको र उनीहरुलाई नियोजितरुपमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिनुपर्ने अवस्था नरहेको प्राधिकरणका पूर्वकर्मचारी बताउँछन् ।

किन राष्ट्रिय ध्वजाबाहकले पाउँछ ग्राउण्ड ह्याण्डलिङ ?

नेपालजस्तो सानो अर्थतन्त्र भएका विश्वका अन्य धेरै मुलुकमा विमानस्थलहरुको भूमिस्थ सेवा राष्ट्रिय ध्वजाबाहकले पाएका छन् । तर, अतिविकसित मुलुकले भने यो सेवा प्रतिस्पर्धाबाट निजीलाई दिने गरेका छन् ।

नेपाल एयरलाइन्सका वर्तमान कार्यकारी अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा पर्यटन मन्त्री योगेश भट्टराईले २०७६ असोजमा नेपाल एयरलाइन्सको सुधारका लागि सुझाव दिन एक समिति गठन गरेका थिए । त्यो समितिले ग्राउण्ड ह्याण्डलिङ सेवा निगमलाई नै दिइनुपर्ने सुझाव दिँदै भनेको थियो, ‘निगमले ६१ वर्षमा नेपालको हवाई यातायातको क्षेत्रलाई शून्यबाट यहाँसम्म ल्याई पर्‍याउन गरेको नेतृत्वदायी भूमिका र राष्ट्रिय ध्वजाबाहकको भूमिका तथा अनुभवलाई कदर गर्दै नेपालका सबै अन्तराष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको अधिकारी दिँदा उपयुक्त हुन्छ ।’

यद्दपि समितिले सेवामा रहेका कमजोरी भने सुधार गर्नुपर्नेे सुझाव दिएको छ ।

विमानस्थल सुरक्षा संवेदनशील क्षेत्र हो । विमानस्थलसम्म पहुँच पाउने निकाय र व्यक्तिको विश्वसनीयताका कारण पनि सरकारले नै यसको जिम्मा लिनुपर्ने मान्यता विज्ञहरुको छ । खासगरी कमजोर हवाई सुरक्षा रहेको भन्दै अन्तराष्ट्रिय निकायहरुले प्रश्न उठाइरहेको समयमा विमानस्थल र जहाजसम्मको पहुँच निजी क्षेत्रले पाउने, विमानस्थलमा स्थान अभाव हुने र त्यसले निम्तने जोखिमका कारण सरकारले थप अन्तराष्ट्रिय दबावको सामना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी नेपाल एयरलाइन्सले यसअघि विज्ञप्तिमार्फत दिइसकेको छ । उसले भनेको छ, यूरोपेली युनियनको प्रतिवन्ध लम्बिन सक्छ ।’

नेपाल एयरलाइन्सको आम्दानीको मेरुदण्ड

भूमिस्थ सेवामा त्रिभुवन विमानस्थलमा मात्र नेपाल एयरलाइन्सले झण्डै एक हजार कर्मचारी खटाएको छ । यहाँ तीन सिफ्टमा कर्मचारी काम गर्छन् । किनकी विमानस्थलमा २४ सै घण्टा कर्मचारी तैनाथ राख्नुपर्छ ।

नेपाल एयरलाइन्ससहित दुई दर्जनभन्दा बढी विदेशी कम्पनीका जहाजबाट यात्रु र उनीहरुको ब्यागेजको व्यवस्थापन नेपाल एयरलाइन्सले गर्छ । नेपाल एयरलाइन्स स्रोतका अनुसार ग्राउण्ड ह्याण्डलिङबाट मात्र कम्पनीले वार्षिक औसतः ४ देखि साढे ४ अर्ब रुपैयाँसम्म आम्दानी हुन्छ ।

यो रकमको १५ प्रतिशत रोयल्टी नेपाल नागरिक उड्डयन प्राधिकरणले लैजान्छ । यो रोयल्टी उसले सेवा प्रदान गर्न अनुमति दिएवापत उठाएको हो ।

कर्मचारी खर्च, उपकरण तथा सामानको मर्मत, सम्भारसहितका खर्च कटाउँदा नेपाल एयरलाइन्सले कुल आम्दानीको २०–२५ प्रतिशत भने मुनाफा गर्छ । यो मुनाफाले संचालन, प्रशासन, इन्जिनियरिङ र अन्य विभागका कर्मचारीलाई समेत तलव खुवाउन पुग्छ । त्यसकारण पनि नेपाल एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङलाई आम्दानीको मेरुदण्ड मान्दै आएको छ ।

नेपाल एयरलाइन्सले ग्राउण्ड ह्याडिलिङ सेवाकै लागि विगतदेखि अहिलेसम्म उपकरण खरिदमा मात्र झण्डै साढे २ अर्ब लगानी गरिसकेको छ । एक उच्च अधिकारीका अनुसार स्तरीय बस, भर्‍याङ, ट्रली तथा अन्य उपकरणहरुमा ठूलो खर्च हुने गरेको छ । यसको नियमित मर्मतमा समेत त्यतिकै रकम खर्च हुन्छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>