2021-03-09Tuesday ओझेलमा प्रारम्भिक बाल शिक्षा – Online Khabar – Hamro Nepal

ओझेलमा प्रारम्भिक बाल शिक्षा – Online Khabar


२२ असोज, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२२ मनियारीका मोतिलाल राम आफ्ना बालबालिकाको शैक्षिक भविष्यलाई लिएर चिन्तित छन् ।

५ जना बालबच्चामध्ये २ जना प्रारम्भिक कक्षामा पढ्छन् । उनीहरुलाई मोतिलालको परिवारले फकाई फुल्याई विद्यालयको ढोकासम्म पुग्ने बानी पारेको थियो । तर कोरोना महामारीका कारण लामो समय विद्यालय बन्न भएपछि पढ्न जाने बानी छुटिसकेको छ । फेरि विद्यालय जाने बानी पार्ने कसरी ?

उनी भन्छन् ‘दिनभर स्कुलमा रमाउने छोराछोरी गाउँघरमै खेलेर समय विताइरहेका छन् ।’

मनियारीमा झण्डै एकसय मुसहर, चमार र डोम समुदायका परिवारको बसोबास छ । समुदायका सबै बालबालिकाको अवस्था उस्तै छ । दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने दलित र विपन्न समुदायमा पढेलेखेका मानिसको संख्या शून्य बराबर छ । अभिभावक शिक्षित नहुने हुँदा बालबालिकालाई घरमा पढाउन सक्ने अवस्था नरहेको दलित अगुवा बुनेल राम बताउँछन् ।

‘१, २ र ३ कक्षा भनेको पढाईको जग हो, जग बलियो नभए घर बलियो हुँदैन’ बुनेल भन्छन् ‘कोरोना महामारीले शिक्षामा दलित समुदायलाई अझै पछाडि धकेलेको छ ।’

रौतहटको गुजरा नगरपालिका–५ का नथुनी माझीको परिवारमा ६ जना बालबालिका छन्,जसमध्ये ४ छोराहरु सानो उमेरका अर्थात प्रारम्भिक बाल शिक्षामा अध्ययन गर्ने हुन् । ‘कमाउन नजाउँ, चुल्हो बल्दैन । स्कुल नचलेका कारण स–साना छोराहरु यताउता बराल्लिएर हैरान पार्छन्’ नथुनी भन्छन्, ‘स्कुलमा हुन्थे त ढुक्कले काम गर्न पाइन्थ्यो । सम्झाउँदा मान्दैनन् । बल्छी लिएर माछा मार्न कुदिहाल्छन् । खोला, पोखरीमा डुब्लान भन्ने चिन्ता हुन्छ ।’

पर्साको ठोरी गाउँपालिकामा कोरोना संक्रमित नभेटिएको अवस्थामा समुदाय स्तरमा सिकाई केन्द्र बनाएर तीन हप्ताजति बालबालिकालाई पढाइयो । शिक्षकले नै कोरोना फैलाउन लाग्यो भन्ने अरोप लाग्न थालेपछि सिकाई केन्द्र बन्द गर्नुपरेको सरस्वती माविका प्रधानाध्यापक केशव रेग्मी बताउँछन् । ‘असार ५ गतेदेखि ३ साता समुदाय स्तरमा सिकाई केन्द्र बनाएर पनि बालबालिकालाई पढायौं, शिक्षक विद्यार्थी उत्साहित थिए, बालबालिकाले पढ्न नविर्सुन भन्ने हाम्रो उद्देश्य थियो । ‘उनले भने ‘ तर कोरोना फैलाउन लागिएको भन्ने आरोप आएपछि बन्द गर्नुपर्‍यो ।’

निजीमा पनि प्रारम्भिक बालबालिकाको बेहाल

सामुदायिक विद्यालयको भन्दा अलि फरक समस्या निजी विद्यालयमा देखिन्छ । अधिकांश निजी विद्यालयले माथिल्लो कक्षालाई जुम एपको सहायतामा अनलाइनमार्फत अध्यापन गराइरहेका छन् भने प्रारम्भिक कक्षाका बालबालिकालाई ह्वाट्सएप/भाइबरबाट होमवर्क दिन्छन् ।

विद्यार्थीले गरेको होमवर्क अभिभावकले त्यही माध्यमबाट पठाउँछन् । शिक्षकले जाँच गर्छन् । तर सबै निजी विद्यालयले यसो गर्न सकेका छैनन् । जसले गरेका छन्, त्यहाँ पनि शत प्रतिशत सहभागी छैनन् ।

वीरगञ्ज महानगरपालिका–१४ पिप्राकी अदिती पिठाकोटे, गौतम स्कुलमा कक्षा ४ मा पढ्छिन् । जुममार्फत कक्षा सञ्चालन हुन्छ, ह्वाट्सएपमा होमवर्क आउँछ । तर विद्यालय नगएकाले खासै पढ्न मन लाग्दैन । मोबाइल चलाउन र टिभीमा कार्टुन हेर्न मनपर्छ ।

जुम कक्षाले मात्रै प्रभावकारी सिकाइ नभइरहेको उनको बुवा निरज पिठाकोटे बताउँछन् । ‘म काममा व्यस्त हुन्छु, काखे अर्को बच्चा भएकाले उसकी ममीले पनि खासै समय दिन सकिरहेकी छैनन्’ उनले भने, ‘विद्यालय नखुल्दा नानीको पढाइ बिग्रिरहेको छ । स्कुलमा दिनभरि पढ्ने र घरमा आएर पनि होमवर्क गर्ने छोरी आजभोलि पढ्न कमै मन गर्छिन् ।’

वीरगञ्जकै रोयल एकेडेमीले विद्यार्थीहरुलाई सातामा एक दिन जुम कक्षामा समेट्ने कोशिस गरेको छ ।

तर प्रारम्भिक कक्षामा अधिकांश विद्यार्थी अनलाइन कक्षामा सहभागी हुन नसकेको र सहभागी भए पनि बालबालिका एकाग्र नहुने विद्यालयको अनुभव छ ।

प्रिन्सिपल सवनम श्रेष्ठ तल्लो तहमा जुम कक्षा प्रभावकारी हुन नसकेको बताउँछिन् । ‘प्रत्यक्ष कक्षा जत्तिको अनलाइन कक्षा प्रभावकारी नहुने रहेछ’ उनले भनिन्, ‘प्रारम्भिक कक्षाका बालबालिकाले ह्वाट्सएपमा पठाएको होमवर्क गर्छन् । तर जुम कक्षामा सबै सहभागी हुन नसकेको अवस्था छ ।’

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ०७६ चैत ११ गतेदेखि देशभर लकडाउन आव्हान भयो । विद्यालय बन्द भए । १२० दिनपछि लकडाउन खुल्यो । तर वैशाखबाट खुल्नुपर्ने विद्यालय अझै खुल्न सकेका छैनन्, जसले गर्दा प्रारम्भिक शिक्षा लिने हजारौं बालबालिका पढाइबाट वञ्चित छन् ।

शिक्षा विकास निर्देशनलाय प्रदेश नं २ को तथ्याङ्क अनुसार प्रदेशमा ६६ हजार १५० बालबालिका प्रारम्भिक कक्षामा अध्ययनरत छन् । विद्यालयमा खोलिएका १ हजार १८० बाल विकास केन्द्रमा २५ हजार ६२२, समुदायमा आधारित ११८ वटा बाल विकास केन्द्रमा ९९० जना र कक्षा १ मा ४१ हजार ४०४, कक्षा २ मा ५० हजार ५०४, कक्षा ३ मा ४७ हजार ५३० जना अध्ययनरत छन् ।

निजी विद्यालयमा पनि प्रारम्भिक कक्षा अध्ययन गर्ने बालबालिका सरकारीकै हाराहारीमा छन् ।

प्रदेश २ मा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन अफ नेपाल (प्याबसन) मा मात्रै ८ सयजति विद्यालय आवद्ध छन् । निजी विद्यालयको अर्को संगठन एनप्याबसन र संगठनमा आवद्ध नभएका निजी विद्यालय पनि छन् ।

प्याब्सन प्रदेश नं २ का अध्यक्ष मुरारी साह महामारीमा प्रारम्भिक बाल कक्षामा अध्ययनरत बालबालिका बढी मर्कामा परेको बताउँछन् । ‘प्रविधिको प्रयोग गरेर कक्षा सञ्चालन गर्न भनियो, विद्यालय र अभिभावक दुवै त्यसमा पोख्त हुनुपर्ने हुन्छ । प्रदेश नं २ मा त्यो अवस्था कमजोर छ’ साह भन्छन्, ‘महामारीले प्रारम्भिक कक्षाका बालबालिका बढी मारमा परे ।’

पढ्ने उमेर भई विद्यालय बाहिर रहेका विद्यार्थीको संख्या पनि प्रदेश नं २ मा उल्लेख्य छ । बैशाख महिनामा विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर त्यस्ता विद्यार्थीलाई विद्यालयसम्म ल्याउने गरिएकोमा यसवर्ष त्यो पनि छुटेको छ ।

प्रारम्भिक कक्षामा पढाई बलियो हुनु भनेको उपल्लो कक्षाका लागि राम्रो जग बनाउनु हो । तर बालबालिका अटेरी र जिद्दी स्वाभावका हुन्छन् । आफूलाई रमाइलो लागेको कुरा गर्न रुचाउँछन् । अभिभावकले माया गर्ने हुँदा उनीहरुलाई टेर्दैनन् । घरमा नपाएको माहोल विद्यालयले देओस् भन्ने अपेक्षा अभिभावकको हुन्छ । महामारीको समयमा यसलाई खासै चासो दिइएको छैन ।

पूर्वजिल्ला शिक्षा अधिकारी डा. कमलेश्वर सिंह महामारीको समयमा बालबालिकाबारे नसोच्दा दूरगामी असर पर्ने बताउँछन् । ‘परिवार नै शिक्षाको मूल आधार हो, त्यसैबाट धेरै कुरा सिक्छन् । तर अभिभावकले त्यसमा ध्यान दिन सकेका छैनन् । स्कुल बन्द छ, बालबालिका घुमिरहेका छन्’ उनी भन्छन्, ‘बाँकी समय विद्यालय खुलेपनि पढाइ कमजोर हुन्छ, बरु एक शैक्षिक सत्र ब्लक गरेर बालबालिकालाई सक्षम बनाउनुपर्छ ।’

बालबालिकाको सिक्ने उमेर रोकिँदैन

मानव विकासको क्रममा बाल्य अवस्थालाई निकै महत्वपूर्ण मानिन्छ । प्रारम्भिक कक्षाका बालबालिकाको उमेर तीब्र शारीरिक वृद्धिको उमेर हो । मानव विकासको यो चरणमा बालबालिकाले आधारभूत कुराहरू सिक्ने, सिकेको कुरा व्यवहारमा उतार्ने गर्दछन् । कोरोना महामारीको नाममा विद्यालय बन्द गर्दा स–साना बालबालिकाको सिक्ने समय घर्किदै गएको कतिपयको तर्क छ ।

मन्टेश्वरी एशोसिएसन अफ नेपालकी अध्यक्ष सुष्मा लामा शिक्षा पाउने बालबालिकाको नैसर्गिक अधिकार भएकाले कुनै बाहनामा रोक्न नहुने बताउँछिन् । ‘प्रारम्भिक कक्षाका बालबालिकालाई अनलाइन कक्षा खासै प्रभावकारी हुँदैन’ उनले भन्छिन्, ‘एक वर्ष नपढेर के हुन्छ र ? भन्ने तर्क गरेको पनि सुनेको छु । उमेर बढ्दै जाँदा सिक्ने क्षमता घट्दै जान्छ ।’

प्रारम्भिक बाल कक्षामा विद्यार्थी धेरै नहुने भएको स्वास्थ्य सुरक्षाका उपाय अपनाएर बालबालिकालाई कोरोनासँगै जिउन सिकाउनुपर्ने तर्क उनको छ । कोरोनादेखि डराएर बालबालिकालाई लामो समय घरमा थुनेर राख्दा बाल विकास मनोविज्ञानमा नराम्रो असर पर्ने उनले बताएन् ।

‘अनलाइन कक्षाका नाममा मोबाइल, टिभीमा लामो समय बस्दा अर्का समस्या आउनसक्छ’ अध्यक्ष लामाले भनिन्, ‘स्थानीय सरकारले अवस्था मुल्याङ्कन गरेर प्रारम्भिक तहको स्कुल खोल्दा हुन्छ । किनकी स–साना कक्षामा विद्यार्थीको संख्या कम हुन्छ । एउटा बेन्चमा एउटा विद्यार्थी राखेर सिकाउन सकिन्छ ।’

प्रारम्भिक पढाइ शिक्षा कार्यक्रमको विस्तार आवश्यक

प्रारम्भिक बाल शिक्षा क्षेत्रको विकासका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालनमा छ । सन् २०१४–१५ देखि सञ्चालनमा आएको कार्यक्रमको मुख्य लक्ष्य कक्षा १–३ का बालबालिकाको पठन सीप अभिवृद्धि गर्नु हो । ‘रमाइलो पढाइ दिगो सिकाइ, कक्षा १, २ र ३ का बालबालिकालाई’ यसको मूल मन्त्र हो ।

त्यसका लागि कार्यक्रममार्फत विगतमा कक्षा १ देखि ३ सम्मका अभ्यास पुस्तक, शिक्षक निर्देशिका, शैक्षिक सामग्री तथा सन्दर्भ सामग्रीको विकास, छपाइ तथा वितरण, शिक्षक तालिम, अनुशिक्षण, कार्यक्रम सम्बद्ध कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता विकास, विद्यालयमा आवद्ध विभिन्न समुदाय परिचालन, कक्षा कोठामा आधारित प्रारम्भिक कक्षा पठनसीप परीक्षण, पढाइ मेला जस्ता कार्यक्रम गरिएका छन् । ११ प्रकारका २५ लाखभन्दा बढी शैक्षणिक सामग्री र १७७ शीर्षकका ७७ लाखभन्दा बढी सन्दर्भ सामग्री विकास गरी कार्यक्रम लागू भएका जिल्लामा वितरण गरिएको छ ।

कार्यक्रम लागू भएका जिल्लामा र लागू नभएका जिल्लाको तुलनामा एक शब्द पनि पढ्न नसक्ने बालबालिकाको प्रतिशतमा कमी आएको दाबी कार्यक्रमको छ ।

नेपाली पहिलो भाषाको रुपमा बोल्ने विद्यार्थीहरुमा १५ प्रतिशतले वृद्धि भएको छ । पठन प्रवाह र बोधमा वृद्धि भएको छ । शुद्धसँग पढेर अर्थ बोध गर्न सक्ने विद्यार्थीको प्रतिशतमा वृद्धि भएको छ । नेपालीलाई दोस्रो भाषाको रुपमा बोल्ने बालबालिकाले शुद्धसँग पढेर अर्थ राम्रोसँग बोध गर्न नसकेको अवस्था छ ।

शुरुमा ६ जिल्लाबाट शुरु गरिएको कार्यक्रम अहिले देशका ३८ जिल्लामा सञ्चालित छ । कार्यक्रम सञ्चालन भएका ठाउँमा शिक्षकको व्यवहारमा परिवर्तन आएको छ । शैक्षिणिक सामग्री प्रयोग गर्ने शिक्षकको संख्यामा वृद्धि भएको जिल्ला शिक्षा समन्वय अधिकारीहरु बताउँछन् ।

अहिले युएसआईडिको आर्थिक सहायतामा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम–२ सञ्चालनमा छ । जुन २०२० बाट शुरु गरिएको कार्यक्रमको समय मे २०२२ सम्म रहन्छ । कार्यक्रम कार्यान्वयन भएका ३८ जिल्लामा नेपाल सरकारलाई यसले प्राविधिक सहयोग उपलब्ध गराउँछ ।

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम–२ को ४ वटा मुख्य उद्देश्यमध्ये कोभिड–१९ महामारीबाट सिर्जित अवस्थामा सिकाईलाई निरन्तरता दिन सहयोग गर्ने पनि एक हो । लामो समय विद्यालय बन्द हुने अवस्थामा प्रारम्भिक कक्षाका विद्यार्थीहरुको पढाइलाई निरन्तरता दिन डिजिटल सिकाइ सामग्री निर्माण भइरहेको छ । त्यसका लागि ‘रमाइलो पढाइ’ मोबाइल एप्स निर्माण भई सञ्चालनमा आएको छ ।

विद्यालय पूर्नसञ्चालन पश्चात प्रारम्भिक कक्षा शिक्षणसम्बन्धी आवश्यक तयारीका कामहरु पनि भइरहेको छ । अब यो कार्यक्रमलाई देशका सबै जिल्लामा विस्तार गर्दै लैजानुपर्ने आवश्यकता देखिएको कतिपय विज्ञको भनाइ छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्मा सरकारले खर्च व्यहोर्न सक्ने भएपछि आवश्यकता अनुसार थप जिल्लामा विस्तार गर्दै लैजाने बताउँछन् ।

वैकल्पिक शिक्षाले भेटेन प्रारम्भिक बालबालिका

जिल्लामा समन्वय गर्नका लागि संघ सरकारले नै हरेक जिल्लामा शिक्षा विकास समन्वय इकाई स्थापना गरेको छ । शिक्षा विकास समन्वय अधिकारी सहितका कर्मचारी त्यहाँ छन् । हरेक पालिकामा शिक्षा शाखा छन् । यसरी प्रदेश नं २ मा ८ जना शिक्षा समन्वय अधिकारी र १३६ पालिकामा शिक्षा शाखा प्रमुख छन् । सबै पालिकामा धेरथोर कोभिड–१९ संक्रमण पनि देखियो ।

बालबालिका कोरोना संक्रमणको चपेटामा नपरुन भनेर विद्यालय बन्द गरिएका छन् । सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका–२०७७ जारी गरेको छ । निर्देशिकामा विद्यार्थीलाई परिवेश अनुकुल शिक्षा प्रदान गर्न भनिएको छ, तर प्रदेश २ मा निर्देशिका अनुसारको काम हुन सकेको छैन ।

पर्साका शिक्षा समन्वय अधिकारी फत्तबहादुर श्रेष्ठ शिक्षाका अधिकार सबैजसो स्थानीय तहमा गईसकेकोले निर्देशिका कार्यान्वयन भए नभएको बारे जानकारी नभएको बताउँछन् । वैकल्पिक शिक्षाका लागि विभागले निकालेको निर्देशिकामा केन्द्रदेखि स्थानीय तह, विद्यालय, शिक्षक, शिक्षक संगठन, अभिभावक, सञ्चारमाध्यमसम्मको जिम्मेवारी तोकिएको छ । विद्यार्थीको पहिचान र वर्गीकरण गरी उपयुक्त माध्यमबाट शिक्षा प्रदान गर्नुपर्ने उल्लेख छ ।

निर्देशिका अनुसार काम गर्दा प्रारम्भिक कक्षाका मात्र नभएर कुनै पनि तहका बालबालिका पढाइबाट वञ्चित हुन नपर्ने शिक्षा समन्वय अधिकारी श्रेष्ठको तर्क छ ।

‘कक्षा १ देखि ३ का बालबालिकाका लागि पनि अभ्यास पुस्तिकाहरु डिजाइन भएको छ । प्रिन्ट गरेर अभिभावकहरुलाई दिने काम स्थानीय तहले गर्न सक्छन्’ उनले भने, ‘शिक्षकहरु घरघर पुग्न नसकेपनि उपयुक्त माध्यमबाट सिकाउन सक्छन् । अभिभावकले पनि सहजीकरण गरिदिनुपर्छ ।’

धनुषाका शिक्षा विकास समन्वय अधिकारी बरखु रजक जिल्लामा ‘रमाइलो पढाइ’ मोबाइल एप्सबाट फाइदा लिन आग्रह गरिएको बताउँछन् । शिक्षा विभागले प्रारम्भिक बाल कक्षाका बालबालिकालाई लक्षित गरेर अभिभावकले सिकाउन सक्ने ‘रमाइलो पढाइ’ मोबाइल एप्स बनाएको उनले बताए ।

‘कोरोना महामारीमा बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने प्राथमिक विषय बन्यो । विपत्तिको बेलमा बाल मनोविज्ञानमा नकारात्मक असर पर्न नदिनु नै ठूलो कुरा भयो’ उनले अघि भने ।

प्रदेश नं २ मा सरकारले पाँच वर्षे प्रारम्भिक बाल विकास रणनीति बनाउने तयारी गरेको छ । त्यसका लागि मुख्य मन्त्री संयोजक रहेको निर्देशक समिति गठन गरिसकेको छ ।

प्रदेश नं २ सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणि फुयाँल कोरोनामा ज्यान कसरी जोगाउने भन्नेमै केन्द्रित हुनुपरेको बताउँछन् । ‘प्रदेशमा सक्रमित बढ्ने र मृत्यु हुने क्रम रोकिएको छैन’ उनले भने, ‘महामारीको समयमा पहिलो प्राथमिकतामा त ज्यान कसरी जोगाउने भन्ने नै रहेछ, त्यसपछि बाँकी कुराहरु सोच्नुपर्ने रहेछ ।’

प्रारम्भिक बालविकासका लागि युनिसेफले शैक्षिक सामाग्रीहरु वितरण गरेको भएपनि पर्याप्त नभएको उनी स्वीकार गर्छन् । शिक्षामा काम गर्नका लागि अर्को मुख्य समस्या नीतिगत समस्या छ । संघीय शिक्षा ऐन नआएकाले प्रदेश शिक्षा ऐन बन्न सकेको छैन, जसले गर्दा शिक्षामा कुनै काम गर्न खोज्दा नीतिगत समस्या आउने गरको छ ।

‘शिक्षाको पूर्ण जिम्मेवारी स्थानीय सरकारलाई छ । बजेट पनि सिधै उतै गइरहेको छ’ निर्देशक फुयाँल भन्छन्, ‘प्रदेश बीचमा छ । कार्यक्रम गर्न खोज्दा अधिकारको कुरा आउँछ । संघीय शिक्षा ऐनमार्फत अधिकारको बाँडफाट हुन नसक्दा काम गर्न समस्या छ ।’

बालबालिकाले कसरी सिक्छन् ?

बाल विकास विज्ञ तथा शिक्षा विद्हरुका अनुसार सबैभन्दा पहिले बालबालिकाले कसरी सिक्छन्, त्यो जान्नुपर्छ ।

उनीहरुले विद्यालयमा मात्रै सिक्ने होइन, सिक्ने अवसर सृजना गर्नका लागि के गर्‍यौं, त्यो महत्वपूर्ण कुुरा हो । जसले जहाँ जसरी पनि सिकाउन सक्छन् । घरमा हुँदा घरमै, बारीमा हुँदा बारीमै सिक्ने अवसर दिनुपर्छ । त्यसका लागि वातावरण निर्माण गर्न अभिभावक तथा सरोकारवाला चुकेका छन् ।

‘विगार्न पाउने अवसर दिनुपर्छ । प्रकृतिसँग धेरै अवसर हुन्छ । बाहिर जति रमाउँछन् । त्यति कक्षा कोठामा त्यति रमाउन सकिन्न’ बाल विकास विज्ञ डा. मिनाक्षी दाहाल भन्छिन्, ‘अनलाइन, टेलिभिजन वा कक्षा कोठाभन्दा आफैं खेलेर, देखेर सिक्छन् । उनीहरु जेमा रमाउँछन्, त्यहीबाट बढी सिक्छन् ।’

महामारीका कारण विद्यालय बन्द भएकाले बालबालिका स्वतन्त्र भएर प्रकृतिमा रमाउन त पाएका छन् । तर प्रदेश नं २ मा फरक खालको समस्या छ । विपन्न समुदायको बाहुल्यता बढी भएकाले प्रारम्भिक उमेरमा पौष्टिक खाना पाएका छैनन् । सर्वागिंण विकासका लागि यो सबै पक्ष मिल्नुपर्छ ।

तर सामान्य अवस्थामा नै बालबालिका केन्द्रित हुन बाल विकास विज्ञ डा. दाहालको विश्लेषण छ । भन्छिन्, ‘शिक्षा मन्त्रालयले कुरा उठाउन सकेको छैन, निजी विद्यालयले बोलेन, अभिभावक त पहिले देखि नै अनविज्ञ छ । राज्यको कुन निकाय गुहार गर्ने ठाउँ छैन । बालबालिकाको मुद्दा त्यतिकै ओझेलमा छ । अझैपनि समय वितेको छैन, अभिभावकलाई सचेत बनाऔं, अभिभावक जहाँ, जुन अवस्थामा छन् । त्यहि बालबालिकालाई सिकाउन सकिन्छ । त्यसका लागि अभिभावक सचेतना बढाउनुपर्छ ।’

बालबालिकामा पर्ने मनोवैज्ञानिक असर र ध्यान दिनुपर्ने कुरा

हामी कहाँ सामान्य अवस्थामा पनि बालबालिकाको अवस्था कष्टपूर्ण देखिन्छ । अभिभावकमा बालबालिका हुर्काउने चेतना कमजोर छ । गाउँघरमा बालबालिका हुर्काउने तरिका जाति, धर्म, समुदाय अनुसार फरक छ । सहरीया जीवनमा फरक तरिकाले हुर्काइन्छ । गाउँघरमा सहरको तुलनामा अलि बढी स्वतन्त्र ढंगले बालबालिका प्रकृतिसँग रमाउन पाउँछन् भने सहरमा बालबालिका एउटा कोठा वा घरभित्रै घेरिन्छन् । परम्परागत शैलीमा बालबालिकालाई चर्को आवाजमा गाली गर्ने, चुप लगाउने, पिट्ने गरिन्छ ।

तर कोभिडले झन् समस्या सिर्जना गरिदिएको छ । नियमिततामा क्रम भंगता भएकाले बालबालिकामा मनोवैज्ञानिक असर पर्न सक्नेतर्फ पनि ध्यान दिनुपर्छ । बालबालिकामा पर्ने मनोसामाजिक असरले दूरगामी नकरात्मक असर पार्न सक्छ ।

बालबालिकाको जीवनको महत्वपूर्ण अवस्था र सफल जीवनका लागि जीवनोपयोगी सीप, व्यवहार संज्ञात्मक ज्ञान, भावनात्मक सम्बन्ध र मनोसामाजिक सीप सिक्नबाट वञ्चित छन् । स्पर्श गरेर, भेटेर कुरा गरेर, स्कूल गएर, पार्क घुमेर, घरबाहिर साथीसँग खेलेर, बजारमा किनमेल गर्न जान नपाएको अवस्था छ । एकै ठाउँमा लामो समय बस्नुपर्दा उनीहरूको मानसिक स्वास्थ्यमा असर पर्न सक्ने मनोविदहरु बताउँछन् । आमाबाबा कार्यालय जान थालिसक्दा विद्यालय खुलेको छैन । आफूहरु घर बाहिर गएर बालबालिकालाई घरभित्रै बस्नु, बाहिर नजानु, कसैको सम्पर्कमा नजानु भनेर निर्देशन दिँदा त्यसले नकारात्मक असर पार्ने उनीहरुको तर्क छ ।

द स्कुल अफ साइकोलोजी नेपालको अध्यक्ष मनोविद डा. नरेन्द्र ठगुन्ना कोभिड–१९ को लामो घर बसाइले बालबालिकामा विभिन्न असर देखिने बताउँछन् । ‘बालबालिकामा चिडचिडाहटपन, नैराश्यता, रुने, डराउने, काप्ने जस्ता समस्या देखिन सक्छ’ उनले भने, ‘कतिपय बालबालिकाले टाउको दुखिरहेको छ, यता दुखेको छ उता दुखेको छ भन्ने, अभिभावकभन्दा टाढा बस्न नचाहने, सँगै जान्छु भनेर अस्वाभाविक रुपमा जिद्दी गर्ने हुन्छन् ।’

आफैंलाई हानी पुग्ने गतिविधि गर्ने, स्क्रिनमा बढी बस्ने, खाना नखाइदिने गर्न सक्ने उनी बताउँछन् ।

सुनगाभा वाटिका नेपालको निर्देशक तथा मनोविमर्शकर्ता सुनिता खड्का पनि बालबालिकामा मनोसामाजिक समस्या आउन सक्ने र आज नदेखिएपनि भविष्यमा समस्या देखिन सक्ने बताउँछिन् । ‘मनोसामाजिक समस्याको लक्षण व्यक्ति पिच्छे फरक हुनसक्छ, विभिन्न अध्ययनले पनि रिसर्चले कोभिड– १९ का कारण लामो समय घर बस्दा बालबालिकामा समस्या देखिने देखाएको छ’ उनले भनिन्, ‘दिक्क मान्ने, चिढचिढाहट हुने, टोलाउने, सुस्त हुने, भिडभाडबाट टाढा बस्न खोज्ने, आफ्नै पाराले अघि बढ्ने हुनसक्छ । ’

यस्ता समस्या आएपछि उपचार खोज्नुभन्दा आउन नदिनै अभिभावक सचेत हुनुपर्ने सुझाव उनीहरुको छ । अभिभावक, शिक्षकले संसारभरिका बालबालिका कोरोनाका कारण समस्यामा रहेको कुरा बालबालिकालाई बुझाउनुपर्छ ।

अभिभावकले बालबालिकालाई गुणस्तरीय समय दिन उनीहरुको आग्रह छ । ‘घरमा बालबालिकाले भनेको कुरामा हामी खासै ध्यान दिँदैनौं, तर आमाबुवा दुवैले एक घण्टा वा आधा घण्टा बस्दा जेजे भन्न मन लागेको छ, जेजे गर्न मन लागेको छ, गर भनेर छोडिदिनुपर्छ’ मनोविद डा. ठगुन्ना भन्छन्, ‘आफूपनि बालबालिका जस्तै बनेर साथ दिनुपर्छ ।’

उनकाअनुसार कार्यतालिका बनाएर दिनचर्याको व्यवस्थापन, शारीरिक व्यायाम, किचनको काममा अल्झाउने, क्रियटिभ आर्ट वा कथा, कहानी सुन्ने सुनाउने, रम्ने, रमाउने वातावरण बनाउनुपर्छ ।

बालबालिकाले स–साना राम्रा काम गर्दा पनि प्रशंसा गर्ने गर्नुपर्छ । घरभित्रै खेल्न सक्ने खेलहरु खेलाउनुपर्छ । घरपरिवारका सबै सदस्य सँगै नाच्ने गाउने गर्दा पनि केही हदसम्म ध्यान कोभिडभन्दा बाहिर जान्छ । बालबालिकालाई त्यसले लाभ दिन्छ । स्वास प्रश्वासको अभ्यास, विश्वास गर्नेहरुले धार्मिक क्रियाकलापमा बालबालिकालाई अल्झाउँदा पनि फाइदै हुने उनको तर्क छ ।

मनोविमर्शकर्ता खड्का नजिकैका ठाउँ घुमाउन लैजाने, घर भित्रै पनि स–साना कुराहरु गराउने, गमलामा रोपेको फूल, बोट विरुवासँग साक्षात्कार गराउने, घरको छतमै भएपनि खेल्ने गर्दा बालबालिकाको सर्वाङ्गिण विकासमा योगदान पुग्ने बताउँछिन् । ‘प्रारम्भिक कक्षाका बालबालिका स्क्रिन टाइम कम गराउने, रंगीन चित्र भएका किताबहरुबारे कुराकानी गर्ने गर्नुपर्छ’ उनी भन्छिन्, ‘आफ्नो बाल्यकालको अवस्थाबारे कुरा गर्दा पनि बालबालिकाहरु रमाउँछन् ।

महामारीमा बाल विकासको अवसर

महामारीको समय बाल विकासको लागि अवसर भएको देख्नेहरु पनि छन् । कोरोनाकै कुरा गर्दा लामो समय बालबालिका र अभिभावकले सँगै समय विताउन पाएका छन् । बालबालिकाले अभिभावकबाट धेरै कुरा सिक्न सक्ने बाल विकास विज्ञहरुको तर्क छ । प्रारम्भिक बाल विकासको कुरा गर्दा औपचारिक सिकाइलाई मात्रै जोड दिनु गलत भएको उनीहरुको तर्क छ ।

बाल विकास विज्ञ डा. मिनाक्षी दहाल अभिभावकसँगको राम्रो सम्बन्धबाट बालबालिकाले धेरै सिक्ने बताउँछिन् । उनी भन्छिन्, ‘उमेर र आवश्यकता अनुसार भन्दा पनि बालबालिकालाई धेरै पैसा खर्च गरेर सानै उमेरमा विभिन्न नामका स्कुलमा पठाउने फेसन नै भएको छ । बच्चालाई बोझको रुपमा हेर्नु गलत छ । औपचारिक कक्षामा भर्ना भएर मात्रै शिक्षा आर्जन गर्ने हैन । कोरोना महामारीमा बालबालिका लामो समयसम्म अभिभावकसँग बसे, एक अर्कालाई चिन्ने मौका पाए । बालबालिकालाई खाँदा खाँदै, खेल्दा खेल्दै, संगीत सुन्दै सिक्दै सिकाउन सकिन्छ ।’

सरकारी निकायबाट के भयो, के गर्न सकिन्थ्यो ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्र प्रारम्भिक बाल विकास शाखाको निर्देशक रमा अर्यालका अनुसार बाल कक्षामा मात्रै ९ लाख ५० हजार बालबालिका अध्ययनरत छन् । प्रतिविद्यार्थी महिनामा ५ सय रुपैयाँ (बसाई, शैक्षिक सामाग्री व्यवस्थापनका लागि) , बाल विकास शिक्षकको तलब ६ हजार र तराई र पहाडमा १५ रुपैयाँ र हिमालमा २० रुपैयाँ प्रतिदिन, प्रतिविद्यार्थी खाजा खर्च पठाउने गरिएको छ ।

नेपालको संविधान २०७२ ले अनुसूची ८ मा स्थानीय तहको अधिकार सूची छ । आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको जिम्मामा राखिएको छ । स्थानीयले तहले आवश्यक थप व्यवस्था मिलाउन सक्छन् । कोरोना महामारीको समयमा बालबालिकाले घरमै सिक्न सक्ने खालका सामग्री तयार पारेर वेबसाइटमा राखिएको निर्देशक अर्याल बताउँछिन् ।

कोरोनाको कालमा विद्यार्थीको पढाइ नरोकियोस् भनेर शिक्षा मन्त्रालयले सिकाइ सहजीकरण निर्देशिका २०७७, आकस्मिक कार्ययोजना २०७७ जारी गरेको छ । त्यसअनुसार काम गर्ने हो भने कक्षा १ देखि १२ सम्मको अध्ययन अध्यापन सञ्चालन गर्न सकिने दाबी मन्त्रालयको छ ।

‘वीरगञ्ज वा चितवनमा कुन स्कुल चलेन त्यो मन्त्रालयको कार्य क्षेत्रमा पर्दैन । मन्त्रालयको काम निर्देशिका बनाउने हो । कोरोना महामारीको समयमा पाठ्यवस्तुको समायोजन ढाँचा बनायौं, सिकाइ सहजीकरण निर्देशिका २०७७, आकस्मिक कार्ययोजना बनाएका छौं । त्यसमा तीन तहका सरकारले के–के गर्ने काम बाँडफाड गरिएको छ । प्रारम्भिक कक्षाका लागि पनि त्यसैअनुसार काम गर्ने हो’ मन्त्रालयका प्रवक्ता शर्मा भन्छन्, ‘त्यसको कार्यान्वयन स्कुलमा हुन्छ, विद्यालयले कार्ययोजना बनाउनुपर्छ । स्कुल सञ्चालन व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको छ । उसले सघाउनुपर्छ ।’

नेपाली भाषा पढाएर पुग्छ कि मातृ भाषामा पढाउनुपर्ने हो, विद्यार्थीहरुको लिष्ट तयार पारेर, कुन प्रविधिमा कति विद्यार्थीको कस्तो पहुँच छ विश्लेषण गरेर काम गर्न स्पष्ट व्यवस्था गरिएको उनको दाबी छ ।

शिक्षाविदहरु यस्तो अवस्थामा सरकारभन्दा शिक्षक जिम्मेवार हुनुपर्ने तर त्यसो हुन नसकेको बताउँछन् । शिक्षकहरु सिर्जनात्मक हुन नसकेको उनीहरुको तर्क छ ।

शिक्षाविद विद्यानाथ कोइराला कोरोनाको समयमा प्रारम्भिक कक्षाका बालबालिकालाई विद्यालयमै बोलाएर पढाउन नसकिएपनि विकल्प प्रयोग गर्न सकिने तर त्यसो नभएको बताउँछन् ।

पहिलो, अभिभावकमार्फत जान सकिन्थ्यो ।

दोस्रो, शिक्षक टोलटोलमा शिक्षक जाने, पालैपालो गरेर केटाकेटीलाई बोलाउने अनि दुरी कायम गरेर राख्ने, खेल्न दिने गर्नुपर्दथ्यो । गर्ने र नगर्ने ? भन्ने प्रश्न नै होइन । क्रान्तिकारी सरकारको क्रान्तिकारी मन्त्रालय छ, तर भत्काउन पर्दा क्रान्तिकारी, काम गर्नु पर्दा पुरातनपन्थी देखिए ।

‘शिक्षक पनि अपराधी देखियौं । किनकी हलो जोत्ने हलीले नै हो, बिउ गोड्नेले बिउ गोड्छ, रोप्ने मान्छेले बीउ रोप्छन् । शिक्षकले चासो दिन सकेन’ शिक्षाविद कोइराला थप्छन्, ‘शिक्षकले आफ्नै बुद्धिले यस्तो गर्नुपर्ने हो, तर उनीहरुको यस्तो बुद्धि देखिएको छैन । यसका लागि अभिभावकलाई, शिक्षक पुन:अभिमुखीकरण गर्ने र शिक्षकलाई परिचालन गर्ने काम स्थानीय पालिकाले गरिदिनुपर्छ । शिक्षा मन्त्रालयले गरेर साध्य हुने कुरा हैन ।’

‘विद्यार्थीका निम्ति सरकार को हो ? प्रधानमन्त्री वा गाउँपालिकाका अध्यक्ष ? शिक्षक नै बालबालिकाको सरकार हो, त्यो सरकारलाई जिम्मेवार र क्रियाशील बनाउन सकियो भने शिक्षकले सरकारले यसो गरिदिएन भन्ने गरेको सुनिन्छ,’ मैले भन्ने गरेको छु । फाली कसरी हाल्ने, कसरी जोत्ने ? हलीलाई कसैले तालिम दिएको छैन, तर पनि हलो त जोतेकै छ ।’





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>