2021-03-07Sunday ‘म राजनीतिमा जाने–नजाने परिस्थितिले तय गर्छ’ – Online Khabar – Hamro Nepal

‘म राजनीतिमा जाने–नजाने परिस्थितिले तय गर्छ’ – Online Khabar


१९ असोज, काठमाडौं । विद्युत प्राधिकरणबाट २६ वर्षपछि सेवानिवृत्त भएका कुलमान घिसिङ अहिले अनिच्छित र पट्यारिलो फुर्सदमा छन् । देशका लागि काम गर्ने हुटहुटी मनमा बोकेर घरमा निस्क्रिय बस्नुपर्दा पक्कै पनि उनको व्यग्रता बढीरहेको होला ।

६ वर्षअगाडि चिलिमे हाइड्रोपावरबाट काजमा मन्त्रालय तानिँदाका दिनहरु सम्झिरहेका छन् कुलमान । त्यो बेला पनि यस्तै खालको मनोदशामा उनी थिए । फरक के मात्र भने, त्यो बेला उनीसँग ‘जागिर’ थियो, अहिले छैन । त्यसबेला जागिर भए पनि दुई वर्षसम्म उनी जिम्मेवारीविहीन थिए । उनी दैनिक मन्त्रालय जान्थे, तर बस्नका लागि कुर्सी–टेबलसम्म थिएन ।

‘हाजिर गरेपछि साथीहरुको कोठामा गएर बस्थेँ, कहिले चौरतिर टहलिन्थेँ,’ उनी सम्झिन्छन्, ‘बेलुका हाजिर गरेर भारी मनले घर फर्किन्थेँ ।’

तथापि त्योबेलाको फुर्सदलाई उनले केही न केही सदुपयोग अवश्य गरे । उनको कार्यालय समय मूलतः अध्ययनमा बित्थ्यो । कार्यालय जाँदा सधैं झोलामा ल्यापटप बोकेर जान्थे । त्यसमा ऊर्जासम्वन्धी अनेकन सामग्रीहरु उनले संग्रह गरेका थिए । त्यसैको अध्ययन गरेर दिन बिताउँथे ।

कुलमानले सुनाए, ‘मेरो मोबाइल नम्बर देशभरका जनतासँग छ । म भ्याएसम्म अपरिचित नम्बरबाट आएको कल पनि रिसिभ गर्छु । अहिले पनि फलानो एरियामा बत्ति गयो, के भएको हो भनेर धेरैले फोन गर्नुहुन्छ । कसैले म्यासेज पनि पठाउनु हुन्छ । जनताको गुनासो म प्राधिकरणका सम्वन्धित निकायमा फरवार्ड गरिदिन्छु

‘त्योबेला मैले विश्वका थुप्रै देशको ऊर्जा क्षेत्रसँग सम्वन्धित रिपोर्टहरु अध्ययन गरेँ । मैले ऊर्जा क्षेत्रबारे सबैभन्दा बढी जानकारी हासिल गरेको त्यही अवधिमा हो,’ उनले भने

हुन त त्यसबेला उनलाई जागिरबाटै राजीनामा दिने झ्वाँक पनि नचलेको होइन । तैपनि धैर्यपूर्वक सही समयको प्रतिक्षामा बसे । नभन्दै त्यो समय आयो । प्रचण्डले नेतृत्व गरेको सरकारका ऊर्जामन्त्री जनार्दन शर्माले उनलाई सीधै प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरे । ११ हौं तहका कुलमान फड्को मार्दै कार्यकारी निर्देशक बन्दा प्राधिकरणभित्र असन्तुष्टि थियो, तर सबैलाई उनले कामबाट जवाफ दिए ।

प्राधिकरणमा आएर कुलमानले के गरे भन्ने त दोहोर्याइरहनु नपर्ला । त्यही योगदानका निम्ति देशभरका जनताले उनलाई आफ्नो मनमुटुमा राखेका छन् । उनले जनतालाई विजुलीको उज्यालो दिए, जनताले उनलाई अभूतपूर्व सम्मान दिए, दिइरहेका छन् । जनताको यही माया र सम्मानले त उनलाई अझै देशका लागि योगदान दिन प्रेरणा मिलेको छ ।

अब लोडसेडिङ हुँदैन

कुलमान प्राधिकरणबाट निस्कनासाथ जनतामा लोडसेडिङ फर्किने हाउगुजी फैलिएको छ । पहिलेको तुलनामा लाइन काटिने क्रम बढेको गुनासोहरु सुन्न थालिएका छन् । यो ‘बाघ कराउनु र बाख्रा हराउनु’ जस्तो संयोग मात्रै हो कि साँच्चै उनको बहिर्गमनपछि लोडसेडिङको खतरा मडारिएको हो ? हाम्रो पहिलो जिज्ञासा यही थियो ।

कुलमानले भने्, ‘यो एउटा संयोग हो । अब नेपालमा लोडसेडिङ गर्नुपर्ने परिस्थिति छैन र आउँदैन । तर, विद्युत आपूर्तिमा विभिन्न कारणले उत्पन्न हुने अवरोधलाई सम्वोधन गर्ने सवालमा अलिकति सुस्तता आएको हुन सक्छ ।’

पछिल्लो समय लगातार वर्षात्ले गर्दा विद्युत पूर्वाधारहरुमा क्षति पुगेर लाइन काटिने क्रम बढेको हुनसक्ने उनी बताउँछन् । यस्ता घटनामा चाँडोभन्दा चाँडो रेस्पोन्स नगरेमा जनगुनासो स्वभाविक हुने उनको भनाइ छ ।

रमाइलो कुरा के भने, अहिले पनि धेरै मानिसहरु आफ्नो एरियामा बत्ति काटियो भने कुलमानलाई फोन दाब्दा रहेछन् । कुलमानमा पदमा नरहे पनि उनको प्रभाव प्राधिकरणमा अझै छ भन्ने विश्वासले हुन सक्छ । अथवा कतिलाई त विजुली भनेकै कुलमान भन्ने छाप पनि परिसक्यो ।

कुलमानले सुनाए, ‘मेरो मोबाइल नम्बर देशभरका जनतासँग छ । म भ्याएसम्म अपरिचित नम्बरबाट आएको कल पनि रिसिभ गर्छु । अहिले पनि फलानो एरियामा बत्ति गयो, के भएको हो भनेर धेरैले फोन गर्नुहुन्छ । कसैले म्यासेज पनि पठाउनु हुन्छ । जनताको गुनासो म प्राधिकरणका सम्वन्धित निकायमा फरवार्ड गरिदिन्छु । म प्राधिकरणमा छैन भनेर पन्छिन मन लाग्दैन ।’

आफू प्राधिकरणमा रहँदा कुनै ठाउँमा विद्यूत अवरोध भएको सूचना पाउनासाथ उनी तत्काल सम्वन्धित निकायहरुलाई घच्घच्याइहाल्थे । राति अबेरसम्म खटेर भए पनि समस्या समाधान गर्ने बानी उनले कर्मचारीमा बसालेका थिए ।

‘प्राधिकरणका कर्मचारीले उपभोक्तालाई आज राति भयो, भोली बिहान आएर बनाउँछु भन्ने खालको जवाफ दिएर टार्नु हुँदैन । राति १२–१ जति बजे पनि काम सकेर मात्रै सुत्न जाने गाइडलाइन थियो । कर्मचारीले यसलाई दवावको रुपमा भन्दा पनि दायित्का रुपमा लिएका थिए । त्यसैले जनगुनासो बढ्न पाएन । अहिले त्यस्तो ‘क्विक रेस्पोन्स’ को कमी भएको हो कि ?’

कहिलेकाहीँ कुलमान बस्ने एरियामा पनि बत्ति जाँदो हो । त्यो बेलाचाहिँ के गर्छन् उनी ?

‘पाँच–सात मिनेटसम्म पर्खिन्छु,’ उनले भने, ‘अलि लामै समय आएन भनेचाहिँ फोन गरेर बुझ्छु । तर, सबस्टेसनबाट नजिकै भएकाले मेरो एरियातिर बत्ति काटिने समस्या अन्यत्रभन्दा कम नै छ ।’

प्राधिकरणका कर्मचारीले उनलाई भूतपूर्व भइसकेको भनेर उपेक्षा गर्दैनन् । उनलाई पहिलेजस्तै सम्मानपूर्वक रेस्पोन्स गर्छन् । यस्तो समस्या भएको रहेछ भनेर जवाफ दिन्छन् । कुलमानले पनि कर्मचारीहरुलाई पहिल्यैजस्तो स्नेह दर्शाउँछन् । उनी फेरि प्राधिकरणमा फर्किउन् भन्ने चाहना तल्लो तहका धेरै कर्मचारीमा छ । नहोस् पनि किन, लोडसेडिङकालमा जनतासामु मुख लुकाएर हिँड्नुपर्ने अवस्थाका कर्मचारीलाई कुलमानले शिर ठाडो बनाएर हिँड्ने अवस्थामा जो पुर्याए ।

परिवारभित्र कुलमान

२६ वर्षसम्म प्राधिकरणमा कुलमानले व्यस्त जागिरे जीवन बिताए । घर–परिवार भनेनन् । पारिवारिक दायित्व केही पनि आफूले लिएनन् । शनिबार पनि उनी प्रायः कार्यालयकै काममा हुन्थे । आफन्त र साथीभाइका जमघटमा उनी प्राय छुट्थे ।

कुलमानका बुवाको दुई महिना अगाडि मृत्यु भयो । कार्यालयको व्यस्तताले गर्दा उनी अन्तिम क्षणमा आफ्नो बुवाको साथमा हुन पाएनन् । अस्पतालमा पुग्दा बुवाको प्राणान्त भइसकेको थियो ।

कुलमानका ६ जना दाजुभाइ र तीन दिदीबहिनी छन् । ठूलो परिवार भएकाले नातागोता धेरैतिर फैलिएका छन् । ६ वटा जिल्लामा आफ्ना निकटतम आफन्तहरु रहेको उनी बताउँछन् । ती आफन्तकहाँ बिहेबारी लगायत विभिन्न पारिवारिक जमघट हुँदा प्रायः उनी अनुपस्थित रहन्थे ।

‘मलाई समय मिलाउन गाह्रो हुन्थ्यो, त्यसैले निम्तो मान्न परिवारलाई पठाउँथे,’ उनी भन्छन्, ‘परिवार र आफन्त सबैले मेरो जिम्मेवारी र दायित्व राम्ररी बुझ्नुभएकाले कहिल्यै पनि गुनासो गर्नुभएन ।’

त्यसो त सिंगै खानदानलाई कुलमानमा गर्व थियो किनकी उनले कुलकै इज्जत बढाइदिएका थिए । देशभर अनवरत उज्यालो बाँड्ने दायित्वमा रहेका कुलमान आफ्नो छोराको पास्नीमा नआएको भनेर कसैले चित्त दुखाउने कुरा पनि आउँथेन ।

अहिले उनको परिवारमा श्रीमती र दुई छोराहरु छन् । श्रीमतीले घर–व्यवहार धानेकी छन् । उनी थान्काको व्यवसाय पनि गर्छिन् । दुई छोराहरु इन्जिनियरिङ पढ्दैछन् । जेठो छोरा सिभिल इन्जिनियरिङ र कान्छो छोरा इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थी हुन् ।

‘छोराहरुले आफ्नो बिँडो थामेर सरकारी क्षेत्रमै नोकरी गरुन् भन्ने चाहनुहुन्छ ?’ कुलमानलाई धेरैले यो प्रश्न गर्छन् ।

कुलमानले आफ्नो इच्छा–चाहना छोराहरुमा थोपर्न नचाहेको बताए ।

‘हाम्रो समयमा सरकारी जागिर निर्विकल्प जस्तो थियो । तर, अहिले निजी क्षेत्रमा पनि धेरै अवसर छन्,’ उनी भन्छन्, ‘छोराहरुले जुन क्षेत्र रोजे पनि त्यसमा मेरो असहमति हुँदैन ।’

कुलमान यतिचाहिँ चाहन्छन् कि आफूजस्तै दुवै छोराहरु पनि स्वदेशमै बसेर काम गरुन् । अहिलेसम्म दुवै छोरामा विदेशिने मोह पलाएको पनि छैन ।

‘कान्छो छोराचाहिँ फोटोग्राफीको सोखिन छ । काइदाका फोटोहरु खिच्छ । कहिलेकाहीँ अफ्रिकाको जंगलमा गएर फोटो खिच्छु भन्छ,’ उनले हाँस्दै सुनाए ।

उनी आफ्ना छोराहरुलाई हम्मेसी गाली गर्दैनन् । एकपटक मात्रै ठूलो छोरालाई गाली गरेको उनलाई सम्झना छ । एसएलसी परीक्षा आउन लागेका बेला छोरो दुई दिनसम्म सम्पर्कविहीन भएका थिए । घर आएपछि उनले छोरालाई हकारे ।

‘त्योबेला छोरासँग मोबाइल पनि थिएन । हामीलाई नभनी साथीको घरमा गएर बसेको रहेछ । हामीले निकै खोज्यौं । तेस्रो दिनमा आफैं टुपुल्कियो । अनि साफसँग झपारेँ,’ उनले सुनाए ।

प्राधिकरणबाट निस्किएपछि कुलमान परिवारसँगै धेरै समय बिताइरहेका छन् । साथीभाइ–आफन्तहरुसँग टुटेको सम्पर्क जोडिरहेका छन् । छोराहरुको पढाइ के–कस्तो भइरहेको छ भनेर चासो लिन्छन् । श्रीमतीको मुखबाट घर–व्यहारका कुराहरु सुन्छन् । आफन्त–साथीभाइसँग फोनमा लामो समय गफिन्छन् ।

कोरोनाको महामारीले गर्दा बाहिरफेर भने त्यति हिँडेका छैनन् । जरुरी अवस्थामा सामाजिक दुरी कायम राख्दै सीमित मानिसहरु भेट्छन् । परिस्थिति अलि सहज भएपछि पुख्र्यौली गाउँतिर गएर केही समय बिताउने उनको योजना छ ।

कहिले आगो, कहिले पानी

अन्तरवार्ता र सार्वजनिक प्रस्तुतिमा प्राय ‘कुल’ देखिने कुलमानको भित्री स्वाभावचाहिँ कस्तो छ ? परिस्थितिअनुसार आफू कठोर र नरम भएको उनी बताउँछन् ।

कुलमान भन्छन्, ‘खासमा म भावुक प्रकृतिकै मान्छे हुँ । तर, परिस्थितिगत कारणले वा जिम्मेवारीको दबावले गर्दा कहिलेकाहीँ कठोर बन्नुपर्छ, कहिले आक्रोशित पनि भइन्छ । तर, मेरो भित्री मन कमलो छ । चाँडै पग्लिन्छु,’ उनले भने ।

एकपटक उनी पत्रकार सम्मेलनमा बोल्दै गर्दा भावुक बनेर आँशु झारेका थिए । अर्को एउटा घटनामा उनले ठेकेदारलाई आक्रोशित मुद्रामा थर्काएको भिडियो भाइरल बनेको थियो । यी दुई सन्दर्भले कुलमानको स्वभावलाई चित्रण गर्छन् ।

प्राधिकरणमा हुँदा उनी कर्मचारीहरुसँग बेलाबखत जंगिने पनि गर्थे । समयमा काम भएन भने उनको पारो तात्थ्यो । तर, आफू त्यसरी जंगिँदा कर्मचारीले कहिल्यै नकारात्मकरुमा नलिएको उनी बताउँछन् ।

‘कर्मचारीको विश्वास आर्जन गरिसकेपछि तपाईंका हरेक कुरालाई उनीहरुले सम्मान गर्छन्,’ कुलमान भन्छन्, ‘राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्डित गर्ने परिपाटी विकास गरे कर्मचारीको मन जित्न सकिन्छ ।’






यो पनि पढ्नुहोस
आँसु झार्दै कुलमानले भने-२/४ घन्टा लोडसेडिङ गरेको भए करोडौं कमाउँथे होला (भिडियोसहित)

प्राधिकरणले लिड बल्ब खरिद गर्न लागेका बेला केही मिडियाले आलोचना गरेपछि त्यसको जवाफ दिने क्रममा कुलमान पत्रकार सम्मेलनमा रोएका थिए । आफूलाई यस्ता खालका नचाहिँदा आरोपले भित्रैदेखि पिरोल्ने उनी बताउँछन् ।

‘कहिलेकाहीँ आफूले हतारमा लिएका निर्णयले कसैलाई चोट पुगेको पछि आभास भयो भने पनि मेरो मन भित्रैबाट हुँडलिन्छ,’ उनले भने । सम्भवत उनको आशय कर्मचारी सरुवालाई लिएर हुने कमि–कमजोरीतर्फ ईंगित गरिरहेका थिए ।

कुलमान सकेसम्म विवादबाट टाढा रहन खोज्छन् । सानो कुरामा चुक भए त्यसले आफूलाई ठूलो असर गर्ने उनलाई थाहा छ । यसले अनवरतरुपमा उनलाई एकप्रकारको दवाव पनि महसुस हुन्छ ।

‘हिँड्दा, बोल्दा, खाँदा, बस्दा हरेक समय सचेत रहनुपर्छ,’ उनी भन्छन्, ‘सानो–सानो कुरा पनि मानिसहरुले नियालिरहेका हुन्छन् ।’

त्यसो त उनको जीवनशैली पहिल्यैदेखि साधारण थियो । उनले चुरोट त कहिल्यै खाएनन् । रक्सीचाहिँ सांस्कृतिक र सामाजिक कारणले पनि बेलाबखत खान्थे । उनको सम्प्रदायका विभिन्न रिवाजमा सगुनको रुपमा रक्सी खानैपर्ने हुन्छ । त्यसबाहेक कहिलेकाहीँ पार्टीमा पनि अरुलाई साथ दिन पिइदिनुपर्छ । त्यो पनि उनले अहिले निकै कम गरेका छन् ।

फुर्सदको समय सामाजिक भेटघाटमा रमाउने गर्छन् कुलमान । धेरैजसो गाउँतिर जान रुचाउँछन् । गीत–संगीतमा पनि रुचि रहेको उनले बताए ।

‘मलाई नेपालीपन भएको र सिरियस टाइपका गीतहरु सुन्न मन पर्छ,’ उनले भने ।

फ्यान फलोइङ र सम्मान

हुन त ‘फ्यान फलोइङ’ भन्ने शब्द प्रायः सेलिब्रेटीहरुलाई उनीहरुका पारखीले पछ्याउने अर्थमा प्रयोग हुन्छ । कुलमान सेलिब्रिटी नभएर एक राष्ट्रसेवक कर्मचारी हुन् । र, पनि उनको ‘फ्यान फलोइङ’ नेपालका कुनै पनि सेलिब्रिटीको भन्दा उच्च छ ।

नेपालमा लोडसेडिङको अन्त्य भएसँगै कुलमान एकाएक हिरो भए । प्राधिकरणको कार्यकारी निर्देशक हुनुअगाडिसम्म उनलाई कसैले चिन्दैनथे । तर, अहिले पछाडिबाट हेर्दा पनि चिन्छन् । उनी जहाँ जाँदा पनि भिड जम्मा हुन्छ । फोटो–सेल्फी खिच्नेहरु लाइन लागिहाल्छन् ।

‘पहिले–पहिले बेलाबखत सपरिवार रेस्टुरेन्ट गइन्थ्यो । श्रीमतीसँग सपिङ गइन्थ्यो । तर, अहिले त्यो क्रम लगभग टुटेको छ । मलाई देख्नासाथ मान्छेहरु आएर फोटो/सेल्फी खिच्न थालिहाल्नुहुन्छ । नाई भन्न पनि भएन ।’

‘बाटोमा हिँड्दा प्रायः मास्क र ‘क्याप टोपी’ लगाउँछु, र पनि कसरी–कसरी ठम्याइहाल्नुहुन्छ,’ उनले भने, ‘ऊ कुलमान भन्दै आउनुहुन्छ र फोटो खिच्न थालिहाल्नुहुन्छ । त्यसैले परिवारसँग बाहिर हिँड्ने क्रम ९० प्रतिशत घटेको छ । एकप्रकारले भन्नुपर्दा मेरो सामाजिक जीवनशैली पूरै परिवर्तन भएको छ ।’

विदेश जाँदा उनी जहाजभित्रै घेरिन्छन् । विदेशका एयरपोर्टमा ओर्लिनासाथ एकैछिनमा ‘कुलमान, कुलमान’ भन्दै भिड जम्मा भइहाल्छ । कोही सेल्फी खिच्न थाल्छन् भने गफ चुट्न सुरु गर्छन् ।

उनीसँग बोल्न आउने मान्छेहरुले प्रायः कस्तोखालको कुरा गर्छन् होला ?

‘धेरैजसोले त प्रशंसा नै गर्नुहुन्छ । लोडसेडिङ हटाएको प्रसंग हाइहाल्छ । अलि बौद्धिक मान्छेहरुसँग भेट भयो भने केही राम्रा सल्लाह–सुझाव पनि दिनुहुन्छ । खासगरि विदेशमा बस्नेहरुले । अहिले चाहिँ धेरैको चासो मेरो पुनःनियुक्ति हुन्छ कि हुँदैन भन्नेमा छ ।’

(हामीले यो अन्तरवार्ता लिइरहँदा पनि तीनवटा समूहले उनलाई पहिल्याएर फोटो खिच्न आइहाले । उनीहरुमध्ये एकजनाले कान नजिक मुख लगेर फुस्फुसाए– चान्स के छ दाइ ? पोलिटिक्स धेरै छ है ? कुलमानले जवाफ दिए, ‘म नै दोहोरिनुपर्छ भन्ने के छ र, सरकारले जो ल्याए पनि राम्रै मान्छे ल्याउँला नि ।’)

जनताबाट कुलमानले जुन सम्मान र प्रेम पाएका छन्, विगतमा सायदैसरकारी ओहोदामा बसेका कुनै व्यक्तिले पाएका थिए । यसले उनलाई पक्कै पनि ऊर्जा थपेको छ । यद्यपि, कहिलेकाहीँ असहज परिस्थिति पनि आइदिन्छ ।

उनले एउटा घटना सुनाए ।

‘एकपटक सचिवज्यूको टोलीमा विदेश जान भनेर एयरपोर्ट पुगेको थिएँ । जहाजको प्रतिक्षा गरेर बसिरहेका थियौं । हामी नजिकै १५–१६ जना युवाहरुको एउटा समूह श्रीलंका जानका लागि आएको रहेछ । उनीहरु हामीतिर हेरेर खासखुस गरिरहेका थिए ।

एकछिनपछि त्यस समूहबाट एकजना म नजिक आएर सोधे, ‘तपाईं कुलमान घिसिङ हो ?’

मैले ढाँट्ने कुरा आएन । हो भनेर इशारा मात्रै के गरेको थिएँ, ‘हो रैछ, हो रैछ’ भन्दै उनले आफ्ना साथीहरु बोलाए । सबैजना हुर्रिएर आए । सबैले खादा बोकेका रहेछन् । धमाधम मलाई लगाइदिन थाले । उता सचिवज्यू रमाइलो मानेर हेरिरहनुभएको थियो । मलाईचाहिँ अलि अप्ठेरो महसुस भयो । मैले सचिवज्यूलाई पनि लगाइदिनू भनेर युवाहरुलाई ईशारा गरेँ । अनि एक–दुईजनाले लगाइदिए ।’

स्वतस्फुर्तरुपमा जनताले दिने यस्तो स्नेहबाहेक विभिन्न संघ–संस्थाका नामबाट गरिने औपचारिक सम्मानको छुट्टै पाटो छ । सम्मानपत्र र कदरपत्रका चाङले आफ्नो घरका दुईवटा कोठा भरिएको उनले सुनाए ।

यस्तो सम्मान कार्यक्रममा पनि कहिलेकाहीँ उनका लागि असहज अवस्था सिर्जना भइदिन्छ । प्रायः मन्त्री, सचिवहरु सँगै भएका बेला । मान्छेहरुले मन्त्री, सचिवलाई वास्तै नगरी उनको वरिपरि झुम्मिएपछि असहज लाग्ने नै भयो । अनि सम्मान कार्यक्रमहरुमा मन्त्रीको अगाडि जब आफ्नो मात्रै बखान हुन्छ, त्यस्तोबेला पनि उनलाई धक लाग्छ ।

कुलमानले अर्को एउटा घटना सुनाए ।

‘२०७३ सालको फागुनतिर मलाई सुन्दरीजलका स्थानीय जनप्रतिनिधिले सम्मानका लागि भनेर निम्तो गर्नुभयो । मलाई त्यस्तो निम्तो त हप्तैपिच्छे आइरहेका हुन्छन् । कहिलेकाहीँ आफू जान लागेको ठाउँमा बाटो पर्यो भने पस्छु । नत्र सकेसम्म टार्ने गर्छु । उहाँहरुलाई मैले व्यस्तताको कारण देखाएर सम्मान थाप्न नभ्याउने बताएँ ।

त्यो कार्यक्रममा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मालाई पनि बोलाइएको रहेछ । उहाँ राजनीतिक व्यक्ति भएकाले जानैपर्यो । उहाँ पुग्नासाथ मेरो खोजी गर्नुभएछ । म नआउने सुनेपछि फोन गर्नुभयो । तपाईं तत्काल आउनुपर्यो भन्नुभयो ।

मन्त्रीले नै भनेपछि अटेर गर्ने कुरा आएन । तुरुन्तै गएँ । जाँदा त बाटोदेखि नै बाजागाजा बजाएर धुनधान रहेछ । नागरिक अभिनन्दन गरियो । सम्मान गर्ने बेलामा पनि मेरो मात्रै प्रशंसा धेरै । आफ्नो प्रशंसा सुन्दा खुशी त कसलाई लाग्दैन र, तर देवत्वकरणकै शैलीमा जाँदा चाहिँ अलिक असहज पनि हुन्छ । फेरि पनि उहाँहरुले स्वच्छ मनले गर्नुभएको कामलाई अन्यथा लिने कुरा भएन ।’

उनलाई सम्मानका लागि विभिन्न देशबाट बोलावट आउँथ्यो । तर, महत्वपूर्ण कार्यक्रमहरुमा बाहेक उनी विदेश गएनन् । ८–१० दिनसम्म विदेशमा बस्दा सकस हुने गरेको उनी बताउँछन् ।

‘आफू बाहिर जाँदा त उता के–के बितिसक्यो झैं लाग्ने । त्यसैले सकेसम्म टार्थेँ । बोलाएको जति ठाउँमा गएको भए वर्षमा ७–८ महिनाजति विदेशतिरै हुन्थेँ होला ।’

‘वान्स मोर’ले भावुक

हिजो कुलमान चिलिमेबाट फर्कने समय रसुवाका जनता निकै दु:खी भएका थिए । उनलाई निरन्तरता दिनुपर्ने माग गर्दै स्थानीयवासीले एक महिनासम्म रसुवा बन्दसमेत गरे । यसपालि प्राधिकरणबाट निस्कँदा त देशभरकै जनताले उनलाई ‘वान्स मोर’ भनिरहेका छन् ।

जनताको समर्थनलाई आफूले शक्तिका रुपमा लिँदै आएको बताउने कुलमान सरकारले गर्ने नियुक्तीहरुका विषयमा सडकबाट दिइने दबावलाई भने उचित मान्दैनन् । उनी स्वयमले विज्ञप्ति निकालेर आफ्नो पक्षमा भइरहेको सडक आन्दोलन रोक्न आह्वान गरेका थिए ।

‘मेरो कार्यकालमा प्राधिकरणले हासिल गरेका ठोस उपलब्धीहरुका कारण जनताले मेरो पुनःनियुक्ति चाहनुभएको छ । तर, मलाई सरकारले निकालेको नभएर मेरो पदावधि नै सकिएको हो । फेरि नियुक्ती गर्ने–नगर्ने सरकारको विषय हो । यस्ता विषयमा सडकबाट दवाव दिने कार्यले गलत नजिर बस्न सक्छ,’ उनले भने ।

साथै सडक आन्दोलनका क्रममा मानिसहरुलाई चोटपटक लाग्ने, घाइते हुनसक्ने भएकाले आफूले त्यस्तो अप्रिय परिस्थिति नचाहेको कुलमानको भनाइ छ । तर, जनताले आफ्नो पुननियुक्तीका लागि स्वतस्फुर्तरुपमा उठाइरहेको आवाजले भने उनलाई भावुक पनि बनाएको छ ।

‘यसमा खुशी नलाग्ने त कुरै आउँदैन । जसरी कुनै गायक–गायिकाले स्टेजमा गीत गाएपछि वान्स मोरको आवाज आउँदा उनीहरुलाई हौसला मिल्छ, त्यस्तै जनताले मलाई वान्स मोर भन्दा मेरो हौसला बढेको छ,’ उनले भने ।

सामाजिक सञ्जालमा आउने प्रतिक्रियाहरुले पनि उनलाई ऊर्जा मिल्छ ।

‘म पहिल्यैदेखि सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र टिप्पणीहरु हेर्छु । कुनै त एकदमै भावुक बनाउनेखालका हुन्छन् । मनै छुने शब्दहरु हुन्छन् । त्यस्तो पढ्दा मैले अझै देशका लागि केही गर्नुपर्छ भन्ने अठोट अझ बलियो बन्छ,’ उनी भन्छन् ।

सामाजिक सञ्जालको कुरा गर्दा कुलमान घिसिङका नाममा फेसबुक/ट्विटरतिर धेरै अकाउन्टहरु खुलेका छन् । ती अकाउन्टबाट उनले नै लेखेको जस्तोगरी स्टाटसहरु हालिन्छन् र धेरै मानिसहरु भ्रममा पनि पर्ने गरेका छन् । यस विषयमा प्रश्न गर्दा कुलमानले आफूसँग एउटा फेसबुक अकाउन्ट मात्र भएको प्रष्ट पारे ।

‘म ट्विटर चलाउँदिनँ । एउटा फेसबुक अकाउन्ट छ । त्योबाहेक अरु कुनै पनि सक्कली होइनन् । म आफ्नो फेसबुकमा पनि यदाकदा मात्रै स्टाटस लेख्ने गर्छु । कुनै विषयमा भ्रम फैलिएर स्पष्ट पार्नुपर्यो भने बरु विज्ञप्ति नै निकाल्छु,’ उनले प्रष्ट्याए ।

अत्यधिक जनसमर्थनले उनलाई ‘ब्याकफायर’ पनि भइरहेको छ कि ?

‘ब्याकफायर नभनौं, तर कहिलेकाहीँ त्यसले प्रतिकूलता सिर्जना हुन पनि सक्छ । मैले नै ‘प्रोभोक’ गरिरहेको छु कि भन्ने कतिपयलाई पर्छ । कहिलेकाहीँ माथिल्लो निकायबाट सोधपुछका कुराहरु पनि हुन्छन् । जबकि यस्ता कुरामा मेरो कत्ति पनि हात हुँदैन । म कतै पनि संलग्न छैन ।’

कुलमानको बहिर्गमनका बेला सामाजिक सञ्जाल निकै तातेको थियो । उनलाई पुनर्नियुक्ति दिनुपर्ने माग सडकमा पनि जोडतोडले उठ्यो । तर, सरकार नटेरेरै अघि बढ्यो । आफूले क्याबिनेटमा प्रस्ताव लगे पनि प्रधानमन्त्रीले रोकेको भनेर ऊर्जामन्त्री पन्छिए भने ऊर्जा मन्त्रालयबाट औपचारिक प्रस्ताव नै नआएको भनेर प्रधानमन्त्री तर्किए । तर, कुलमानलाई नदोहोर्याउनेमा उनीहरु दुवैको मतो मिलेको विश्वास धेरैले गरेका छन् ।

कुलमान स्वयम्लाई के लाग्छ ? उनलाई रोक्न प्रधानमन्त्रीको प्रमुख भूमिका होला कि ऊर्जा मन्त्रीको ?

उनले भने, ‘मलाई उहाँहरु मप्रति नकारात्मक हुनुहुन्छ भन्ने लाग्दैन । उहाँहरुसँग समन्वयमा नै काम गरेको हुँ । भित्री रहस्यहरु त मलाई थाहा हुने कुरा भएन ।’

प्रधानमन्त्रीसँग भेट्न चाहेर पनि नपाएको भन्नेचाहिँ उनले स्वीकारे । ‘मैले रिcटायर्ड हुने बेलामा आफ्नो कार्यकालका उपलब्धी, विद्यमान चुनौति र भावी कार्ययोजनाबारे उहाँलाई ब्रिफिङ गर्न खोजेको थिएँ । तर, कोरोना लगायतका कारणले भेटका लागि परिस्थिति अनुकूल भएन होला । पहिले त भेटघाट भइ नै रहेको हो ।’

ऊर्जा क्षेत्र नै प्राथमिकतामा

केही मानिसहरुको तर्क यो पनि छ कि कुलमानले चार वर्षमा प्राधिकरणको कायापलट गरे । अब उनलाई त्यसैमा दोहोर्याउनुभन्दा अर्को कुनै जीर्ण संस्थाको नेतृत्व दिएर त्यसको पनि उद्धार गर्नुपर्छ । यदि सरकारले कुलमानलाई प्राधिकरणबाहेक अरु जिम्मेवारी अफर गर्यो भने उनले स्वीकार्छन् त ?

उनले स्वभावविपरीत लामो जवाफ दिए :

‘व्यक्तिगत रुचि र स्वभावका हिसाबले म कार्यकारी भूमिकामा बढी फिट हुन्छु जस्तो लाग्छ । राम्रो नतिजा पनि त्यसमा आउँछ । म आफैं फिल्डमा खटिएर काम गर्ने मान्छे हुँ । नीतिगत खालको, अनुगमन र नियमन मात्र गर्ने भूमिका मलाई त्यति सुहाउँदैन । फटाफट निर्णय गर्ने र तुरुन्त त्यसलाई कार्यान्वयनमा लैजाने मेरो शैली हो । उमेरका हिसाबले पनि म अझै केही समय मानसिक र शारीरिक रुपमा सक्षम छु । १६ घन्टा खटिएर काम गर्न सक्छु । अबको १० वर्षपछि मलाई कार्यकारी पद दिए पनि सम्भवत स्वीकार्न नसकुँला ।

जहाँसम्म जिम्मेवारीको सवाल छ, म ‘राइट म्यान इन राइट प्लेस’ को मान्यतामा विश्वास राख्छु । जसको जुन क्षेत्रमा विज्ञता र अनुभव छ, उसलाई त्यही जिम्मेवारी दिँदा उत्कृष्ट नतिजा आउँछ । विज्ञता र अनुभवमा व्यवस्थापनको पार्ट थपिनासाथ सोचेको उपलब्धि हासिल भइहाल्छ ।

मेरो अध्ययन र अहिलेसम्मको अनुभव ऊर्जा क्षेत्रमा छ । त्यसैले म अन्यत्र भन्दा यही क्षेत्रमा बढी राम्रो पर्फमेन्स दिन सक्छु । अरु क्षेत्रमा गर्नै नसक्ने भन्ने होइन, तर अलिकति समय लाग्छ । बुझ्नै समय लाग्छ । पद ओगट्नका लागि वा जागिर खानका लागि मात्रै कुनै जिम्मेवारीमा गइहाल्न हतारिन्न ।

राइट म्यान इन राइट प्लेस नहुँदा नै नेपालमा धेरै निकायहरु सफल हुन नसकेका हुन् । मन्त्री बनाउँदा पनि उसको विज्ञता हेरिँदैन । मन्त्रालय राम्ररी बुझेको मन्त्री भयो भने पो आउटपुट पनि सोचेजस्तो आउँछ । अर्को कुरा उमेर पनि हो । ६० वर्षको मान्छेलाई कार्यकारी भूमिका दिनु उपयुक्त हुँदैन । त्यो उमेरमा मानिसहरु शारीरिक र मानिसिक दुवैरुपमा गल्न थालेका हुन्छन् । उनीहरु बोल्ड डिसिजन गर्न डराउँछन् । भोलि अख्तियारले तान्ला कि भन्ने भय पालेर केही पनि गर्न सक्दैनन् ।’

‘मलाई प्राधिकरणमा रहँदा सबैभन्दा प्रेसर भनेको भोलि कुनै कारणले छिसिक्क लोडसेडिङ गर्नुपर्ने परिस्थिति आउँछ कि भन्ने थियो । त्यही प्रेसरले गर्दा म प्राधिकरणको हरेक घन्टाको डाटासँग अपडेट रहन्थे । कुन प्लान्टको के अवस्था छ भन्ने पूरा जानकारी राख्थेँ । शाखाहरुसँग नियमित सम्पर्कमा रहन्थे । लोडसेडिङ हुन नदिन के-के पो गरिएन । त्यो बयान गर्ने हो भने त एउटा किताब नै लेख्न पुग्छ ।’

ऊर्जा क्षेत्रको त कुलमानले संकटमोचन गरे । तर, देशको समग्र अवस्था अहिले पनि डामाडोल नै छ । जनता अहिले पनि दुखःकष्टमै छन् । उनी नेपालको भविष्यप्रति कति आशावादी होलान् ?

कुलमान भन्छन्, ‘म त धेरै आशावादी छु । तर, काम गर्नुपर्ने धेरै छ । हामीसँग अवसरहरु प्रशस्त छन्, तर तिनको सदुपयोग गर्न सकिएको छैन । मलाई लाग्छ, नेतृत्वले सानोतिनो कुराभन्दा गेम चेन्जर प्रोजेक्टहरुमा फोकस गर्नुपर्छ । धेरै प्रोजेक्टहरुको कार्यान्वयन गति अत्यन्त सुस्त छ । हामीसँग पर्यटन र कृषिमा अथाह सम्भावना भएर पनि यी क्षेत्रहरु फष्टाउन सकेका छैनन् ।

अहिले ऊर्जा क्षेत्रमा हेर्नुभयो भने करिब ८–१० खर्बको लगानी भएको छ । यो लगानीको नतिजा आउने क्रममा छन् । ती सबै आएपछि ऊर्जा क्षेत्र अर्कै स्तरमा पुग्छ । ऊर्जा क्षेत्रको विकासले अरु सबै क्षेत्रलाई सहयोग गर्छ, किनकि विकासको सबैभन्दा आधारभूत तत्व नै ऊर्जा हो । तसर्थ अबका दिनमा देशभित्र उत्पादन हुने ऊर्जा धेरैभन्दा धेरै खपत गर्ने गरी हामीले योजनाहरु ल्याउनुपर्ने छ । देशका युवाहरु विदेशिन रोक्ने गरी रोजगारी सिर्जना गर्नुपर्ने छ । यसका लागि राजनीतिक नेतृत्वमा बलियो अठोट र दुरदर्शीता चाहिन्छ । ऊर्जा क्षेत्रमा भएको क्रान्तिले उत्पन्न गरेको सकारात्मक तरंग (पोजिटिभ भाइब्स) लाई मर्न दिनु भएन ।’

हरेक व्यक्तिको जीवनमा आरोह र अवरोहहरु आउँछन् । सफलता वा असफलताको उच्च बिन्दु हुन्छ । कुलमानका हकमा प्राधिकरणको ४ बर्षे जागिर नै उनको जीवनको उच्च विन्दू हो कि त्यो आउनै बाँकी छ ?

‘अहँ, त्यसलाई उच्च बिन्दू मान्दिनँ,’ उनी भन्छन्, ‘मैले अझै धेरै काम गर्न बाँकी छ । नेपालबाट लोडसेडिङको अन्त्य गर्ने सफलता हामीलाई मिल्यो । यो एउटा सानो सुधार हो । अरु सबै क्षेत्रमा यस्तै सुधारको खाँचो छ । लोडसेडिङको अन्त्यलाई प्रस्थानविन्दू बनाएर देशलाई प्रगतिपथमा लैजानु छ ।’

राजनीतिमा जाने सम्भावना

कुलमान अहिले ‘पर्ख र हेर’ कै अवस्थामा छन् । मुखले व्यक्त नगरे पनि सरकारले अझै पनि आफ्नो विषयमा केही निर्णय लिनसक्ने आँकलन उनले गरेको देखिन्छ । त्यसले पनि आफ्नो भावि योजना तय गर्न उनलाई अलमल भइरहेको छ । तर, उनी लामो समय यत्तिकै बस्न सक्ने मान्छे होइनन् ।

एमसीसीका विषयमा मैले सम्वन्धित ठाउँमा, बोल्नैपर्ने ठाउँमा बोलेको छु । यो परियोजनाको प्राविधिक पक्षको मात्रै मैले विश्लेषण गर्ने हो । यसका राजनीतिक र कानूनी पाटोमा त राजनीतिक नेतृत्वले नै प्रष्ट्याउनुपर्ने हुन्छ

हामीले सोध्यौं, ‘यदि जनचाहनालाई कुल्चिदै सरकारले तपाईंलाई कतै पनि नियुक्ती दिएन भने तपाईंका व्यक्तिगत योजना के छन् ? जनताले तपाईंलाई कस्तो भूमिकामा देख्न पाउलान् ?’

कुलमानले आफू कुनै हतारोमा नभएको बताए । भावि योजनाका विषयमा कुनै ठोस निर्णय लिइनसकेको उनको भनाइ छ ।

‘आगामी दिनमा के गर्ने भन्ने सोच्दैछु । भर्खर १५–२० दिन त भयो । मैले जहाँ पायो त्यहाँ हात हाल्न पनि मिल्दैन । कुनै कम्पनीमा जागिर खाएर बस्ने कुरा पनि आएन । राम्ररी सोचेर निर्णय लिन्छु ।’

कुलमानका कट्टर समर्थकहरुको एउटा तप्का पनि छ, जसले उनलाई अब प्राधिकरणको कार्यकारी निर्देशकभन्दा माथिल्लो ओहदामा देख्न चाहन्छ । उनले राजनीतिमा आएर मन्त्री वा प्रधानमन्त्री बन्न बाटो खोल्नुपर्छ भन्नेहरु पनि छन् ।

सोधियो, ‘भोलि राजनीतिमा आएर मन्त्री/प्रधानमन्त्री बन्ने कुरा तपाईंको विकल्पमा पर्छ कि पर्दैन ?’

यो प्रश्नलाई उनले ठाडै नकारेनन् ।

‘यो परिस्थितिले तय गर्ने कुरा हो । भविष्यको परिस्थिति कस्तो हुन्छ, त्यसै अनुसार अघि बढ्छु । अहिले केहि सोचिसकेको छैन ।’

राजनीतिमा तपाईंको रुचि कति छ ?

उनी अलिकति खुले ।

‘म कार्यकारी भूमिका र लिडरसिपमा फिट हुने मान्छे हो । लिडरसीप भनेको हरेक क्षेत्रको हुन सक्छ । सकेसम्म त कर्पोरेट लिडरसिप नै गर्छु । त्यो पनि ऊर्जाकै क्षेत्रमा । होइन, त्यस्तै परिस्थिति आयो भने अरु विकल्पमा पनि सोच्न सकिन्छ ।’

‘भनेपछि राजनीतिलाई पनि विकल्पमा राख्नुभएको छ ?’

‘भनेँ नि, त्यो परिस्थितिले तय गर्छ । मैले अपेक्षा गरेर मात्रै हुने कुरा होइन ।’

तपाईंले देशभित्र जहाँबाट जोसित चुनाव लडे पछि जित्नुहुन्छ भन्ने चर्चा सुनिन्छ । तपाईंलाई त्यस्तो लाग्छ कि लाग्दैन ?

‘चुनाव जित्नु मात्रै ठूलो कुरा होइन । म त जितौंला रे । तर, त्यसपछि ह्वाट नेक्स्ट भन्ने हुन्छ नि । चुनाव जित्नेभन्दा जितेर के गर्ने भन्ने महत्वपूर्ण प्रश्न हो । कुनै पनि क्षेत्रमा जाँदा स्पष्ट भिजन हुनुपर्छ । जहाँ बस्दा पनि राष्ट्रकै लागि योगदान गर्ने हो । परिस्थितिले कता डोहोर्याउँछ हेरौं । म लचक नै छु । बाहिर आएपछि त धेरै कुरा सोच्न सकिन्छ नि ।’

तर, तपाईंलाई कार्यकारी भूमिकामा बढी रुचि भएकाले राजनीतिमा गइहालुँ भन्ने त छैन होला ?

‘राजनीति पनि कार्यकारी नै हो नि । मन्त्रीभन्दा कार्यकारी के हुन्छ ।’

‘अब कति समय पर्खिनुहुन्छ त सरकारलाई ?’

‘हेर्दै जाउँ परिस्थिति कस्तो आउँछ । म सरकारले के निर्णय गर्ला भनेर पर्खेर बसिरहेको चाहिँ छैन ।’

‘सरकारबाट अहिलेसम्म कुनै ग्रीन सिग्नल पाइसक्नुभएको छ कि छैन ?’

त्यस्तो केही छैन । भर्खर त १८–२० दिन भयो । हतार के छ र । अलिदिन आराम गरौं ।’

खोइ त आरोप ?

हामी कुराकानीलाई बिट मार्न खोज्दै थियौं, कुलमानले रोके ।

‘खोई त ममाथि लाग्ने गरेका आरोपहरुबारे केही पनि सोध्नुभएन ?’ उनले भने ।

उनले नै यसरी बाटो खोलेपछि हामी पछि हट्ने कुरा आएन । अनि खोलियो आरोपको कन्तुर ।

आरोप एक : तपाईं मिडियावाजीमा रमाउनुहुन्छ । मिडियालाई हातमा लिएर आफ्नो पक्षमा माहोल बनाउनुभएको छ र त्यसैको बलमा प्राधिकरणमा दोहोरिने प्रयासमा हुनुहुन्छ ।

जवाफ : तपाईंलाई पनि थाहा होला म मिडियावाजी गर्छु या गर्दिनँ भन्ने । मभन्दा धेरै मिडियाबाट भाग्न खोज्ने त को होला र ? मिडियामा आउने कुराहरु उहाँहरुका आफ्ना धारणा हुन्, आफ्ना लेखाइ हुन् । मैले आजसम्म कुनै पत्रकारलाई फोन गरेर यो लेखिदिनुपर्यो भनेको छैन । भन्ने कुरा पनि आउँदैन । मिडियाको साथ र सहयोग अवश्य मलाई छ, तर त्यो उहाँहरुको स्वतस्फुर्त हो ।

आरोप दुई : लोडेसेडिङ अन्त्य गरेको जस आफू एक्लैले लिएर तत्कालीन मन्त्री र सरकारलाई छायामा पार्नुभयो, जबकि यो तपाईंको एक्लो प्रयासले सम्भव थिएन ।

जवाफ : मैले आजसम्म कहिँ कतै पनि लोडसेडिङ अन्त्य गरेको जस एकलौटि लिन खोजेको छैन । मैले सँधै भन्ने गरेको छु, यो टिमवर्कले सफल भएको हो । प्राधिकरणको पुरै संयन्त्रले यसमा काम गरेको छ । तर, के हुन्छ भने हरेकचोटि सबैजनाको नाम लिन त सम्भव हुँदैन । जस्तो कि कुनै लडाईंमा जित हासिल भयो भने सेनापतिको नाम आउँछ नि, जबकि त्यसमा थुप्रै सैनिकहरु लडेका हुन्छन् । त्यसैले प्राधिकरणको नेतृत्व गरेको हिसाबले जनताले मलाई जस दिनुभएको छ । म त सँधै भन्छु कि यो टिम वर्कको नतिजा हो । अरुले पनि यही ढंगले बुझ्नुहोस भन्न चाहन्छु ।

आरोप तीन :  तपाईंको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग ‘खास’ सम्वन्ध छ । त्यही सम्वन्धको आडमा तपाईंले प्राधिकरणमा छँदा आफूलाई शक्तिशाली ठान्नुभयो र मन्त्री, प्रधानमन्त्रीलाई समेत टेर्नुभएन ।

जवाफ : यो पनि सत्य होइन । प्रचण्डले नेतृत्व गर्नुभएको सरकारले मलाई नियुक्त गरेकाले मलाई प्रचण्ड निकट भनिएको होला । अन्यथा उहाँसित अरु विशेष सम्वन्ध थिएन र छैन । मैले आफ्नो कार्यकालमा ३ जना प्रधानमन्त्री र ४ जना मन्त्रीसँग काम गरे । मैले सबैसँग समदुरीको सम्वन्ध राखेको छु । म ‘चेन अफ कमाण्ड’मा विश्वास गर्छु । कसैसँग आवश्यकताभन्दा बढी नजिक वा टाढा हुन खोज्दिनँ ।

जहाँसम्म अटेर गरेको प्रश्न छ, हो मैले आफूलाई दिइएका आदेश र निर्देशन सतप्रतिशत पालना गर्न सकिनँ होला । तर, सही र उचित निर्देशन हरसम्भव पालना गरेको छु । कहिलेकाहीँ उहाँहरुको बुझाईको कमि वा अन्य कारणले अनुपयुक्त कुराहरु पनि आउँछन् । म उहाँहरुलाई बुझाउने प्रयास गर्छु । कानूनी वा प्रक्रियागत कारणले पनि कतिपय कामहरु गर्न सकिँदैन । तर, त्यसलाई मैले कुनै व्यक्तिविशेषको आड लिएर अटेर गरेको अर्थमा बुझ्न मिल्दैन । यति हो कि कसैले मबाट जबरजस्ती गलत काम चाहिँ गराउन सक्दैन । भनसुनका आधारमा मबाट कुनै काम हुँदैन ।

आरोप चार : आफ्नो कार्यकालमा भएका ऊर्जामन्त्रीहरुसँग तपाईंले राम्रो सम्वन्ध बनाउन सक्नु भएन ।

जवाफ : त्यस्तो त होइन । काम गर्दा अलिअलि कचमच त भइ नै हाल्छ । होइन भने मन्त्रीज्यूहरुसँग मैले समन्वयमै काम गरेको हो । मन्त्रीसँग ट्यूनिङ नमिलेको भए रिजल्ट निकाल्न सम्भव नै हुन्थेन । मेरो कार्यशैलीप्रति कसैलाई कहिँ–कतै असन्तुष्टि होला । तर, मैले त संस्थाकै हित हेरेर काम गरेको छु ।

आरोप पाँच : तपाईंलाई लोकप्रियताको नशा छ । आफ्नो लोकप्रियता गुम्ला कि भन्ने डरले तपाईंले एमसीसीजस्तो संवेदनशील र राष्ट्रिय महत्वको विषयमा पनि मुख खोल्नु भएन, जबकि तपाईं यो परियोजनाको पक्षधर हुनुहुन्छ ।

जवाफ : एमसीसीका विषयमा मैले सम्वन्धित ठाउँमा, बोल्नैपर्ने ठाउँमा बोलेको छु । यो परियोजनाको प्राविधिक पक्षको मात्रै मैले विश्लेषण गर्ने हो । यसका राजनीतिक र कानूनी पाटोमा त राजनीतिक नेतृत्वले नै प्रष्ट्याउनुपर्ने हुन्छ । पदीय हिसाबले पनि मैले सार्वजनिकरुपमा टिप्पणी गर्न मिल्दैनथ्यो । आफ्नो च्यानलमा गर्नुपर्ने काम त मैले गरेकै हो नि ।

आरोप छ : प्राधिकरणमा तपाईंले आफूभन्दा मुनिका कर्मचारीलाई अनावश्यक पेलान दिनुभएको थियो । प्राधिकरणका अरु उच्चपदस्थ कर्मचारीहरु तपाईंसँग खुशी थिएनन् ।

जवाफ :  यो पनि गलत हो । म एकदमै लचिलो मान्छे हुँ । तर, कसैले फटाई गर्यो भने चाहिँ सहन सक्दिन । त्यस्तो बेलामा कठोर भएँ होला । अन्यथा सबै कर्मचारीप्रति म अत्यन्तै उदार थिए । म विद्युत प्राधिकरणका प्रत्येक शाखामा पुगेको छु । तल्ला तहका कर्मचारीको कुरा पनि सुनेको छु । जबकि कतिपय अघिल्ला कार्यकारीहरु क्षेत्रीय कार्यालयमा पनि पुग्दैनथे ।

आरोप सात : जनताको अथाह समर्थनले गर्दा तपाईमा घमण्ड बढेको छ ।

जवाफ : जनताको समर्थनले मलाई शक्ति त मिलेकै हो । तर, त्यसलाई प्रोत्साहनको स्रोतका रुपमा लिएको छु । घमण्ड किन गर्ने ? भोली मैले सानो गल्ति गरेँ भने पनि आजको स्थिति उल्टिन सक्छ भन्ने मलाई थाहा छ । त्यसैले आज जनसमर्थन छ भन्दैमा मै हुँ भन्दै हिँड्दिनँ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>