2021-02-25Thursday सम्पदा पुनर्निर्माणमा ठेकेदार होइन, स्थानीयको सहभागिता उत्तम – Online Khabar – Hamro Nepal

सम्पदा पुनर्निर्माणमा ठेकेदार होइन, स्थानीयको सहभागिता उत्तम – Online Khabar


१७ असोज, काठमाडौं । भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आएपछि उपभोक्ता समितिमार्फत् १३० वटाभन्दा बढी मन्दिर, सत्तल, ढुंगेधाराजस्ता संरचनाको पुनर्निर्माण भयो, त्यो पनि कुनै विरोध र होहल्ला विना ।

त्यही भक्तपुरमा ठेकेदारमार्फत् गराएका कैयौं काममा गुणस्तरहीन सामान प्रयोग नगरेको, कमसल सामान हटाएर नयाँ नराखे, तोकिएको समयमा काम नसकेको लगायतका कारणले सम्पदा संरक्षणमा समस्या देखियो । कतिपय परियोजनामा स्थानीयहरु हुल कसेर विरोधमा उत्रिन पर्यो ।

यो समस्या बुझेको भक्तपुर नगरपालिकाले नयाँ जनप्रतिनिधि आउनासाथ ठेकेदारी प्रथाभन्दा उपभोक्ता समितिहरुलाई अगाडि सार्‍यो । समितिहरुले स्थानीयलाई ‘यो मेरो सम्पदा हो’ भनेर उत्प्रेरित गरे । परिणाम्, भक्तपुरका अधिकांश पुरातात्वीक संरचनाहरुको पुनर्निर्मामाण अनुमानितभन्दा आधा लागत र तोकिएको समयभन्दा अगाडी नै सम्पन्न भए ।

शिलान्यास भएको पाँचवर्षमा पनि ठेकेदार-स्थानीय विवादका कारण असरल्ल रहेको ललितपुरको बुंगमतीको रातो मत्स्येन्द्रनाथको मन्दिर पुनर्निर्माणमा पनि पछिल्लो समय भक्तपुर शैली अपनाइएको छ । ठेकेदारले राम्रोसँग काम नगरेपछि अन्ततः मन्दिर पुनर्निर्माणका लागि गत चैत १ गते उपभोक्ता समिति गठन गरियो ।

****

१२ वैशाख २०७२ को महाभूकम्पमा पूर्ण क्षतिग्रस्त बुंगमतीको रातो मत्स्येन्द्रनाथ मन्दिर र रानीपोखरी पुनर्निर्माणको शिलान्यास एकैदिन २०७२ माघ २ गते भएको थियो ।

पुनर्निर्माणको क्रममा अनेकौं विवाद झेलेको रानीपोखरी लगभग तयार भएको छ । पोखरीको बीचमा रहेको गोपालेश्वर मन्दिरमा गजुर हाल्ने काम बिहीबार सम्पन्न भएको छ ।

रातो मत्स्येन्द्रनाथको मन्दिर पुनर्निर्माणको कामले भने बल्ल तीव्रता पाउन थालेको छ । निर्माण पक्षकाअनुसार अहिले ३५ प्रतिशत हाराहारीमा काम भएको छ ।

रातो मत्स्येन्द्रनाथको मन्दिरको काम किन उपभोक्ता समितिलाई जिम्मा दिन बाध्य भयो त पुरातत्व विभाग ?

महाभूकम्प लगत्तै पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय र पाटन दरबार संग्रहालयले प्रेरा भेगिम, थेगिस र तुलसी कन्सट्रक्सन जेभीलाई २ वर्षमा काम सक्नेगरी भ्याटसहित ४ करोड ७४ लाख ४५ हजार १६ रुपैयाँको ठेक्का दिएको थियो ।

स्वयम्भुको आनन्द कुटी महाविहार र रातो मत्स्येन्द्रनाथ मन्दिर पुनर्निर्माणमा श्रीलंका सरकारले चार करोड ७४ लाख ४५ हजार १६ रुपैयाँ सहयोग गरेको थियो । ठेकेदार कम्पनीले रकम अपुग हुने भनेपछि बजेट थपेर पाँच करोड २१ लाख ८५ हजार रुपैयाँ पुर्‍याइयो ।

तर पुनर्निर्माणमा कमसल सामान प्रयोग र मन्दिरको मौलिकतामा खेलबाड हुन थालेपछि २०७५ फागुन १३ गते थेगिससँगको सम्झौता भंग गर्ने निर्णयमा पुरातत्व विभाग पुग्यो । बाँकी २ कम्पनीले भने काम जारी राखे ।

थेगिसले मन्दिरको जगमै तराईबाट नयाँ इँटा ल्याएर राख्न थालेपछि नै स्थानीयले बिरोध गर्न थालेका थिए । विवादका बिच जग बस्यो, तर मन्दिर बनेन । बुँटा राख्नुपर्ने ठाउँमा सादा काठ राख्न थालिएपछि विवाद चुलिँदै गयो ।

त्यही विवादका कारण श्रीलंकाले दिएकोमध्ये दुई करोड ९८ लाख पाँच हजार रुपैयाँ फिर्ता लग्यो । अन्ततः ठेकेदार कम्पनीहरुले पुनर्निर्माणबाट हात झिके ।

चैत १ गते गठित रातो मत्स्येन्द्रनाथ मन्दिर पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्य ती कम्पनीहरु मन्दिर बनाउने ठेकेदार नै नभएकोले समस्या आएको बताउँछन् ।

उनीहरुले हात झिक्दा ६४ फिट ५ इन्चको शिखर शैलीको यो मन्दिरको ३५ प्रतिशत जति काम सकिएको थियो । त्यतिञ्जेल २ करोडभन्दा बढी खर्च भइसकेको थियो । उपभोक्ता समितिले जमिनमुनिको बाहेक ठेकेदारले बनाएको सबै संरचना भत्काएर पुनर्निर्माण सुरु गर्‍यो ।  ‘उनीहरूले बनाएको संरचना नै त्रिपट थियो’, अध्यक्ष शाक्य भन्छन्, ‘उनीहरुलाई पुरै बनाउन दिएको भए केही समयमा नै मन्दिर भत्किने थियो ।’

धमाधम पुनर्निर्माण

यो साता हामी मन्दिर निर्माणस्थलमा पुग्दा चारजना कालीगढ ढुंगा पिसेर बनाएको धुलोमा गम मिसाएर पुरानो ढुंगेस्तम्भ मर्मत गर्नमा व्यस्त थिए । अर्काे कुनामा १३ जना कालीगढ काठको काम गरिरहेका थिए । कसैले काठमा नाग त कोही सिंहको आकृति बनाइरहेका थिए ।

मन्दिरको बाहिरपट्टी उभ्याइने २० वटा शिला स्तम्भमध्ये ठुला चारवटा तयार भइसकेको थियो । साना १६ स्तम्भमध्ये १२ वटा मर्मत गरेर प्रयोग हुने र चारवटा नयाँ तयार गरिदै गरेको अध्यक्ष शाक्यले बताए ।

‘पुरातत्व विभागले २०७८ असार मसान्तको समयसीमा तोकेको छ’, शाक्यले अनलाइनखबरसँग भने, ‘हामीले लकडाउनको बिच असार २२ गतेदेखि काम थालेका छौं । बन्दमा सरसामान जुटाउनै हम्मे परेपनि तोकिएको समयभित्रै काम सक्न सबै लागेका छौं ।’

स्थानीयको सक्रियता

रातो मत्स्येन्द्रनाथको मन्दिर वरपर बिहानै स्थानीयको चहलपहल बढ्छ । ठिक सामुन्नेको टहरामा विराजमान मत्स्येन्द्रनाथले निर्माण कार्यको निरीक्षण गरिरहे जस्तो देखिन्छ । उनका अगाडी भक्तजन आ-आफ्नो काममा व्यस्त छन् । सहकालका देवताको सेवामा सबै लागेका छन् ।

भक्तपुरमा जस्तो उदाहरणीय भन्न नमिलेपनि समय मिलाएर निःस्वार्थ सेवा गर्न आउने बुङमतीवासीको अभाव छैन । समितिका अध्यक्ष शाक्यका अनुसार काठका कालीगढहरूले सुरुको १२ दिन निःशुल्क काम गरे । ‘अहिले उनीहरूको दुःख बुझेर केही पारिश्रमिक दिने निर्णय गरेका छौं’, उनी भन्छन्, ‘सबैजना निश्चल मनले रातो मत्स्येन्द्रनाथको सेवामा खटिनु भएको छ ।’

बजेटले नपुग्ने चिन्ता

यतिबेला तोकिएको रु.३ करोडले यो मन्दिर ठड्याउन सकिँदैन भन्ने चिन्तामा छ उपभोक्ता समिति । पुनर्निर्माणको धेरै काम प्राविधिक प्रकृतिको हुने भएकोले स्थानीयको निशुल्क सहभागिताले बढी धान्ने अवस्था छैन । अध्यक्ष शाक्य भन्छन्, ‘सकेसम्म पुर्याउने हो, नपुगे सरकारसंग माग्ने विकल्प छ ।’

मन्दिरको लागि आवश्यक ठूल्ठूला काठ पनि उपभोक्ता समितिको लागि चुनौतीको विषय बनेको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>