2021-03-06Saturday ‘‍‍‍…अनि मैले कलम छोडेर कोदालो उचालें’ – Online Khabar – Hamro Nepal

‘‍‍‍…अनि मैले कलम छोडेर कोदालो उचालें’ – Online Khabar


१० असोज, चितवन । सरकारद्वारा वितरण गरिने पदक माथि विभिन्न ठाउँबाट प्रश्न चिन्ह उठाइरहेका बेला चितवनका एक सफल किसान गणेश भुसालले जनसेवा श्री पाँचौ पदक प्राप्त गरेका छन् । सरकारले बाँड्ने पदक सहि ब्यक्तिले पनि पाएका छन् भन्ने दृष्टान्त बनेका छन् भुसाल ।

विगत १८ वर्षदेखि चितवनको भरतपुर महानगरपालिका वडा नं. २५ मा दिब्यनगरमा १८ बिघा जग्गामा तरकारी खेती गरेका ५४ वर्षीय किसान गणेश भुसालको सफलता अनुकरणीय छ । कृषि क्षेत्रमा पु¥याएको योगदानलाई यसपटक सरकारले कदर गरेकोमा उनलाई खुसी लागेको छ । उनी भन्छन्, ‘सरकारले आफूलाई पदक दिने कुरा थाहा पाउँदा गौरवान्वित बनेको छु, अझै कृषि कर्ममा लाग्ने प्रेरणा र हौसला मिलेको छ ।’ कृषि ज्ञान केन्द्र भरतपुरले उनलाई पदकका लागि सिफारिस गरेको थियो ।

अभियान बहुमुखी कृषि फर्म सञ्चालन गरेका भुसाल उच्च लगानीमा उच्च नाफा लिने उद्देश्य अनुरुप एकपटक लगाएपछि पटकपटक टिप्न मिल्ने र स्वदेशको आफ्नो उत्पादनले नधान्ने तरकारी खेती गर्दै आएको बताउँछन् । वर्षमा दुई करोड बराबरको तरकारीको कारोबार गर्ने किसान भुसाल भन्छन्, ‘तरकारी बेचेर किसान अर्बपति त भएका छैनन्, नाम पनि हुँदैन, तर हामीले उत्पादन गरेको तरकारी यो देशका प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मले खानुहुन्छ, त्यसमा गौरव लाग्छ, हामीले उत्पादन गरेका छौं र त उहाँहरूले खानुहुन्छ ।’

सरकारी अनुदान नलिने किसान !

सरकारी अनुदान लिने भनेपछि तछाडमछाड गर्ने, नक्कली फर्म खडा गर्ने र नेताको पहुँचका आधारमा अनुदान लिनेहरुको ठूलो तप्का छ । तर, जिल्लामा स्थापित तरकारी किसानको छवि बनाएका भुसालले अहिलेसम्म सरकारबाट एक सुको पनि अनुदान लिएका छैनन् । उनलाई सरकारी अनुदान लिन र थप व्यवसाय विस्तार गर्न कृषि प्राविधिक तथा अधिकृतहरुले अनुरोध नगरेका पनि होइनन् ।  उनी त्यसलाई अस्वीकार गर्छन् । सरकारी अनुदान लिने तिर त्यति रुचि पनि छैन । उनी भन्छन् ‘आजसम्म नलिई बसेँ, किन सरकारको अनुदानको रकम लिनु ? मागेर न त देश धनी हुन्छ, न त जनता नै, आफैंले उद्यम गर्नुपर्दछ ।’

उनले अनुदान लिनका लागि गर्नुपर्ने मेहनत र समय कृषि कर्ममा लगाउँदा त्यसैले जित्ने बताउँछन् । उनी भन्छन्, ‘एक लाख अनुदान लिन ६ महिना दौडिनुपर्छ, बरू खरूखुरू काम गरे पाँच लाख धरतीबाट उब्जिन्छ । सित्तैमा विना मेहनत अनुदानको पैसा आयो भने, मेनहन गर्ने धारणामा कमी आउँछ ।’

अहिले सरकारले दिने भनेको जनसेवा श्री  पदक र अनुदानको बीचमा कनेक्सन देख्छन् उनी । ‘अरूले अनुदान लिए, मैले लिइनँ, अनुदान नलिने किसानलाई पनि त सरकारले सम्झिन आवश्यक ठानेर पदक दिएको होला,’ भुसाल भन्छन्, ‘अनुदान लिनेलाई पदक दिँदा राम्रो पनि हुन्थेन ।’

अनुदानको सट्टा उन्नत जातको बीउ, मल, उत्पादित सामानको सहज बजारीकरण, सिंचाइ, कृषि औजार, प्रविधि, प्राविधिक जनशक्ति, बिचौलियाले किसान माथि गरेको शोषणतिर सरकारले ध्यान दिए राम्रो हुने उनको सुझाव छ ।

उनले अनुदान खानका लागि काम गरेजस्तो देखाउने, पाएपछि छाडिदिने परिपाटी मौलाएको भन्दै सरकारी अनुदान पचाएर काम नगर्नेलाई भष्टाचार गरेसरह मानेर कारवाही गर्नुपर्ने माग गरे । उनले भने, ‘जसले सरकारले यति गरिदियो भने खेती गर्छु भन्छ, त्यसले जीवनमा कृषि कर्म गर्दैन ।’

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले तरकारी उत्पादक किसान भुसाल जिल्लाकै नमूना कृषक भएको बताए । सरकारी अनुदानको आशा नगर्ने भुसालबाट कृषि क्षेत्रमा लाग्न चाहाने युवाहरुले धेरै कुरा सिक्न सक्ने ज्ञान केन्द्र प्रमुख ढकाल बताउँछन् ।

वकिल, पत्रकार हुँदै किसान

आजभन्दा २२/२३ वर्षअघि अर्घाखाँचीको सन्धिखर्कमा उनले वकालत पेशा गर्दथे । कानुनमा स्नातक गरेका सन्धिखर्क नगरपालिका वडा नं. ७ का भुसाललाई यो पेशा त्यति मन परेन । वकालत गरेर जीवन कटाउँला भन्ने लागेन । किन लागेन भन्ने प्रश्नको जवाफमा भुसालले भने, ‘म सबैलाई मिलाउनुपर्दछ, समन्वयकारी भूमिका खोज्ने मान्छे, वकिल पेशा जति फुटाउन, झगडा पार्न सक्यो त्यति लाभ र फाइदा हुने रहेछ, मलाई फिटिक्कै यसमा रमाउन मन लागेन ।’

उनले ६ महिना जति जिल्लामा वकालतको काम गरे । त्यसपछि उनको मन  पत्रकारितातिर मोडियो । कानुन पनि जानेको, लेख्न पनि सक्ने, नाम र चर्चा कमाउने उद्देश्यले पत्रकारिता गर्ने जाँगर आयो । २०५१ सालमा पत्रकारिता सुरु गरेका भुसालले २०५८ सम्म जिल्लामा बसेर पत्रकारिता गरे । नाम त भयो, तर पैसा कमाउन सकेनन् । घर परिवारप्रतिको दायित्व र आर्थिक बोझ थपिन थाल्यो । ‘अनि म कलम छोडेर कोदालो उचाल्ने निष्कर्षमा पुगें,’ भुसालले भने ।

बाबुकै प्रेरणा र हौसलाले दुवै छोरीहरुले कृषि विषय पढेर अहिले थप सहयोग गरिरहेका छन् । छोरीहरूका लागि बाबुको कृषि फर्म प्राक्टिकल गर्ने ठाउँ बनेको छ । एक छोराले एमबीए सकाएर बाबुकै बिडो थाम्दैछन्

त्यतिबेला देशमा माओवादीको द्वन्द्व चरम उत्कर्षमा पुगेको थियो । कुनै समाचार नछाप्दा माओवादीको डर, छाप्दा प्रशासनको धम्की आउन थालेपछि उनले पत्रकारिता पेशा पनि छाड्ने र कृषि कर्म गर्ने अठोट गरे । उनलाई कृषि कर्मप्रति केही झुकाव पनि थियो । पत्रिकामा कृषि सम्बन्धी समाचारलाई उनी प्राथमिकता पनि दिन्थे । अर्घाखाँचीमा कृषि कर्मका लागि भनेजस्तो वातावरण उनले देखेनन् ।

सानो पुँजीले गर्न सकिने पेशा कृषि थियो । उनलाई लाग्यो तीन महिनामा नै केही गर्न सके ‘रिटर्न’ आउँछ । कपिलवस्तु, रुपन्देही, नवलपरासीका विभिन्न ठाउँ हेर्दै अर्घाखाँचीको कृषि कार्यालयका एक जेटिएसहित उनी चितवन आए । रामपुर क्याम्पसका प्राध्यापक डा. रामप्रसाद पौडेलसँग अर्घाखाँचीमा नै चिनजान भएकाले सहज भयो ।

प्राध्यापक पौडेलले उनलाई थप हौसला दिए । पश्चिम चितवनको दिव्‍यनगरमा प्रतिकठ्ठा एक हजार भाडा बुझाउने गरी ४ विघा जग्गा लिए । माटो, बजार, पानीको सुविधा, कामदारको पर्याप्तता देख्दा उनलाई यही ठाउँ ठीक लाग्यो । जानी–नजानी तरकारी खेती सुरू गरे । पहिलो वर्ष दुई लाख लगानी गरेर काउली, मुला, बन्दा, गोलभेंडा, मकै खेती पनि गरे । खर्च पनि उठेन । घाटा भयो । तै पनि उनी निरास भएनन् । सँगै आएका जेटिए साथी जागिर नछाड्ने भन्दै जिल्ला फर्किए ।

‘म त कि पौडिन्छु कि डुब्छु भनेर नारायणीमा हामफाले जसरी यो पेशामा लागेको थिएँ,’ भुसाल भन्छन्, ‘लगातार तीन वर्षसम्म घाटा भयो, चौथो वर्षबाट सास पलायो ।’ उनले खेती किसानी गर्दा विगतमा आफूले गरेका कमी कमजोरीलाई सच्चाउँदै अघि बढे । अहिले उनलाई पछाडि फर्किएर हेर्नुपर्ने अवस्था छैन ।

मनग्गे आम्दानी

देशभित्र केही भएन, जागिर पनि पाइएन । केही गर्न पनि सकिएन भन्ने व्यक्तिहरूका लागि गणेश भुसाल एक नमूना र प्रेरणादायी व्यक्तित्व हुन् । मासिक २५/३० हजार कमाउन नेपाली युवा खाडीको तातो घाम खान पुगेका छन् । तर, तरकारी किसान भुसाल नेपालमा परिवारसँग बसेर वर्षमा ५० लाखसम्म कमाउँछन् । उनी भन्छन्, ‘पसिना चुहाएर धरती कोपर्दा पैसा छ, किन जाने विदेश ? कस्तुरीले आफ्नो नाभीको बास्ना खोज्न भौंतारिएको जस्तो युवाहरु खाडीमा भौतारिनु हुन्न । देशभित्रै अथाह पैसा छ, तर मेहनत चाहिन्छ ।’

उनले अघिल्लो वर्ष दुई करोडको तरकारी बचे । न्यूनतम तरकारी बेच्दा पनि वर्षमा एक करोड ५० लाखको तरकारी बेच्ने गरेको उनले सुनाए । कारोबारको २५ प्रतिशत नाफा रहन्छ । ३० प्रतिशत कामदारमा, बाँकी बीउ, मल, सिंचाइ, किटनाशक औषधी लगायतमा खर्च हुन्छ ।

१८ वर्षअघि चितवन आएका भुसालले भरतपुर–२५ अमृतचोकमा घरसहितको १३ कठ्ठा जग्गा जोडेका छन् । आफ्नो केही जग्गा अरूलाई भाडामा दिएका छन् । कृषि कर्मका औजार थपेका छन् । दुई ट्याक्टर र दुई मोटरसाइकल किनेका छन् । दुई छोरीले बिएससी एजीको पढाइ सकाएका छन् । बाबुकै प्रेरणा र हौसलाले दुवै छोरीहरुले कृषि विषय पढेर अहिले थप सहयोग गरिरहेका छन् । छोरीहरूका लागि बाबुको कृषि फर्म प्राक्टिकल गर्ने ठाउँ बनेको छ । एक छोराले एमबीए सकाएर बाबुकै बिडो थाम्दैछन् । सुरूमा ८० प्रतिशत खर्च कामदारमा हुन्थ्यो । अहिले घटेर ३० प्रतिशतमा झरेको छ । कामदारको खर्च नघटाउँदा नाफामा जान नसक्ने अवस्था भएकोले विभिन्न औजारको प्रयोग गर्ने, बनाउनेसम्मका काम उनी आफैं गर्दै आएका छन् । यसलाई १० प्रतिशतमा झार्न सके, नाफा अझै बढ्ने उनको भनाइ छ ।

उनको फार्ममा झण्डै ४० जना कामदारले दैनिक काम गर्दै आएका छन् । २० जना सिजन अनुसार काम गर्ने ज्यालादारी कामदार छन् ।  मासिक झण्डै ४ लाख तलबमा खर्च हुने गरेको भुसाल बताउँछन् । जग्गाको भाडा ६ लाख तिर्छन् ।

अबको योजना फलफूल खेती

तरकारीको बजार अनिश्चित हुन्छ । बिचौलियाको दरिलो सन्जाल छ । तर, अहिले ठूला किसानहरू ब्यापारीलाई तँलाई माल दिन्न भन्न सक्ने अवस्थामा पुगेको किसान भुसालको अनुभव छ । उनी भन्छन्, ‘हामीले माल नदिई उनीहरूको ब्यापार चल्दैन, त्यो हैसियत हामीले बनाउँदैछौं, कम्तीमा पनि हाम्रो उत्पादनको मूल्य हामीले तोक्न पाउनुपर्छ भन्ने हो ।’

किसान भुसालका अनुसार तरकारी बजारमा बिचौलियाको पाँच तह छ । कमिसन एजेन्टले तरकारी उठाएर होलसेलरलाई दिने, होलसेलरले खुद्रा होलसेलरलाई र खुद्राले रिटेलरलाई दिने गरेका छन् । किसानलेभन्दा बढी नाफा यिनैले खाने गरेका छन् । बिचौलियाको यो सन्जाल भत्काउन सरकारले अनुगमन गर्नुपर्ने र तरकारीको बिल अनिवार्य गराउनुपर्ने धारणा उनको छ ।

किसान भुसालले अब तरकारी खेतीको जिम्मा छोरालाई लगाएर आफूचाहिँ फलफूल खेती गर्ने सोचमा छन् । उनले अहिले ट्रायलको रुपमा पाँच कठ्ठा जग्गामा मेवा लगाएका छन् । मेवा खेती निकै राम्रो छ ।

उमेर बढ्दै गएकाले एकपटकको लगानीमा थोरै मेहनतबाट धेरै नाफा लिन सकिने फलफूल खेती गर्ने सोचमा उनी छन् । वहुवर्षीय फलफूल खेती अन्तर्गत केरा, किवी, मेवा, ड्रयागन फ्रुटको खेती गर्ने उनको सोच छ । उनी भन्छन्, ‘सकिञ्जेल र जीवन छउञ्जेल कृषि कर्ममा रमाउँछु ।’





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>