2021-02-28Sunday चर्चित अर्थशास्त्रीको बहुआयामिक निजी जीवन – Online Khabar – Hamro Nepal

चर्चित अर्थशास्त्रीको बहुआयामिक निजी जीवन – Online Khabar


समाजमा ख्याती कमाएका व्यक्ति वा सार्वजनिक ओहोदामा पुगेकाहरूले आत्मकथा लेख्ने क्रम बढेका बेला अर्थशास्त्री विश्वम्भर प्याकुर्‍याल पनि आत्मकथा ‘आफैंलाई खोज्दा’ लिएर पाठकसामु आएका छन् ।

बर्दियाबाट काठमाडौं आएर काकाको घरमा बसेर विद्यालय तहको शिक्षा लिएका प्याकुर्‍यालले कालान्तरमा विद्यालय शिक्षक, क्याम्पसमा विद्यार्थी नेता, गीतकार, लेखक, त्रिविका अस्थायी सहायक प्राध्यापक, प्राध्यापक र अर्थशास्त्रीको रूपमा प्रख्यात भए ।

बर्दियाबाट भारतको बहराइच, मुजफ्फरपुर हुँदै नेपालको अमलेखगञ्जसम्म रेलयात्रा । अमललेखगञ्जबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं प्रवेश गरेका उनी उच्च शिक्षा लिन अमेरिकासम्म पुगे । फर्किएर फेरि त्रिविमै प्राज्ञिक काम र अध्ययन अनुसन्धानमा लागे ।

गीत–संगीतमा नारायणगोपाल, गोपाल योञ्जन, हरिभक्त कटुवाल, प्रेमध्वज प्रधान, दीप श्रेष्ठदेखि राजनीतिमा कृष्णप्रसाद भट्टराईसम्मका संगतमा परेका प्याकुरेलको संस्मरण यिनै सरसंगत, पेशा र जीवनवृत्तमा वेग मारेको छ ।

पुस्तकमा बाल्यकालको सम्झना, संयुक्त परिवारभित्रको मनोमालिन्य, साथीसंगति र  युवा अवस्थामा आफूले गरेका चकचकीलाई उनले अहिलेको बुझाइमा उतारेको देखिन्छ । युवा अवस्थाका धेरै निर्णय कच्चा भएको र त्यसले समस्यामा पारेको उनको स्वीकारोक्ति छ ।

श्रीलंकाका लागि नेपाली राजदूतसमेत भएका प्याकुर्‍यालले आत्मकथामा पाठकको अपेक्षाअनुसार सार्वजनिक चासोका खुलासाहरू गरेका छैनन् । मध्यमवर्गीय नेपालीको जस्तै सफलता र असफलताको बांगोटिंगो बाटोबाट अघि बढेको आफ्नो जीवनको समीक्षा भने राम्रोसंग गरेका छन् ।

आत्मकथामा आफूलाई बढाइचढाइ हिरो देखाउने, आफ्नै कारण ठूला दुर्घटना टरेको वा ठूलो काम बनेको भनी दावी गर्ने, निकट विगतकै घटनामा झुक्याउने चलन बढेको छ । त्यसैले पछिल्लो समय नेपालमा आत्मकथा बदनाम छ । यो मामिलामा भने प्याकुर्‍याल निकै इमानदार लाग्छन् । उनले पुस्तकको भूमिकामा भनेका पनि छन्– मैले आफ्ना भोगाइलाई आफैंसँग किरिया खाएर जस्ताको तस्तै उतारेको छु, त्यसैले यो वास्तविक कथाको अभिलेख हो ।

पुस्तकमा प्याकुर्‍यालले आफ्नो अर्थशास्त्रीको हैसियत धेरै देखाउन खोजेका छैनन् । पुस्तकभरमा जम्मा १२ पृष्ठमा मुलुकको आर्थिक अवस्थाबारे संक्षिप्त टिप्पणी गरेका छन् । बरू युवा उमेरमा गीतकार, लघुकथाकार, गीतिनाटक लेखक, विद्यार्थी नेता, विद्यालय शिक्षक, अमेरिकामा रेस्टुरेन्टको कुक बनेका घटनाहरूको रोचक वयान पाइन्छ ।

विद्यार्थी जीवनमा नेपाल नेशनल कलेज (तत्कालीन शंकरदेव क्याम्पस) को विद्यार्थी युनियन सभापति, त्रिवि क्याम्पस विद्यार्थी युनियनको महासचिव भएका उनी राजनीतिक मुद्दामा जेल परे । कृष्णप्रसाद भट्टराईको छत्रछाया पाए । बीपीसँग चुनाव खर्च ४०० रूपैयाँ लिन गए । त्यतिबेलै आफू राजनीतिका लागि उपयुक्त पात्र नभएको निश्कर्ष निकाल्दै प्राज्ञिक क्षेत्रमा जाने सोच बनाएको उनले  उल्लेख गरेका छन् ।

अमेरिकामा विद्यावारिधी गर्न गएका प्याकुर्‍यालले आफ्नो अमेरिका यात्रालाई दुस्साहस भनेका छन् । कुनै व्यवस्थित योजना, पर्याप्त बचत र भरपर्दो स्रोतको सुनिश्चितता नहुँदै आफ्नै खर्चमा अमेरिका पढ्न जान कस्सिएको प्रसंग रोचक पनि छ । उनले अमेरिकामा डिग्री लिए पनि त्यसअनुसारको काम पाउने सुनिश्चितता नभएपछि नेपाल फर्किएको खुलाएका छन् । देशप्रेमको भाव जागृत भएर फर्केको दाबी विल्कुलै गरेका छैनन् ।

राजदूत सेवालाई विश्वम्भर प्याकुर्‍यालले भ्रम र सपना भनेका छन् । नेपाली कांग्रेस नेतृत्वको सरकारले विभिन्न आश्वासन देखाएर सधैं निराश पारेका बेला राजदूत नियुक्तिको प्रस्ताव आउँदा स्वीकारेको उनले उल्लेख गरेका छन्

प्याकुर्‍यालले ३९ वर्ष सेवा गरेको त्रिविप्रति गुनासो पोखेका छन् । अस्थायी सहायक प्राध्यापकको नियुक्तिमा पनि राजनीतिक पूर्वाग्रहका कारण १० महिना अलमल्याएको, शिक्षामन्त्रीको एक कल फोनबाट नियुक्ति पाएको, पञ्चायतको विरोध गर्ने प्राध्यापकहरूलाई बर्खास्त गरेको, प्राध्यापकले सरकारले तोकेको राष्ट्रिय पोशाक लगाउनुपर्ने, पुस्तकालय वा क्याफ्टेरिया छिर्दा, स्वास्थ्य केन्द्र जाँदा त्रिविले बनाएको फरम्याटको फारम भर्नुपर्ने नियमले त्यो बेलाको प्राज्ञिक क्षेत्रमा भद्दा हस्तक्षेप गरेको उनले सम्झेका छन् ।

अत्यधिक राजनीतिकरणले त्रिभुवन विश्वविद्यालयलाई दशकौंसम्म निशुल्क शिक्षा दिने थलो बनाएको, निजी विश्वविद्यालयको तुलनामा सुविधा कम हुँदा प्राध्यापकहरू अन्यत्र आकर्षित भएको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– मेरो आशा विश्वविद्यालय विशिष्टताको केन्द्र बन्छ भन्ने थियो, मेरो सपना विश्वविद्यालय सबैको मन जित्ने विवादरहित गैरराजनीतिक संस्था बन्छ भन्ने थियो । तर दुर्भाग्य जवान भएर छिरेँ प्रौढ भएँ र ३९ वर्षको दौरान वृद्ध भएर निस्किएँ । आखिर केही पनि हुन सकेन, मैले केही पनि देख्न सकिनँ ।

प्याकुर्‍यालले त्रिवि ९० प्रतिशत सरकारी अनुदानमा चलेको संस्था भएपनि हिजोअस्ति जन्मिएको शैक्षिक संस्थाले हासिल गरेको लोकप्रियतासँग तुलना गर्न लायक नभएको टिप्पणी गरेका छन् ।

विश्वम्भर प्याकुर्‍यालको कथा सपना बोकेर शहर पस्ने अनि स्थापित हुन भरमग्दुर प्रयत्न गर्ने आम नेपाली युवकको कथा हो । इमान्दार प्रयास गर्दा सफल हुन सकिन्छ भन्ने प्याकुर्‍यालको पुस्तकले देखाएको छ । उनले मान्छे कसरी सफल हुने भनेर सूत्र सिकाएका छैनन्, तर उनको सफलता र असफलताको वयानले नयाँ पुस्तालाई आफ्नो उद्देश्य नभुल्न प्रेरित गर्छ ।

किताबमा कुनै पारिवारिक विरासत नभएको, धन–दौलत नभएको व्यक्ति संघर्ष गरेर अगाडि बढ्न र सफल हुन कति बाधा व्यवधान सहनुपर्छ, त्यसमा आफ्ना प्रयासहरू कहाँकहाँ कमजोर र बलिया सावित हुन्छन् भन्ने वृत्तान्त छ । प्याकुर्‍यालले लेखेका छन्– ‘आखिर कुनै पनि पद स्थायी छैन, स्थायी छ त आफूले बनाएको आफ्नै इमेज छ । आफ्नो हैसियत एवं विश्वसनीयता बढाउने प्रयास आफैंले गर्नुपर्छ, त्यो चीरस्थायी हुन्छ ।’

प्याकुर्‍यालले नारायणगोपाल, गोपाल योञ्जन, दीप श्रेष्ठ, हरिभक्त कटुवालसँग बिताएका क्षण, उनीहरूको आनीबानी, नेपाली संगीत तथा साहित्य क्षेत्रमा उनीहरूको योगदानबारे अरूलाई थाहा नभएका धेरै प्रसंग उल्लेख गरेका छन् ।

व्यक्तिगत जीवनमा धेरै अस्तव्यस्त हुँदा धेरैको चित्त दुखाएको, मन आफूलाई माया गर्नेहरूलाई बेवास्ता गरेको, युवावयमा मोजमस्ती र साथीहरूसँगको जमघटमा पैसा सकेकामा उनले पश्चात्ताप गरेका छन् ।

‘आम्दानी जति हुन्थ्यो, उति उडाइदिन्थें, गाह्रो परेका बेला ५ हजार रूपैयाँ पनि कसैले विश्वास गर्दैनन् भन्ने मैले बुझ्नुपर्थ्यो । तर सकिनँ । आफूलाई खर्च गर्ने बेला कसैले देखाएको व्यवहार र कसैसँग आफूले सहयोगको अपेक्षा गर्दा उसबाट पाउने व्यवहारमा आकाश जमिनको फरक हुन सक्छ भन्ने करा मैले बुझ्नुपर्ने थियो । अहँ बुझिनँ,’ उनले भनेका छन् ।

उनले आफूले त्यतिबेला गल्ती गरेको स्वीकार गर्दै अरूलाई त्यो गल्ती नगर्न र आम्दानीमा स्थायीत्व आउन थालेपछि दुःख गरेर भए पनि अचल सम्पत्ति जोड्नु नेपालीको प्राथमिकता हुनुपर्ने उल्लेख गरेका छन् ।

उनले ‘जस्तै दुःख र समस्या भोग्नुपरे पनि आफ्नो उद्देश्य प्रष्ट गरेर त्यसको प्राप्तीमा क्रियाशील भए ढिलो–चाँडो सफलता हात लाग्छ’ भनेका छन् । उनका अनुसार, कुनै पनि सफलता बाधा अड्चनविना हातालागि हुँदैन ।

उनले लेखेका छन्, ‘मैले जीवनमा सबैजसो लक्ष्य कुनै न कुनै किसिमको बाधा अड्चनको सामनाविना हासिल गर्न सकेको छैन । लौ भइगयो भनेर प्रयास नगरेको भए धेरै कुरा सपनासँगै विलीन हुन्थ्यो । विफलतासँग जुधेँ, अपमानित हुँदा पनि सहनशील हुन सिकेँ, जीवनमा जहिल्यै आफ्नो उद्देश्यलाई सबैभन्दा माथि राखेँ ।

नेपाल बैंकमा बोर्ड सदस्य भएका बेला लागेको भ्रष्टाचारको आरोप, त्रिविबाट निलम्बित भएको प्रसंग, २०७२ सालमा घरमै बेहोस भएर अस्पताल भर्ना भएको, डाक्टरले भेन्टिलेटर निकालौं भनेको तेस्रो दिन होश आएर ठीक भएको, अस्पताल सञ्चालक साथीसँग सम्बन्ध बिग्रिएको लगायतका प्रसङ्ग पनि पुस्तकमा छ ।

राजदूत सेवालाई त उनले भ्रम र सपना भनेका छन् । नेपाली कांग्रेस नेतृत्वको सरकारले विभिन्न आश्वासन देखाएर सधैं निराश पारेका बेला राजदूत नियुक्तिको प्रस्ताव आउँदा स्वीकारेको उनले उल्लेख गरेका छन् ।

आफूलाई त्यो पदले आकर्षित गरेको भन्दा पनि नेपाली कांग्रेसकै पहिलेका सरकारले पटकपटक अवहेलित गरेको परिप्रेक्षमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको चाहना र डा. प्रकाशशरण महतको पहलमा एवं अनुरोधका कारण मैले यसलाई स्वीकारेको उनले उल्लेख गरेका छन् ।

एक वर्षको राजदूत अनुभवपछि उनको निश्कर्ष छ– नेपालको कुटनीतिलाई एउटा आकर्षक तर नितान्त काल्पनिक टापु बनाइएको रहेछ, जहाँ शरीर छ, तर प्राण छैन ।

उनले राजदूत हुँदा आफू धेरै अपमानित भएको महसुस गर्दै किताबमा लेखेका छन्– कसैलाई पाइलैपिच्छे अवहेलित हुन मन छ भने राजदूत हुनुपर्ने रहेछ ।

प्याकुर्‍यालले नेपालको परराष्ट्र मन्त्रालय, त्यहाँको भद्रगोल अवस्था, राष्ट्रको प्रतिनिधित्व गरेर विदेश बस्नेमाथि गर्ने व्यवहारबारे टिप्पणी गरेका छन् ।

उनले श्रीलंकाको क्यान्डीस्थित ‘इन्टरनेशनल म्युजियम अफ वल्र्ड वुद्धिजम’को भारतीय ग्यालरीमा गौतम वुद्धको जन्म भारतमा भएको भनेर लेखेको देखेर सच्याउन पहल गर्दा परराष्ट्र मन्त्रालयले बेवास्ता गरेको उल्लेख गरेका छन् ।

पुस्तकमा प्याकुर्‍यालको निजी जीवन बढी आएको छ, सार्वजनिक व्यक्तित्वको कम चर्चा छ । त्यसैले, नढाँटी लेखेको आत्मकथा भए पनि पाठकले प्याकुर्‍यालले काम गरेका सार्वजनिक संस्था र उनको विज्ञताबारे कम जानकारी पाउँछन् ।

प्याकुर्‍यालले तीनपटक त्रिविको अर्थशास्त्र विभाग प्रमुख हुँदा गरेका पहल, राजदूत हुँदा गरेका काम, दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाको परामर्शदाता बन्दाको अनुभवहरू उल्लेख गरेका छैनन् ।

प्याकुर्‍यालको आत्मकथा आफ्नै सामथ्र्यको बलमा सफलता खोज्ने युवाका लागि निकै पठनीय र प्रेरणादायी छ । केही ठाउँमा गलत तिथिमिति परेका छन् । जस्तो– पहिलो अध्यायको दोस्रो पेजमा बर्दियाको जनसंख्या उल्लेख गर्ने क्रममा सन् २०६८ भनिएको छ । त्यो विक्रम संवत् हुनुपर्छ ।

पुस्तक : आफैंलाई खोज्दा

लेखक : विश्वम्भर प्याकुर्‍याल

प्रकाशक : फाइन प्रिन्ट

मूल्य : ७०० रूपैयाँ





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>