2021-03-01Monday आलुको भारीमाथि हात समाउन आउने बाचा – Online Khabar – Hamro Nepal

आलुको भारीमाथि हात समाउन आउने बाचा – Online Khabar


तुम्बा (बडाबा) पैराने जेठाको बरखी भ्याउने गरी गाउँ फर्कूं भनेको तर, लिम्बुवान पार्टीको बन्दले फुदोङ (बरखीको अन्तिम दिन)को साँझमात्र घर पुगियो । बरखी सकेर पाहुना अनि छरछिमकेकी हिँडिसकेकाले इखाबु सिङ्सेबुङ टोल सुनसान थियो ।

तीस वर्षपछि म आफ्नो बाल्यकाल बितेको गाउँ आइपुगेको थिएँ तर रित्तोरित्तो पाएर नमिठो लागिरह्यो । आफू खेल्दै हुर्केको माराम (मूलबाटो) साँघुरिएको भान हुन्थ्यो । मारामको भित्तैभित्ता माहङ्वा खोल्साबाट माङ्यक खेतमा ल्याइएको कुलोमा खेलेर हुर्केकी मलाई आज त्यै कुलोजस्तै सुकिरहेको मनमा आफ्ना बाल्यकालका कथा उर्लिन थाल्यो । कुलो सुक्नुको कारण खेत मासेर घरैघर बनाउनु थियो, बाल्यकालका याद सुक्दै जानु समयको खेल । लाग्थ्यो, कुलो र म सँगसँगै हुर्कियौं र सँगसँगै हरायौं पनि गाउँबाट ।

त्यो कुलोमा फेरि कुलकुले पानीको जीवन फर्कने छाँट छैन, म निष्ठुरी भने एक जुगपछि गाउँ फर्केको छु र एउटा पुरानो सम्झनाले लछ्याप्पै भिजेकी छु ।

हिउँदे आलु लाउने सिजन अर्थात् माघ महिना । घरमा बाजेबोजु र ममात्रै थियौं । हिमाली भेगमा पर्ने ओलाङचुङगोला, चेने, घुन्सा लगायतका गाउँमा इखाबुबाट कोदो लगेर आलुको बिउ साटेर ल्याउनु पर्थ्यो। आलु रोप्ने समय बित्दै थियो तर गाउँमा कामको मारामारमा लाठे खेताला नपाएर बाजे चिन्तामा डुब्नु भएको थियो । एक साँझ बाजेले बोजुसँग त्यो चिन्ता पोख्दै गर्दा म चरनबाट बस्तु लिएर आइपुगें ।

मैले सुनेकी थिएँ– तल्लाघरे दिदीहरु तुम्बा र दाजुहरूसँग आलु साट्न चेने जाँदैछन् ।

थलामा बस्तु बाँधी सकेर घरभित्र पस्ने बित्तिकै बोजुले भन्नुभयो, ‘पुवा र किनामाको अचार बनाएको छु, लु खाइहाल !’

तर म नखाई तल्लो घरतिर दौडिएँ । कान्छी दिदी मुलाबारीमा साग टिप्दै थिइन् । साथी न थियो, मलाई देखेर खुसी हुँदै आँगनमा आई । मनमनै म आलु साट्न चेने जान तयार भैसकेकी थिएँ ।

‘तिमेरु भोलि बिहान आलु साट्न चेने जाने रे, हो ? मलाई पनि लानु न !’

दिदी ‘हुँ ?’ गर्दै छक्क परी ।

‘तुम्बालाई भन्नु, म पनि जान्छु ।’

जानु काम्बाङ

यति भनी राखेर ममाथि खेचाने तुम्बाको घरतिर कुदें । तुम्बा मज्जामज्जाको ढाकर र डोको बुन्नुहुन्थ्यो । सानो चिटिक्कको ढाकर तुम्बालाई मागेर ल्याई पनि हालें ।

ढाकर बिसाउँदै बोजुलाई भोलि आलु साट्न तल्लाघरेहरूसँग चेने जाने बताएँ । ‘होइन यो के भन्छ ?’ तरकारी पकाइरहेकी बोजुले पुलुक्क हेरेर भन्नुभयो, ‘तेत्रो कोदो बोकेर चार—पाँच दिनको बाटो, हिउँ टेक्दै भोटे गाउँ पुगेर, आलु साटेर ल्याउनु खेलाँची सम्झिन्छस् ? रेला नगर् है बेसी ।’

मन खिन्न भएपछि बाजेलाई योजनाको बेलीबिस्तार लगाएँ । एकछिन सोचेर बाजेले मेरो आँट जाँच्नुभयो, ‘साँच्चै जान सक्छस् त ?’

‘सक्छु ।’

‘लु, तेसो भए तीनपाथी कोदोको भारी हालिदिन्छु । खाजाचामल तयार गर्दै गर । म पैराने कान्छालाई भनेर आउँछु, बाटोमा हेरविचार गर्छ ।’

बोजु गन्गनाउँदै सातु बनाउन मकै भुट्न थाल्नुभयो । एकछिनमा तल्लाघरे माया र तेजी दिदी आइपुगे । तीन जना भएर ढाकरमा चिरिच्याट्ट भारी हाल्यौं– तीन पाथी कोदो, मकैको चामल लेकमा नपाक्ने हुनाले धानको चामल, किनिमा, नुनभुटुन, खोर्सानी र सातु ।

राति बोजुको दुई खुट्टाभित्र खुट्टा घुसारेर मजाले सुतें । बिहान सबेरै उठेर बोजुले घिउमा मेथी पड्काएर जाउलो पकाई दिनुभयो । तात्तातो जाउलो खाएर जिन्दगीमा पहिलोपल्ट ढाकर बोकेर बाटो लागें । अलिक पर मारामसम्म पुर्‍याउन बाजेबोजु पनि निस्कनुभयो ।

तल्लाघरे तुम्बा र दिदीहरु अघिअघि हुनुहुन्थ्यो ।

‘भतिजीलाई तोक्मा टेकाउन सिकाउनु है कान्छा !’ बाजेले तुम्बालाई कराई पठाउनुभयो ।

‘हुन्छ काका !’ कहिल्यै नमाझेको दाँत देखाएर तुम्बा ख्यार्र हाँस्नुभयो ।

जमानाको सिंगापुरे लाहुरे, गाउँमा पेन्सन सबैभन्दा धेरै थाप्नेमा उहाँको नाम थियो । हाँस्दा बूढो भाले बासेझैं उहाँको घोक्रो ख्यार्र कराउँथ्यो ।

ढाकर बोकेपछि म कम्ती जोसिएको थिइनँ, एक सास नबिसाई निकै टाढा छिरुवानी पुगेछु । बिहानै दोकान खुलेको थिएन । बाटोमाथि लुङ्धुङ्गेनी तुम्मा (बडीआमा) आँगन बढार्दै थिइन् । एकछिन बिसायौं हामीले ।

‘तुम्मा काली कता छ ?’

काली उनको जेठी छोरी ।

तुम्मा राई भैकन पनि लिम्बु भाषा फररै बोल्ने, जमेर धान नाच्ने ।

त्यो बेला छिरुवानीमा दुई घरमात्र थिए– बाटोमाथि कालीको, मुनि छेउघरे कल्चुँडीको । काली र कल्चुँडी उमेरले म भन्दा जेठी भए पनि हामी साह्रै मिल्थ्यौं । सँगै हाटबजार, मेलापात गथ्र्यौं ।

छिरुवानी हाम्रो पहिलो बिसौनी, पुग्नु टाढा थियो । सुर्ती खानेले सुर्ती, खैनी खानेले खैनी च्यापेपछि हिँडिहाल्यौं ।

त्यहाँबाट एकचोटि पनि नबिसाई तापेथोक पुग्यौं । तुम्बा र दिदीदाजु ढाकरको पिँधमा तोक्मा अड्याएर मज्जाले बिसाउँथे तर मैले त त्यसो गर्न जाने पो ! तापेथोक उकालोमा तोक्मा टेकाउन अलिअलि जानेँ । सिसाङ्वा पुल नकाटेसम्म त अरुले ढाकर टेकाउँथें म चाहिँ भारीलाई ड्याम्म भुईंमै बिसाउँथें ।

सिसाङ्वामा एकछिन भारी टेकाएपछि सबै बाटो लागिहाले । मलाई भने भुईंबाट भारी उठाउन महाभारत भयो । तुम्बाको काइँली छोरी माया दिदी अलिक छुच्ची स्वभावकी थिई । उसले भारी उठाउन सघाउनुको साटो मेरो अनुहार माथि ‘छुई पकन्दी…’ भन्दै गन्हाउने खुट्टा घुमाई दिई । साह्रै चित्त दुखेर आयो । कान्छी तेजी दिदीले भारी उठाउन सघाएर बाटो लाग्यौं ।

सिसाङ्वा खोला तमोर भेट्न उँधो हाम्फालिरहेको थियो, हामी उँभैउँभो लग्यौं । सोच्थें, खोलाहरु कहाँ पुग्छन् होला ? आमा भन्नुहुन्थ्यो, ‘आज बगेर गएको पानी फेरि घुम्दै अर्कै बाटोबाट जमिनभित्र बिलाउँछ र फेरि माथि खोलाको शिर पुगेर आउँछ ।’

तापेथोक पुगेपछि भने थाक्न थालें, भारी गह्रौं हुन थाल्यो । अरु लस्करै उभिएर पालाम सुसेल्दै तोक्मामाथि ढाकर टेकाए । मैले भुर्इंमा लडाएँ । त्यहाँबाट मेरो मावली फेम्बु गाउँ देख्दा उतै जाउँ–जाउँ लाग्यो ।

‘ताप्मवामा खाना खानु पर्ला !’ अलिकति थकान मिश्रित भावमा तेजु दिदी बोली । ताप्मवा गाउँमा आमाका माइती पर्ने दुई घर फेम्बु थिए ।

ख्याक …ख्याक खोक्दै तुम्बाले भन्नुभयो, ‘ल–ल, राम्रो ठाउँ भेटे खाउँला । नत्र, याङ्सिङ्बुङ उक्लिनु पर्ला । त्यहाँ चुला पनि राम्रो छ ।’

ताप्मवा काटेर ठुलो जङ्गलको बाटो छिचोल्दै हामी याङ्सिङबुङ नै चढ्यौं अनि चौतारोमा भारी बिसाएर कसैले दाउरा खोज्यौं, कसैले पानी ल्यायौं । पानी भर्न मैले ढाकरको दाँयाबाँया दुईटा जर्किन झुन्ड्याएर बोकेकी थिएँ । तुम्बा र काइँलीले खाना पकाए । हामीले तरकारी काटेर तयार पार्यौं ।

हामीले खाना खाँदा घाम अस्ताउनै लागेको थियो । ताप्मवा खोला वरिपरि विरक्तै लाग्ने गरी न्याउली रोएको सुनिन्थ्यो । पारि लेप्चुन र फेम्बुबीचको रमाइलो माने डाँडामा बस्तुभाउ चर्दै थिए । सेर्जुङका राइनी कान्छी छेमाहरू बारीमा काम गरिरहेका देखिन्थे । मलाई मेरो मावली बाजेको बिछट्ट याद आयो ।

मावलामा हुँदा म बाजेसँग तिनै वनपाखामा बस्तु चराउन जान्थें । बाख्राका कान जस्ता सुकेका पात बटुलेर बाजेलाई झुल्ला माडी दिन्थें । बाजे अलिकति झुल्लाले सेतो सानो ढुङ्गालाई च्यापेर चक्मकले रगट्दै आगो पार्नुहुन्थ्यो र खोसेलाले बेरेको सुर्ती तान्नुहुन्थ्यो । त्यसरी दर्शनढुङ्गा र फलामको घर्षणबाट आगो बाल्ने बाजे अर्गानिक वैज्ञानिक थिए— मेरा लागि ।

याङ्सिङबुङबाट हामी बिसाउन एकैचोटि लुङ्थुङको थाक्पु खोला पुग्यौं, पानी खायौं । यहाँबाट हेल्लोक र मर्गेम बीचको पुल तरेर तमोर पार गर्नुपर्थ्यो । अघि हामी हेल्लोकपट्टि हुँदा लेलेप, फेम्बु र लेप्चुङ पारि देखिन्थ्यो, अहिले हामीले खाना खाएको ठाउँ याङ्सिङबुङ, मर्गेम र हेल्लोक पारि भए ।

हामी भोटे गाउँ सेखाथुमको ठीक वारिपट्टिको तल किनारामा थियौं । थाक्पुखोला सुसाइरहेको थियो । पहिले महिनाको एकपल्ट यहाँ हाट लाग्थ्यो । फेम्बुको ठुलो घरकी तामाङ्नी बोजु यहाँ सेलरोटी बेच्न आउँथिन् ।

म मावलमा हुँदा बाजेले ति बोजुलाई ‘मेरो नातिनीलाई रोटी लगिदिनुस् है सम्धिनी’ भन्दै एक रुपैयाँ दिनुहुन्थ्यो । बोजु सुकेको भर्लाको पातमा नरम न नरम, मिठो न मिठो पाँच ओटा सेलरोटी ल्याइदिनुहुन्थ्यो । त्यस्तो मिठो सम्झना थाक्पु खोलालाई सुनाएर उँभो लाग्यौं हामी ।

जतिजति माथि गयो उतिउति चिसो लाग्न थाल्यो । सधैं प्यारो तमोर पनि जाडोले शत्रुजस्तै लाग्यो । झमक्कै साँझ पर्‍यो किसङ पुग्दा । त्योभन्दा माथि जान हिम्मत र समय दुवै भएन । एउटा ओढारमा बासको जोहो भयो । खाना त अघि याङ्सिङ्बुङमै खाएका थियौं ।

सुरुमा धेरै जाडो लागेपनि राती न्यानो भएर गलेको ज्यान भुसुक्कै निदायो । बिहान हाइ काडेको बाफलाई हातमा माड्दै तुम्बाले उर्दी लगाउनुभयो, ‘लु उठ है केटाकेटी हो, बाटो लाग्नुपर्छ ।’

ओढार बाहिर सेतै हिउँ जमेको थियो । लडीलडी कान्छी दिदीले भनी, ‘खुट्टा साह्रै दुख्यो बाउ, एकछिनमा जाउँ न…’

‘अहिले हिउँ परेर न्यानो छ । घामले बिल्न थालेपछि सारो जाडो हुन्छ । उठी हाल् ।’

तुम्बाले यति भनेपछि थाहा भयो– आधा रातपछि न्यानो हुनुको कारण ।

हामी सिसाङ्वा पुग्यौं । बेस्सरी थकान थियो । नाम्लोले थाप्लो आधा खाइसकेजस्तो लाग्थ्यो । हिँडेपछि बाटो त काटिने नै रै’छ । सिसाङ्वा खोला तरेर जसै मङ्सिरपूर्णे बजार लाग्ने ठाउँछेउ चौतारोमा पुग्यौं, म झन्डै बेहोस भएँ खुसीले

त्यहाँबाट चङ्गिम पुगेर एउटा घरमा खाना पकाई खाँदा बिहानको ११ बजेको थियो होला । जाडो कति भने खाँदाखाँदै थालको भात आधा चामल भइगयो ।

घुन्सा खोलालाई लेलेप र हेल्लोकको साँधमा छाडेर हामीले तमोरको तीर समायौं । तुम्बाले घुन्सा खोला पछ्याए घुन्सा र फले पुगिने बताउँदा मैले मनमनै अर्को वर्ष अझ ठुली भएर योभन्दा धेरै कोदो बोकी आलुको बिउ साट्न फले जाने योजना बनाएँ ।

अप्ठ्यारा खोंचहरू छिचोल्दै हामी खोलैखोला उँभैउभो हिँड्यौं । घरि तमोरको बगरैबगर, घरि मालिङ्गो–सिस्नुघारी, कहिले गुराँसघारी त कहिले बुकीले भरिएको चौर छिचोलेर हामी साँझ पर्न लाग्दा चेने पुग्यौं ।

काठैकाठका घरहरूको चेने गाउँ हिउँले खर्लप्प पुरिएको थियो । हाम्रो समूहमा सबभन्दा कम उमेरको मै थिएँ । पहिलो पटक हिउँ खेल्न पाएँ, मज्जा आयो ।

चेनेका बासिन्दा बाक्लो बक्खु लगाएर छुर्पी टोक्दै काम गरिरहेका थिए । केटाकेटीको अनुहारले पानी नदेखेको वर्ष दिन भए जस्तो लाग्थ्यो । मान्छे हिउँ जस्तै सेता, गाला भने पटपट फुटेर तपतप् रगत चुहिएला जस्ता ।

चेने चिनसंग जोडिने ओलाङचुङ गोला पुग्नुअघिको गाउँ रहेछ । हामी तुम्बाको पुरानो भोटे इष्टकोमा घरमा बस्यौं । गलेर पुगेका हामीलाई साह्रै मिठो एक—एक तोङ्बाले स्वागत गरियो । भोलि बिहान फर्कने हुनाले एक पाथी कोदोले चार पाथी आलु साट्ने काम बेलुका नै भयो ।

तीन पाथी कोदोले साटेको १२ पाथी आलु बोक्न मलाई महामुस्किल थियो, तर लोभी मनले जसरी पनि घर पुर्‍याए भनिरह्यो । धन्न, उम्रिने तयारीमा सुक्दै गएका आलुहरु ढाकर भरि भएपनि ताजाजति गह्रौं थिएनन् ।

हिँड्नेबेला घरकी बूढीआमाले भनिन्, ‘आम्मा नि… हिजो राति त अँध्यारोमा यादै भएन, यो नानी त साह्रै सानी पो रै’छ ! बरा, कसरी पुर्‍याउँछ त यत्रो भारी ?’

चेने छाडेपछि खोलासम्म ओरालैओरालो । मेरो खुट्टा भर्खर निस्केको बिजुवाको जस्तो काँप्न थाल्यो । हिँड्न सक्दिन भनौं भने ‘नसक्ने मान्छे किन आ’को त’ भनेर गाली खाईने डर । चुपचाप हिंडिरहें ।

बिहानको खाना खान मालिङ्गोघारी छेउ बाटोमा तुम्बा रोकिदा मलाई ठुलो राहत भयो । हिउँ बिलाएको पानीमा किनामा र भात पाक्न थाल्यो । त्यहाँ लेकाली पात्ले सिस्नो कम्ती थिएन । मैले टिपेर खाउँ भन्दा दिदीहरुले सातो टिपे, ‘हामी जादै गछौं, तँ एक्लै पकाएर खाँदै गर् ।’

त्यो दिन बास बस्न बलैले चङ्गिम आइपुगियो । त्योभन्दा माथिको बाटो कति अप्ठ्यारो भने हामी अस्ति चेने जाँदै गर्दा लिङ्खिमतिर बस्ने एक जना मान्छे ढाकरसँगै लडेर खुट्टा भाँचिएछ । उनलाई बोकेर झार्दै थिए । भिरपहरामा कोपेर निकालिए जस्तो बाटो कहालीलाग्दो थियो । सालिन्दा यहाँ बटुवाहरु लडेर मर्दा रहेछन् ।

निक्कै थाकेकाले हामी चियासंग सातु खाएर सुत्न लागेका थियौं । हामी जस्तै आलु साट्न हिडेका सङ्साबुका केटाहरू पल्लो घरमा वास बसेको रहेछन् । सङ्साबु दिदीहरुको मावला भएकोले उनीहरु मेरो लुङा । काइँली दिदीले कुन बेला भेटेर मसँग धान नचाउने योजना बनाइसकी छे । साइँला काकाले पल्टनबाट ल्याएको स्लिपिङ ब्यागभित्र खुट्टा घुसार्दै थिएँ, दिदीले तानेर लगिहाली । उमेर चढ्दै गरेका केटाहरु जर्‍याकजुरुक उठेर लाम लागिहाले ।

उनीहरू तीन जना । मलाई बीचमा उभ्याएर पालम भन्न थाले । म थकित भरियालाई तन्नेरी र पालामभन्दा प्यारो निद्रा थियो । उनीहरूले म गलेको महसुस गरेछन्, चाँडै सके पालाम गाएर । मेरो पालो आएपछि हात जोडेर यसको पैंचो माघे मेलामा तिर्ने बिन्ती बिसाएँ ।

भोलिपल्ट चङ्गिमबाट दिनभरमा लुङथुङ र लेलेपबीचको जङ्गलसम्म मात्र पुग्यौं । पकाई खान पानी नभएर भुटेको मकै र चिउराले च्यापु हल्लाएर ओढारमा सुत्यौं ।

एक त लखतरान अर्कोतिर प्याक्प्याक्ती तिर्खा । वनमा स्यालहरू मेरै निम्ति रुएजस्तो लाग्यो । छेउमा दिदीहरू मस्त घुरेको सुन्दा रुन मन लाग्यो । तल कतै थाक्पु खोला सुसाइरहेको मलाई थियो । अहिल्यै गएर सुक्ने गरी पिउँजस्तो लागिरह्यो । जिन्दगीमा पहिलोपल्ट मलाई रात साह्रै लामो लाग्दै थियो ।

ब्युँझदा कान्छा तुम्बा कराउँदै हुनुहुन्थ्यो, ‘लु केटाकेटी हो, बिहानभरमा यो लुङथुङको उकालो नकाटे तापेथोक पनि पुग्दैनौं है आज ।’

उठेर हामी भारी मिलाउन थाल्यौं, माइला दाजु ग्यालिन बोकेर पानी खोज्न हिँड्यो ।

‘थुक्क… यही मास्तिर रै’छ त धारा, बेकार रातभर तिर्खाउनु पर्‍यो ।’ हामी ग्यालिनमा झम्टिएको देखेर तुम्बा जोरले हाँस्नुभयो । मलाई जिन्दगीमा सबभन्दा मिठो लागेको पानी त्यै हो ।

लुङधुङ उकालोको बारीहरूमा भर्खर टिपेको लेकाली कोदोको नल धानको पाँजा जस्तै मिलाएर सुकाइएका थिए ।

‘तुम्बा, यत्रो बारी छ, मान्छे बस्ने घर चाहिँ छैन त ?’ मेरो अबोध प्रश्नमा गहिरो जवाफ आयो, ‘धेरै टाढाका गाउँबाट यहाँ खेती गर्न आउँछन् लाटी ! यहाँ घर बस्न लायक जमिन छैन, सेपिलो छ, खोंच छ । बाढीपहिरोको डर हुन्छ ।’

मेरो बुद्धिको बिर्को खुल्यो । हुन पनि सानै थिएँ । बल्ल चैतदेखि ११ वर्षमा लाग्थें । धन्न थाप्लो र कुमले १२ पाथी आलुको ढाकर धानेको थियो । खुट्टाका गोलिगाँठा फुस्केला झैं दुख्दै थियो । रपनि, सकि नसकि तुम्बाहरूलाई पछ्याइरहेकी थिएँ । उता घरमा धेरै चिन्तित हुनुहुन्थ्यो बाजेबोजु !

घरबाट हिँड्ने बेला बाजेले भन्नु भएको थियो, ‘बाउ—काका नपुगेको ठाउँ पुग्ने भइस् ।’

बस्, मलाई यही कुरामा गर्व थियो । त्यसमाथि थपिदै थियो, ‘यो साल आलु रोपेर बाजेबोजुलाई खुवाएको’ गौरव ।

पारि सेखाथुम र हेल्लोकतिर धुवाँ फुस्फुसाइरहेका घर देख्दा लाग्थ्यो, यो बेला मेरी बोजु पनि अगेनामा केही पकाउँदै हुनुहुन्छ ।

घाम माथि लाबुजेन डाँडाबाट ओरालो झर्दै थियो । त्यो इलाकाको सबभन्दा ढिलो घाम लाग्ने हेल्लोक गाउँ देखाउँदै तुम्बाले रेला गर्नुभयो, ‘छोरी हो, यो हेल्लोक ठाउँमा चाहिँ फाच्चा (पोइला) नआउनु है ! साह्रै ढिलो घाम आउँछ । मकै र भटमास मात्र फल्छ । बर्खामा घुममै जुम्रा पर्छ । दुःख हुन्छ ।’

वारिपट्टि हामीले दिनभर कपडा धुँदै भएभरको पालाम गाएर खोलालाई सुनाएको रमिता पारिपट्टि कालो अनुहार, सेतो भुत्ला भएका तन्नेरी ढेंडुहरूले नियालिरहे

तेजी दिदी मलाई हेर्दै मुसुमुसु हाँसी । ऊ हेल्लोके तन्नेरीहरुसँग धान नाच्थी ।

लेलेप मुनि पुल तरेर हामी मर्गेम उकालो लाग्यौं । उकालो सुरु हुने बेला चौतारोमा एकछिन बिसाउँदा तुम्बाले नौनारी गल्ने उर्दी जारी गर्नुभयो, ‘आज अबेलै भए पनि सिसाङ्वा पुग्नैपर्छ ।’

सिसाङ्वा त्यहाँबाट धेरै टाढा थियो ।

‘बाउ, तेत्रो टाढा पुगिन्छ होला के… ?’ कान्छी दिदी आत्तिई ।

‘किन नपुग्नु ? जत्ति पुगिन्छ । अबको बाटो राम्रो छ । घोडाजस्तो कुद्न पर्छ ।’

तुम्बाको उर्दीअघि खिन्न हुनुबाहेक अर्को उपाय हामीसँग थिएन । हाम्रो यात्राको कमान्डर तुम्बा नै हुनुहुन्थ्यो । तापेथोकमा पनि भारी बिसाउन दिनु भएन, बेला—बेला तोक्मा टेकाएर उभिनुबाहेक । परे पछि गरिदो रहेछ, म पनि तोक्मा टेकाएर उभिन सक्ने हुँदै थिएँ ।

हामी सिसाङ्वा पुग्यौं । बेस्सरी थकान थियो । नाम्लोले थाप्लो आधा खाइसकेजस्तो लाग्थ्यो । हिँडेपछि बाटो त काटिने नै रै’छ । सिसाङ्वा खोला तरेर जसै मङ्सिरपूर्णे बजार लाग्ने ठाउँछेउ चौतारोमा पुग्यौं, म झन्डै बेहोस भएँ खुसीले । त्यहाँ मलाई पर्खिरहेकी थिइन्, छिमेकी तालिमेनी तुम्मा । बाजेबोजुले मलाई सघाउन थुन्चेसहित पठाउनु भएको रहेछ । तुम्माले मेरो आधाभन्दा बढी भारी घटाई दिएपछि त बुर्कुर्सी मार्न सक्ने भइहालेँ ।

छिरुवानीमा त बाजे पनि पर्खेर बसिराख्नु भएको थियो । त्यहाँका मानिस पैकार (जाँडरक्सिको ब्यापार)बाट पनि जीविका चलाउँथे । दिन ढल्दै गएपछि खाजा (जाँडपानी) खानेहरू धेरै हुन्थे । बाजेले नातिनी चेने पुगेर आएको खुसीमा सबैलाई अघाउँजी जाँड किनी दिनुभयो । त्यो जाँड थकानमा मिसियो । घर नेर–नेर पुग्नुको आनन्द र उकुसमुकुस भयो- शरीर र मन दुवैमा ।

निक्कै अँध्यारो भैसक्दा घर पुग्यौं, बोजु मेरो लागि दूध तताएर पर्खिरहनु भएको रहेछ । बाजेले एकसेर छानुवा किनिदिएको, बोजुले एक मग दूध तताइदिइराखेको अनि मैले १२ पाथी आलु साटेको खुसी थामी नसक्ने गरी उर्लियो ।

बाजेबोजु यति खुसी कि ‘मेरो नातिनी १२ पाथी आलु बोकेर पाँच दिनमा घर आइपुग्यो’ भनेर गाउँ नै हल्लाउनुभयो । हुनपनि, नुगोदेन खेत खनजोत गरेर तयार गरिएको थियो मात्र बिउको खाँचो थियो ।

उमेरमा त थकान पनि क्षणिक हुँदो रै’छ । भोलिपल्ट बिहानै नुगोदेन खेतमा तीन डोको मल ओसारें । दिदीहरुसँग माघे मेला जाने सल्लाह भैसकेको थियो, दिउँसो नुहाइधुवाइ गर्न नुक्वा खोला गयौं । मज्जाको हिउँदे घाममा खोलाको पानी भने छुनै नसकिने चिसो । तर, रहरले तातिएको मनलाई के रोक्न सकोस् चिसो पानीले । हामी कलकल निलो खोलामा धमाधम सफासुग्घर भयौं ।

वारिपट्टि हामीले दिनभर कपडा धुँदै भएभरको पालाम गाएर खोलालाई सुनाएको रमिता पारिपट्टि कालो अनुहार, सेतो भुत्ला भएका तन्नेरी ढेंडुहरूले नियालिरहे ।

नुक्वा खोलाको शिर त्यति ठूलो त हैन तर पनि बर्खामा तर्न मुस्किल पर्छ । बाजेहरु भन्नुहुन्थ्यो, यो खोलाको शिर मानाभारा हिमाल हो । यसलाई लिम्बु भाषामा सेवालुङ भनिन्छ । उहिल्यै–उहिल्यै सानो र होचो भनी फक्ताङलुङ (कुम्भकर्ण) हिमालले हेप्दा सेवालुङले बाण हानेर फक्ताङलुङको एउटा कुम भत्काइदिएकाले लोकोक्ति छ ।

हामीले धोएका लुगाहरू कुम भत्किएजस्ता ठुल्ठुला ढुङ्गाहरूमा सुकायौं । उमेरले कान्छी भए पनि कदमा म दिदीहरूभन्दा अग्ली थिएँ । सँगै धान नाच्दा तन्नेरीहरू दिदीहरूलाई छाडी मेरो हात समाउन चाहन्थे । त्यसैले, दिदीहरू कतिपय बेला मलाई नभनी सुटुक्क धान नाच्न पुग्थे ।

यो वर्षको माघेमेला आइसकेको थियो । मेला जाने कुरो राख्न लाग्दै थिएँ, बाजेले गोजीबाट नयाँ रातो २० को नोट झिकेर दिइहाल्नुभयो ।

‘लु जा, जे मन लाग्छ किनेर खा ।’

त्योबेला गाउँमा २० रुपैयाँ धेरै ठूलो रकम थियो । खेताला जाँदा छोरीमान्छेले पाँच र लाठेले दश रुपैयाँ पाउँथे ।

अब मलाई के चाहियो ? अस्ति चेनेबाट फर्कंदा चङ्गिममा धान नाचेका सङसाबुका तन्नेरीहरूको पालामको पैंचो तिर्नु थियो । त्यसको लागि यो २० रुप्पे गजबै हुने भयो ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>