2021-02-26Friday भगवान पनि गाउँतिरै बस्छन् जस्तो लाग्छ, शहरमा त… – Online Khabar – Hamro Nepal

भगवान पनि गाउँतिरै बस्छन् जस्तो लाग्छ, शहरमा त… – Online Khabar


२० भदौ, काठमाडौं । इटहरी निवासी कवि मनु मन्जिल प्रभावशाली वाचन  र कलात्मक लेखनमा लोकप्रिय छन् । मञ्चमा कविता सुनाउनेमात्र होइन, काव्यको अन्तर्य, पूर्वकथा र सन्दर्भहरू भनेर श्रोतालाई मन्त्रमुग्ध पार्छन् उनी ।

तीन दशकदेखि कविता लेखिरहेका मन्जिल अंग्रेजीका अध्यापकसमेत हुन् ।

उनको ‘आँधीको आवेग’ र ‘ल्याम्पपोस्टबाट खसेको जून’ कवितासंग्रह प्रकाशित छ । मन्जिलसँग कविता लेखन  र व्यक्तिगत जीवनमाथि निर्भीकजंग रायमाझीले गरेको कुराकानी :

तपाईं निकै ‘वजन’का साथ मन्तव्य दिने र कविता पढ्ने गर्नुहुन्छ । मनु मन्जिलको स्वर ठूलो हो कि कविताको स्वर ?

जे बोलुँ या लेखुँ, त्यो राम्ररी गर्न पाए हुन्थ्योजस्तो लागिरहन्छ मलाई  । कविता वाचन गर्दा पनि भित्र एकदम शक्तिशाली महसुस गर्छु म । आत्मिक शक्तिको त्यही गुञ्जनलाई ‘वजन’ भनिएको होला । तर, त्यो वजनचाहिँ पाठक या स्रोताको बोधमा निर्भर गर्छ ।

म भाग्यमानी कवि यसकारण हुँ कि आजसम्म सबै स्टेजमा मायै–मायामात्र कमाएर हिँडेको छु । वाचनमा भावको शक्ति नभए मायाको त्यत्रो आर्जन सम्भव नै छैनजस्तो लाग्छ । भित्र कविता नभए गीत पनि काम लाग्दैन, संगीत पनि काम लाग्दैन, चित्र पनि काम लाग्दैन । वाचन या मन्तव्यको त के कुरा र ? गहिराइमा बीज भए न बाहिर फूल मुस्कुराउने हो ।

आवाजमा ‘बोल्डनेस’ आउनुपछाडिको कारण ? शिक्षण, राजनीति वा केही कुरा विगतका ?

यो ‘बोल्डनेस’ त अलिकति प्राकृतिक नै होला, थोरै आफैंले आर्जन गरेको आत्मविश्वास पनि होला, थोरै केही अभ्यास पनि होला । त्यहाँ काव्यको थोरै अंश पनि होला । यी सबैचिज कताकता मिलेर बन्यो होला त्यो । तर मूल कुरोचाहिँ काव्य–सभामा उपस्थित मानिस नै हो । जति ठूलो काव्य–सभा भयो, उति फुर्तिलो महसुस गरिरहेको हुन्छु म । गम्भीर मानिसहरूको प्रेमिल आँखाको एकदम लोभ लाग्छ मलाई । हातमा कविता र आँखाअगाडि गम्भीर पाठक–स्रोता भएपछि अब जादू सम्भव छ जस्तो लागिहाल्छ ।

एक अन्तवार्तामा भन्नुभएको थियो– ‘मलाई कविताचाहिँ एक लाइन पनि नलेख्ने तर समूह, गुटको धक्कु लगाउने कवि मन पर्दैन ।’ कुनै समुहसँग आबद्ध हुनु नराम्रो हो र ?

मलाई त भगवान पनि गाउँतिरै बस्छन् होलाझैं लागिरहन्छ । शहरमा त पुलिस, ग्याङ्स्टर, व्यापारी, हाकिम, नेता, ठग र करप्ट बुद्धिजीविहरूको आ–आफ्नै साम्राज्य छ

राम्रो कवि त सधैं ‘त्यो उत्तरको ध्रुवतारा’जस्तै हो, सारा तारामण्डलमा पनि उसको अलग्गै अस्तित्व र पहिचान छ । गुटमै बसे पनि ऊ हामीलाई हाम्रै होजस्तो लाग्छ । सबेरै आकाशमा एक्लै देखिँदापनि पूर्ण होजस्तो लाग्छ हामीलाई । राम्रो कवि जुन संस्कार, जुन संस्कृति, जुन भाषा या भूगोलको भएपनि, जुन गुटमा बसेपनि नबसेपनि फरक पर्दैन ।

तर, कवितै नलेखी वा साहित्य नै नलेखी ‘प्रमोसन’खोज्ने प्रवृत्ति मात्रै हानिकारक छ भनेको हुँ । साहित्यमै डुबेकाप्रति मेरो माया र प्रशंसा मात्रै छ । साहित्यलाई नै डुबाउने प्रवृत्ति त खराबै हो नि ! साहित्य भनेको चारजना जुवाडे मिलेर रातभरि कराउने खेल त होइन । तर, प्रतिभावान कविहरूले, लेखकहरूले समूह बनाएर राम्रा आविष्कार गरे, नयाँ कुरा लेखे भने त त्यसले साहित्यलाई नै योगदान गर्छ । त्यसमा के आपत्ति छ र ?

कविता लेखनमा ‘निष्ठा’को आवश्यकता पर्छ कि पर्दैन ? या कवि व्यक्तिगत जीवनमा निष्ठावान् हुन कति पर्छ ?

जसले जुन कुरा बढी सोच्छ, उसको प्रगति त्यतैतिर हुने हो । कवि निस्सिम इकेजिएल भन्नुहुन्छ– ‘अ गुड पोएट वेट्स (एक राम्रो कवि पर्खिबस्छ) । काव्यको त्यही पर्र्खाइ सायद निष्ठा हो । त्यो त संगीतको रियाज वा खेलको अभ्यासजस्तै न हो । नत्र त सिर्जनाको मानसिक वातावरण बिग्रिहाल्छ नि !

नजिकका साथीभाइले तपाईंलाई ‘एक उत्साही कवि तर बेलाबेला चाहिनेभन्दा फुर्किने’ भन्छन् नि ?

नजिककाले होइन, अलिअलि चिनेकाले भन्छन् होला त्यस्तो । म कैयन वर्षसम्म चरम अभाव, ऋण र निराशाका अनेकन चरणहरूबाट गुज्रेर आएको मानिस हुँ । म अलि ‘स्पिरिच्युअल बेन्ट अफ माइन्ड’को छु र अकारण यसै उत्साही र खुशी भैरहन्छु । भइरहन सक्छु । यो सुन्दर पृथ्वी, आकाश र जीवनलाई म सर्वदा आफ्ना उज्याला आँखाले हेरिरहन चाहन्छु । अझ कविता मनमा आएको छ भने त मन कैलाश घुमेर आएजस्तो भैरहन्छ । मलाई निराश र रिसाहा मानिसचाहिँ पटक्कै मन पर्दैन । त्यस्तो मानिस देख्यो कि अब यसले जिन्दगी डुबाउँछ जस्तो लागिहाल्छ ।

काठमाडौं आउँदा गाउँको कुरा धेरै गर्नुहुन्छ । ग्रामिण परिवेशप्रति यति मोह किन ?

मलाई त भगवान पनि गाउँतिरै बस्छन् होलाझैं लागिरहन्छ । त्यहाँका नदीनाला, वन–जंगल, खेत–खलिहान, पाखा–पखेरा, गौचरन, हुस्सु,–कुहिरो, गीत, चौतारो, छहारी, त्यहाँका निर्दोष र देवताजस्ता मानिस र ध्यानको जस्तो एकान्त छाडेर सहरमा के खानलाई आउँछ होला र ईश्वरजस्तो लाग्छ । शहरमा त पुलिस, ग्याङ्स्टर, व्यापारी, हाकिम, नेता, ठग र करप्ट बुद्धिजीविहरूको आ–आफ्नै साम्राज्य छ । भगवान सहरमा कतै भए त्यो स–साना बालबालिकासित मात्रै हिँड्दो हो ।

मेरो सारा बाल्यकाल गाउँमा नै बितेकाले होला, कुनै नयाँ र रोमाञ्चक कल्पना भेट्यो कि मन त्यसमै चढेर सुदूर गाउँमा पुगिहाल्छ । यत्रो वर्ष भयो शहरमा बसेको, अझै म यहाँको एक शरणार्थी हुँजस्तो भावना आउँछ । जता हेर्यो घरैघर, जता फर्क्यो मान्छे नै मान्छे । आँखा चिम्लेर हेर्दा पनि मान्छे नै देखिन्छ शहरमा । यहाँको सबैभन्दा शान्त ठाउँ पनि हल्लाले भरिएको छ । गाउँमै त सबथोक छ । तर, सायद गाउँमा केही पनि छैन भन्ने सोचेर नै हामी शहरमा आएर यसरी शरणार्थी बाँचेका छौं । हाम्रो जीवनमा विरोधाभास यसरी सर्वदा नाचिरहन्छ ।

क्याम्पस छँदा अरुको लागि प्रेमपत्र लेखेँ भन्नुहुन्छ । आफ्नै लागिचाहिँ कति प्रेमपत्र र प्रस्तावना लेख्नुभयो ? सोच्नुभयो ?

काठमाडौमा कलेज पढ्दा त मेरो एक किसिमले पेशा नै त्यही थियो, बिए पढ्दाताका । त्योबेला म गीत–गजल खुब लेख्थेँ र साथीहरूलाई सुनाउँथें । अनि त धनीका छोराहरू मलाई प्रेमपत्र लेखिदिन भन्थे र मेरो सारा खर्च बेहोर्थे ।

उनीहरु आफ्ना प्रेमिकासित मेरो भेट कहिल्यै गराउँदैनथे । परपरैबाट भीडतिर हराइरहेको कुनै युवती देखाउँथे । अनि म तिनै अनाम छायाहरू सम्झेर उपत्यकाको गहिरिँदै गएको साँझमा झ्यालबाट क्षितिज हेर्दै केके लेखिदिन्थेँ । लगभग तीन वर्ष त्यसरी नै चल्यो मेरो खर्च । अहिले सम्झँदा त्यस्तो के गरेको होला मैले भनेर उदेक लागेर आउँछ । तर, मेरो भाषाको परिष्कार खुब भो होला त्योबेला जस्तो पनि लाग्छ । मेरो भाषा नै त्यसपछि अलिक रहस्यमय, अलिक स्वप्निल र कवितालाई सुहाउनेखालको भएको अनुभूति हुन्छ । मैले मेरै लागि पनि लेखेँ दुई–चार चिट्ठीहरू त ! तर त्यो बेला हुलाकबाट पठाएँ, जवाफ पनि आएन, खर्च पनि आएन अनि छाडिदिएँ हेहे !

कविता वाचन गर्दै मनु मन्जिल । तस्वीर : मन्जिलको फेसबुक

कवितासँगै गद्य पनि लेख्नुहुन्छ । निबन्धमा तपाईंको बलियो नाम छ । कवितापछि तपाईंका विधा ?

कवितापछि मैले लेख्ने भनेको निबन्ध र गीत–गजल नै हो । तर म के अलिक चाहन्छु भने निबन्ध या गीतमा पनि कविताको ‘एलिमेन्ट’ होस् । निबन्ध, गीत र उपन्याससमेत कविको भाषामा लेखिएको मन पर्छ मलाई । आफूले केही लेख्दासमेत काव्यको ‘कन्टेन्ट’ आयो कि आएन भन्नेतिर मन गइरहन्छ ।

अधिकांश लेख, मन्तव्यमा बैरागी काइँला, रिमाल, कृष्णभूषण बल, मोहन कोइरालाको नाम लिनुहुन्छ, यसपछाडिको विशेष कारण ?

सम्भावनाको खोजी गर्ने मानिस एकदमै महत्त्वपूर्ण हुन्छ– साहित्यमा होस् या अन्यत्र । मैले नवीन खोजीको यस्तै प्रसङ्गमा उहाँहरूलाई सम्झेँ हुँला ।

कवि रिमालले त गद्य कविता नै नेपाली साहित्यमा भित्र्याए । आफैंले महान कविताहरू लेखे, युगान्तकारी गीतहरू लेखे । ती भयानक प्रतिभा हुन् । कवि वैरागी काइँला गम्भीर दार्शनिक पृष्ठभुमिबाट उठेका कवि हुन् । उनले विछट्टै आकर्षक, सघन भाषा र शैलीमा नवीन किसिमका बेजोड कविताहरू नेपाली साहित्यलाई दिए । कवि मोहन कोइरालाको ‘स्ट्रीम अफ कन्सस्नेस’ शैलीका लामा–लामा कविताहरू पनि हाम्रो साहित्यका उल्लेख्य नवीन प्राप्तिहरू हुन् । कवि कृष्णभूषण बलका लामा–लामा हरफका शक्तिशाली कवितामा पनि शैलीगत बेजोड नवीनता छ । लेखनमा ‘मोनोटोनी’ रोग हो । त्यसलाई कवि–लेखकले कतै न कतै ‘ब्रेक’ गर्नैपर्छ ।

तपाईंलाई मिडियामा फिट हुने गरी बोल्न सक्ने कवि मानिन्छ । मिडिया मोह धेरै भएको हो ?

मिडियामा म आफ्नै किसिमले बोल्छु । टेलिभिजन क्यामेराअगाडि बस्दा मलाई बाघको अगाडि बसिरहेजस्तै भान हुन्छ ।

अखबारका लागि इन्टरभ्यु दिँदा सबै जेजे चाहेको बोलेँ हुँलाजस्तो लाग्छ । क्यामेराअघि चाहिँ सबै कुरा छुटेको भान हुन्छ । तर, पनि कसोकसो बोल्दोचाहिँ रहेछु । पहिले–पहिले मिडियामा खुब जाऊँजस्तो लाग्थ्यो । अहिलेचाहिँ एकान्तमै काम गर्दा ज्यादा आनन्द लाग्छ ।

आन्तरिक लयबद्ध कविता बढी लेख्नुहुन्छ । तत्काल प्रभावका लागि ‘लय’ आवश्यक हुन्छ कि दीर्घकालीन सम्झनाका लागि ?

म उति तर्क–वितर्क जोडेर कविता लेख्न जान्दिनँ । कुनै ‘म्याट्रिक्स’ वा भाव आएपछि त्यसको लयबद्द विस्तारणमा काम गर्दामात्रै आनन्द लाग्छ मलाई । मैले लेख्दा अन्तरमा कतै एउटा लयले सबैकुरालाई जोडिरहेको हुन्छ । म यताउता भागिरहेका प्रतीक, बिम्ब र मिथकलाई पक्रेर लेख्दिनँ । एउटै प्रवाहमा जेजे आउँछ त्यही लेख्छु । अन्तरको लय भनेको भावको ‘अन्डरकरेन्ट’हरू बग्ने माध्यम हो । त्यो नभएको कविता ‘लाउड’ हुन्छ, बहस गरेजस्तो तर हृदयले त रेशमी स्पर्श खोजिरहेको हुन्छ नि !

जीवन र कविताको कुनै सम्बन्ध छ ?

सबै कला जीवनकै लागि हो । कविता, नाटक, संगीत–गीत, सिनेमा सबै जीवन र जगतबाटै निःसृत हुन् र जीवन–जगत् सुन्दर बनाउनकै लागि अस्तित्वमा छन् । यी सुन्दर कलाहरूले मानिसको हृदयलाई सम्बोधन गर्छन् र ब्युँझाउँछन् । कोमल हृदय भएको मानिस नै त सर्वोच्च मानिस हो नि !

आजको कविता भुत्ते भएको हो ? अर्थात्, तपाईंकै भाषामा भन्नुपर्दा ‘लाटा शब्दहरूको पिरामिड’ बनेको हो कविता ?

भन्न अप्ठेरो लाग्छ तर म अचेल यसो पढिहेर्छु कि धेरैजसो कविताले केही दिइरहेको हुँदैन । त्यस्तै रचनालाई नै मैले ‘लाटा बिम्बहरूको पिरामिड’ भनेको हुँ । भन्दा चित्त दुख्ला, तर हाम्रा कविता ज्यादा ‘लाउड’ हुँदै आएका छन् । कसैको केही हरफ कविता पढेपछि त म कुनै कल्पना या अनुभूतिमा जान पाऊँ न । बल गरेर लेखेको रचना त्यस्तो हुन्छ, एकदम निरस । संगीतले पनि भन्छ नि, तर कसरी भन्छ ? महान् चित्रकलाले कसरी भन्छ ? अहिले पनि केही राम्रा कविता लेखिएका छन् । तिनले कसरी भन्छन् ? कविता त मिहीन र अतिशय सुक्ष्म अभिव्यक्तिको लागि प्रतिष्ठित छ नि ।

सय हरफको कविता पढ्दा पनि म पाठकको निम्ति हृदयमा राखुँ लाग्ने एउटा हरफ कविता पनि नभए त समस्या भो । फेरि केका लागि मैले कविता पढ्नु ? अर्को कुरा भाषा र शैलीमा पनि त्यस्तै समस्या छ । प्रायः हरेकजसो कविताको भाषा र भन्ने शैली नै उही छ ।

सयवटा कविता पढ्दा पनि एउटा पढेकोजस्तो लाग्ने । अहिले विचारचाहिँ विविध आएको छ । साँस्कृतिक बिम्बहरू र लुकेका, हराएका मानिसका स्वरचाहिँ आकर्षक लाग्छन् मलाई । थोरै भए पनि सानदार कविताहरू आज पनि लेखिएकाले आशा गर्ने ठाउँ छ ।

कविहरूले अनेक सम्भावनाहरूको खोजी गरे नयाँ कुरा आउँथ्यो कि भन्ने हो । सुन्दा छुच्चो लागे पनि हाम्रा कविहरूले जति कम पुरानो र भुत्ते हतियार चलाउँछन् त्यति राम्रो हो । गम्भीर खेलमा सीपको काम हुन्छ । जबर्जस्तीले डुंगालाई बाढीको माझमा पु¥याउन सकिन्छ, किनारमा फर्काउन सकिँदैन ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>