2021-02-28Sunday कथा : मनसाय – Online Khabar – Hamro Nepal

कथा : मनसाय – Online Khabar


‘गुहार ! गुहार ! पुलिसले ढुङ्गाले हानेर मान्छे मार्‍यो ।’

माघको महिना । घाम नलागेको दिन । चिसो सहिनसक्नुको थियो । त्रिशुली नदीको पानी झनै चिसो थियो, बरफजस्तो । मौसम चिसो भएपनि त्यहाँको माहोल भने तराईको उष्ण गर्मीजसरी तातेको थियो । हारगुहारपछि दौडादौड गर्दै स्थानीय आए । किनारमा मान्छेको ठूलो भीड लाग्यो ।

‘के भएको यहाँ ?’ कोही भीडभित्र छिरेर सोध्दै थियो ।

‘ई…यो भएको ।’ प्रश्नकर्तालाई हातपात गरौंलाजसरी रिसायो एक युवक ।

त्यसपछि अर्काे स्थानीयले सुनायो– ‘यहीँको चिनियाँ हाइड्रोपावरमा काम गर्ने एक युवकले सामान चोरेर भाग्यो भनेर त्यहाँको कर्मचारीले प्रहरीलाई खबर गरेछ । पक्रनको लागि प्रहरीले उसलाई लखेट्यो । त्रिशुली नदीको तीरतीरै भागेको त्यो केटा उम्किनको लागि त्रिशुलीमा हाम्फालेछ । त्यहीबेला प्रहरीले नदीमा ढुङ्गा हानेछ । नदीमा ढुङ्गा हानेपछि युवक तीरमा आउन सकेन । विचरा केटो चिसो नदीमा हेलिँदाहेलिँदै मुल्ठोमा खसेर डुबेर मरेछ ।’

छिनमै स्थानीय थपिए र आक्रोशित हुँदै कराउन थाले, ‘प्रहरीको काम जनधन जोगाउने हो कि उल्टो क्षति गराउने ? कैदीको पनि बाँच्न पाउने हक छ । अपराधी नै भएपनि मान्छे मार्न त पाइँदैन नि !’

प्रहरी सब–इन्स्पेक्टरको कमाण्डमा सानो टुकडीमात्र थियो त्यहाँ । भर्खर युवकलाई लखेटेका प्रहरीहरू जनतालाई सम्झाउन खोज्दै थिए । स्थिति भयावह हुन नदिन प्रहरीले गरेको प्रयास तातो मेसिनमा पानी छम्किदिएजस्तो भयो । भीड झनै आक्रोशित हुन थाल्यो ।

‘हत्यारा प्रहरी मुर्दावाद, हत्यारा प्रशासन चाहिँदैन ! हत्यारा सरकार राजीनामा दे ! हत्यारा प्रहरीलाई त्यसै नछाडौं । हत्यारालाई हत्याकै सजाय दिनुपर्छ’जस्ता नारा लाग्न थाले ।

लगत्तै पुगेका थिए जिल्लाबाट थप प्रहरी टोली ।  प्रहरीको भ्यानलाई पछ्याउँदै पुगे पत्रकार टोली पनि । सुकेको खरको डढेलोजसरी घटना सर्वत्र फैलियो । मानवअधिकारवादीको पनि ओइरो लाग्न थाल्यो अब ।

आक्रमण गर्न तम्सेका भीडबाट बाँच्न मुस्किल भइसकेथ्यो प्रहरीहरूलाई । नजिकैको प्रहरी चौकी आगलागी भैसकेको थियो । सहायताको लागि सशस्त्र प्रहरीको टोली केहीछिनमै जिल्ला सदरमुकामबाट घटनास्थल पुग्यो । त्यतिबेलासम्म स्थानीयले प्रहरीको गाडीमा ढुङ्गामुढा गरिसकेका थिए । युवकलाई लखेट्ने प्रहरीलाई भ्यानभित्र राखेर जोगाउन खोज्दै थिए अरू प्रहरीहरू । अनियन्त्रित भीडले सुरक्षा घेरा तोड्यो र उक्त प्रहरी कर्मचारीलाई पनि घाइते बनायो ।

तुरून्तै हवाई फायर गरेर सशस्त्र प्रहरीले अरू क्षति हुनबाट जोगायो । यद्यपि स्थितिलाई नियन्त्रणमा ल्याउन हम्यहम्य पर्‍यो ।

पीडित पक्षले लाश बुझ्न मानेनन् । मृतकका आफन्त, स्थानीय र सरोकारवाला मिलेर भोलिपल्ट जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ गरे । सँगै सरकारको प्रतिपक्षमा रहेका दलका कार्यकर्ताले पनि घटनाको विरोध गरे । नारावाजी र ढुङ्गामुढाले सदरमुकामसमेत दिनभर तनावग्रस्त भयो ।

युवक हेलिएको अवस्थामा प्रहरीले नजिकैबाट ढुङ्गा हान्दा प्रत्यक्षदर्शी जोजो थिए, सबैको नाङ्गो आँखाले प्रहरीको गल्ती स्पष्ट देखिसकेको थियो । प्रहरीको गल्ती ढाकछोप हुनसक्ने अवस्था देखिन्थेन । अपराधी नै भएपनि विपदको बेला बचाउनु प्रहरीको कर्तव्य हो । तर विपदबाट उत्रिन लागिसकेको मान्छेलाई सरकारी मान्छेले नै मर्नुपर्ने अवस्थामा पुर्‍याएको स्पष्ट देखिन्थ्यो । पौडिएर किनारमा उत्रिन लागिसकेको युवक प्रहरीले नदीमा ढुङ्गा हानेकै कारण फेरि नदीमै हेलियो । चिसो नदीमा हेलिँदाहेलिँदै नदीको मुल्ठोमा खस्यो र निसास्सिएर मर्‍यो । सीधा गल्ती देखिएको थियो प्रहरीको ।

उक्त प्रहरी जागिरबाट निलम्बित हुनैपर्थ्यो । प्रहरी कार्यालयले पनि गल्ती स्वीकार गर्‍यो । कारबाही प्रक्रिया अगाडि बढायो । घाइते अवस्थाका उक्त प्रहरीको उपचार र निलम्बन एकैपटक भयो । उसको विरुद्ध उजुरी पर्‍यो । मुद्दा चल्यो । बहसमा उसले आफ्नो बयान दियो । उतिबेलाको आफ्नो ‘असली मनसाय’ सुनायो । मार्न खोजेको होइन बरु अर्कै उद्देश्यले ढुंगा हानेको बतायो ।

तर उसको कुरा कसैले मानेनन् । मनसायप्रेरित हत्या नै हो भनेर विपक्षीतर्फका वकिलले अडान राखे । अन्ततः फैसला भयो । अदालतले सजाय सुनायो– ऊ जेल गयो ।

जेल र कैदीको ड्युटी बस्ने प्रहरी अन्तमा आफैं जेल पुग्यो ।

जेलको छिँडीमा पुग्दा ऊ अर्धपागलझैं भइसकेको थियो । कसैसँग केही बोल्दैनथ्यो । जसले जेजे भनेपनि केही जवाफ फर्काउँदैनथ्यो ।

‘हेर, हेर, ज्यानमाराको गति ! रक्षकको मुखुण्डो भिरेको भक्षक !’ अधिकांशले उसलाई हेर्दै भनिरहन्थे, ‘बरू कतिपय अपराधी पनि असल हुन सक्छन् तर अपराधीलाई सुधार्नको लागि सरकारले खटाएको मान्छे झन् यस्ता ठूला अपराधी हुने रहेछन् !’

‘थुः थुः थुइक्क ।’ जेलमा परेपछि भेट्न आएका उसका बाबुले पनि भेट्नेबित्तिकै मुखमा थुक्दै भने, ‘मेरो छोरा प्रहरी हो । अपराधीलाई ठिक पार्छ भनेर गर्व गर्थें । अपराधीमा पो प्रमोशन भएछस् है ? बधाई छ छोरा । हो मैले खोजेको यस्तै हो ।’ त्यसपछि खाउँलाझैं हेरेर केहीछिन चुप बसे ।

आपतको बेला हुनाले केही नसोची सरासर तालभित्र पस्यो । अन्तमा ती महिलालाई बचाउन त यसै पनि सकेन । आफू पनि झण्डैले मरेन । बल्लतल्ल अँत्तालिदै अर्धचेत अवस्थामा किनारा लाग्न भ्यायो

‘तँलाई असल मान्छे बनाउन आफ्नो जिन्दगी खर्चिएँ ।’ केहीबेर नबोली बसेका तिनले फेरि छोराको मुखमा थुक्दै भन्न थाले, ‘असहायहरूलाई सकेको सहयोग गर्नु, आफ्नै दुस्मन भएपनि आपत–विपतमा फसेकालाई उद्धार गर्नु र सबैको भलो चिताउनु भनेर कतिचोटि भनें तँलाई ? दुनियाँमा इज्जत कमाउनुपर्छ भनेर धेरै पाठ पढाएँ ।’

‘बुझ्ने भएपछि धनसम्पति भन्दा पनि इज्जत ठूलो रहेछ भन्थिस् आफैं । आनन्द लाग्थ्यो । कमाउन त इज्जत पनि कमाइस् । छोरा प्रहरी भयो भन्दा मेरै इज्जत कहाँसम्म चुलिएको थियो । तर यो इज्जत भन्ने चीज जसले पायो उसैले कमाउन नसक्दो रहेछ । कमाउनेले जोगाउन नसक्दो रहेछ । यस्ता कुलङ्गार छोरा हुनुभन्दा त नहुनु ठिक । मेरो लागि तँ र तेरो लागि म आजदेखि मरेँ भनेर जान्नू ।’

जेलको भित्तामा लेखिएका अक्षरहरूमात्र हेरिरहेजस्तो गरेर उसले चुपचाप बाका कुराहरू सुनिरह्यो । केही बोलेन । जस्तोसुकै दुःखमा पनि नरिसाएका उसका बाका आँखा रसिला भए । त्यो पनि उसले चुपचाप हेरिरह्यो । त्यसपछि बाले उसको अनुहार हेरेनन् । सरासर त्यहाँबाट बाहिर निस्किए ।

गल्ती स्पष्ट देखिएर लामो समय जेल भोगिसक्दा पनि ऊ आफूमा स्पष्ट हुन सकिरहेको थिएन । त्यसैले अर्धहोसमा पनि भित्रभित्रै आन्दोलित हुँदै सोचिरहन्थ्यो– मेरो कुरा किन कसैले सुन्दैनन् ? मेरो मनसाय किन बुझ्न खोज्दैनन् ? मेरो मनसाय प्रेरित हत्या कसरी हुनसक्छ त्यो ? होला, ल मेरै त्यो हर्कतको कारण मर्‍यो होला तर त्यतिबेलाको मेरो मनसाय के थियो ? किन बुझ्न चाहँदैनन् ?

बा जेलबाट भाउन्निँदै हिँडेपछि उसले विगत सम्झ्यो–

****

सुनकोशीको तीर नजिकै थियो उसको घर । पुरै बाल्यकाल सुनकोशीको बगरमा खेलेर बित्यो । बाआमाले जति नै रोके पनि ऊ भागीभागी त्यतै जान्थ्यो । सधैँ उसकै मात्र गोठालो लाग्न बाआमाले भ्याउँथेनन् ।

सुनकोशीको बगरमा घरी साथीसँग मिलेर बालुवाको घर बनाउँथ्यो । घरी भत्काउँथ्यो । बर्खामा सुनकोशीले बढारेर ल्याएका मुढाहरू सँगाल्दै हिँड्थ्यो । बाआमाले जति रोक्दा पनि भागेर सुनकोशीतिरै जान्थ्यो । बाआमा छोराले पढेको देख्दा खुशी मान्थे, ऊ भने बगरबगर डुल्न पाउँदा ।

सुनकोशीले खेतबारीजति बढारेर बगर बनाएजसरी उसको भविष्य पनि बढारिएर बगरजस्तै बन्छ कि भन्ने पीर थियो बाआमालाई । राम्रोसँग नपढेर खराब मान्छे बन्ला भन्ने पीर पनि उस्तै थियो । बेलाबेला चित्त पनि बुझाउँथे– राम्रो पढेरमात्रै राम्रो मान्छे हुने भन्ने हुँदैन । पढाइ नराम्रो हुँदैमा मान्छे नराम्रो हुन्छ भन्नेपनि हुँदैन । राम्रो नराम्रो छुट्याउने त उसको आचरण र व्यवहारले हो ।

ठूलो पीरचाहिँ केमा थियो भने बाआमालाई, ठूलो भइसक्दा पनि ऊ राम्ररी पौडिन जान्दैनथ्यो । सुनकोशीमा जान पनि कहिल्यै छोड्दैनथ्यो । कुनदिन सुनकोशीको भेलले बढार्ने हो भनेर सधैँ पीर गर्थे उनीहरू ।

पौडी खेल्दा भङ्गालोको पनि तीरमा मात्रै खेल्थ्यो ऊ । भङ्गालो तर्न डराउँथ्यो । त्यसैले उसका बाआमा ठान्थे, राम्रोसँग पौडिन जानेको भए कमसेकम आपतमा ज्यान त जोगाउँथ्यो ।

हिउँदको मौसम थियो । तर खोलामा आपतविपद् आउनलाई बर्खाकै भेल आउनुपर्ने होइन रहेछ । एकदिन झण्डै उसका बाआमाले सोचेजस्तै भयो । पारी बालुवा चालेर जंघार तर्दै घर फर्किन लागेकी एक महिला सुनकोशी तर्दातर्दै चिप्लेर पछारिइन् । उनले नाम्लोको पासो लगाएर कुन्नी के बोकेकी थिइन् । त्यो नाम्लो नै तिनको पासो बनिदियो । उनी उठ्न सकिनन् । नदीले जंघारबाट तल मुल्ठोतिर खसाल्यो र तालमा लगेर डुबाउन थाल्यो ।

त्यतै कतै थियो ऊ । महिलालाई बचाउन दौडेर तालमा पस्यो । उसलाई ताल त्यति धेरै गहिरोजस्तो लागेको थिएन । पौडिन राम्ररी नजानेकोले अरूबेला तालभित्र पस्न डराउँथ्यो । तर आपतको बेला हुनाले केही नसोची सरासर तालभित्र पस्यो । अन्तमा ती महिलालाई बचाउन त यसै पनि सकेन । आफू पनि झण्डैले मरेन । बल्लतल्ल अँत्तालिदै अर्धचेत अवस्थामा किनारा लाग्न भ्यायो ।

त्यसपछि अरू मान्छे आएर उसलाई छिटोछिटो कृत्रिम श्वासप्रश्वास दिए । गर्भवतीको जस्तो भैसकेको थियो पेट फुलेर । नाक र मुखबाट पानी छदाइदिए । घर फर्कदैँ गर्दा उसलाई सम्झाउँदै गाउँको मास्टरले भन्यो– ‘नदीको आदत नै यस्तै हो, आफू सङ्लो भएकै बेला पनि अरूको जिन्दगी धमिल्याइदिन्छ । त्यसैले नदीदेखि सधैं डराउनुपर्छ ।’

यो कुरा थाहा पाएका बेलापनि बा’ले खुब गाली गरेथे उसलाई ।

‘पौडिन राम्ररी नजान्ने मान्छे त्यति गहिरो तालभित्र पस्न हुन्छ ? आफू सुरक्षित भएर हो अरूलाई बचाउन सकिने । त्यो ताल कति गहिरो छ भनेर थाहा थिएन तँलाई ?’

त्यसपछि सम्झाउँदै सिकाएथे–

‘सङ्लो हुँदैमा वा भुइँ देखिँदैमा पाखाबाट हेरेर तालको गहिराइ थाहा हुन्न । हेर्दा भुइँ नजिकै देखिन्छ । तर गहिरो हुनसक्छ । त्यसैले वरीपरी लामो भाटो छ भने गाढेर हेर्नुपर्छ । नभए ढुङ्गा फ्याँकेर पनि तालको गहिराइ अड्कल गर्न सकिन्छ । पौडिन नजान्नेले यत्तिकै पस्नु हुँदैन लाटा !’

त्यो दिनदेखि ऊ नदीमा पस्न डराउँथ्यो । सानो भङ्गालोमा पस्नुअघि पनि गहिरो पो छ कि भन्दै ढुङ्गा हान्थ्यो ।

कारागारको सानो झ्याललाई हातले समाउँदै उसले सम्झ्यो, बाले सिकाएको कुरा । किनारमा बसेर नदीको गहिराइ अड्कल गर्ने तरिका । र सम्झ्यो, युवकलाई बचाउन नदीमा पस्नुअघि नदीको गहिराइ अड्कल गर्न ढुङ्गा हानेको कुरा ।

यस्तै सम्झँदासम्झँदै अन्तमा सोच्यो– राम्रो गर्न खोजेर पनि जीवनमा राम्रो गर्न नसकिने रहेछ । बस, त्यसको लागि परिस्थितिले पनि साथ दिनुपर्नेरहेछ । जसरी उतिबेला ती महिलालाई बचाउन खोजेर बचाउन सकिनँ । उसैगरी पछि त्यो युवकलाई चाहेर पनि बचाउन सकिनँ ।

सोच्दासोच्दै ऊ निराश भयो र आफूले सधैं हेरिरहने जेलको भित्तामा लेखिएको अक्षरतिर फेरि हेर्‍यो, जहाँ नीलो इनामेलले लेखिएको थियो–

‘राम्रो गरिरहनेले जिन्दगीमा राम्रै प्रतिफल पाउँछ भन्ने हुँदैन । कसलाई कहाँ पुर्‍याउने भन्ने कुरा परिस्थितिको हातमा हुन्छ । परिस्थितिले पनि धेरै फेरबदल ल्याइदिन्छ जिन्दगीमा ।’

त्यसैको थोरै तल हरियो इनामेलले लेखिएको थियो– ‘नराम्रो सोचेर कसैलाई राम्रो नगर्नू । राम्रो सोचेर, देख्दा नराम्रोजस्तो लाग्ने काम पनि नगर्नु, किनकि दुनियाँले तिम्रो मनसाय बुझ्दैन ।’

अब भने ऊ केही शान्त देखियो । अनि गम्भीर भएको मुहारलाई राहत दिँदै लामो श्वास फेर्‍यो ।

(पाण्डे ‘सइन’ उपन्यासका लेखक हुन्)





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>