2021-03-01Monday वीरगञ्जमा राजनीति धेरै भयो, मुख्यमन्त्रीले पनि सहयोग गर्न सक्नुभएन – Online Khabar – Hamro Nepal

वीरगञ्जमा राजनीति धेरै भयो, मुख्यमन्त्रीले पनि सहयोग गर्न सक्नुभएन – Online Khabar


८ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएको २८ दिनपछि उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ र, उनी होम आइसोलेसनमा छन् ।

काठमाडौं जाने क्रममा विरामी भएपछि पीसीआर परिक्षण गर्दा साउन १४ गतेसंक्रमण पुष्टि भएको थियो । १२ दिन अस्पतालको सघन उपचार कक्षमा र त्यसपछि आइसोलेसनमा बसे । उनको परिवारका सबै सदस्यमा संक्रमण देखियो । अहिले उनका बुबा बाहेकसबै सदस्य कोरोनामुक्त भइसकेका छन् ।

आफू कोरोनामुक्त भएपछि मेयर सरावगी फेरि काममा जुट्ने तयारीमा छन् र, वीरगञ्ज महानगरलाई कोराना मुक्त बनाउन चाहन्छन् । संक्रमित भएपछि झलेको तनाव र अबको योजनाबारे मेयर सराबगीको भनाइ उनकै शब्दमाः

जीवनमै ठूलो मानसिक तनाव

नगर विकास कोषको बैठकका लागि साउन १२ गते काठमाडौं गएको थिएँ । बाटोमा ज्वरो आउन थाल्यो, तर कोरोनाको शंका लागेन । भाइरल ज्वरो आयो होला भन्ने लाग्यो । मेडिसिटीको फिभर क्लिनिकमा देखाएँ । तर उनीहरुले कोरोनाको शंका गरेर उपचार शुरु गरे । रिपोर्ट आउनुअघि नै भर्ना गरिसकेका थिए । साउन १४ गते बुधबार पीसीआर रिपोर्ट पोजेटिभ आयो ।

मलाई अरु लक्षण देखिएको थिएन, तर सिटी स्क्यान गर्दा फोक्सोमा संक्रमण देखियो । त्यसपछि १२ दिनसम्म लगातार आईसीयूमा राखेर उपचार गरियो । रेमडिसिभिर चलाइयो । चिकित्सकहरुले विभिन्न उपचार पद्धति अपनाए र, १२ दिनपछि फेरि सिटी स्यान गरेर हेर्दा छातीको संक्रमण ठीक भएको रहेछ ।

त्यसपछि स्टार अस्पतालले सोल्टी होटलमा बनाएको आइसोलेसन सेन्टरमा केही दिन बसेँ । त्यहाँ पनि चिकित्सकको निगरानीमा थिएँ । १२ दिनसम्म स्ट्योराइड चलायो । त्यसले सुगरको मात्रा बढ्नुका साथै अरु पारामिटरमा फरक पर्ने रहेछ । त्यसैले पारामिटरहरु के कस्तो छ भनेर एक/दुई घण्टामा आफैं चेक गर्थे । आवश्यक पर्दा डाक्टर आएर हेर्थे । एक प्रकारले अस्पतालजस्तै थियो ।

आफू संक्रमित हुँदा मलाई खासै तनाव भएको थिएन । तर परिवार सबै एकै पटक संक्रमित भएको थाहा भएपछि गाह्रो भयो । ७८ वर्षको बुबा र आमामा दीर्घ रोग थियो । उहाँहरुसहित परिवारका सदस्यको व्यवस्थापन निकै चुनौतिपूर्ण बन्यो । संक्रमित भनेपछि हेलिकप्टर पनि वीरगञ्ज जान मानेन । जोखिम मोलेर एम्बुलेन्समै काठमाडौं ल्यायौं । केहीलाई ग्राण्डीलाई, केहिलाई सोल्टीमा राख्यौं । अहिले बुवा बाहेक सबै सदस्य संक्रमणमुक्त छन् । बुबाको भने अहिले पनि ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मलाई संक्रमणमुक्त हुन २८ दिन लाग्यो । निकै तनावमा भएका कारण पनि संक्रमणमुक्त हुन यति लामो समय लाग्यो जस्तो लाग्छ । किनकी मलाई लाग्थ्यो, मेरो कारण परिवार खतरामा गर्‍यो, कसैलाई केही भए जिन्दगीभर अफसोच हुनेछ । संक्रमणमुक्त भएपछि वीरगञ्ज आएर होम आइसोलेसनमा बसेँ । यहाँको वातावरणले मलाई मानसिक र शारीरिक रुपमा बलियो बनाएको छ । यद्यपि बुबाको स्वास्थ्य ठीक नहुँदासम्म केही चिन्ता रहन्छ नै ।

को आफ्नो, पराई चिन्ने मौका पाएँ

संक्रमित भएर १२ दिनसम्म आइसोलेसनमा बस्दा पनि मैले परिवारका सदस्यलाई धेरै बताएको थिइनँ । उनीहरुलाई मानसिक तनाव नहोस् भन्ने चाहन्थेँ । तर केहीले सामाजिक सञ्जाल र अनलाइनमा समाचार हालेछन् । त्यसपछि छोरालाई महसुस भएछ कि बुवालाई निकै गाह्रो भइरहेको छ । त्यसले ऊ पनि निकै तनावमा बस्यो र, कोरोनामुक्त हुन उनलाई २४ दिन लाग्यो ।

मेरो स्वास्थ्य अवस्थाबारे कसरी सूचना चुहियो ? यसबारे अनुसन्धान गर्न म सरकारसँग माग गर्छु । किनकी त्यसले मैले र मेरो परिवारलाई निकै मानसिक यतना भएको छ । दुश्मनलाई पनि यस्तो नहोस्, जुन पीडाबाट हामी गुज्रियौं ।

तर यो महामारीले मलाई को आफ्नो, को पराई भन्ने चिन्ने मौका पनि दिएको छ ।

पछिल्लो चार महिना मैले आफ्नो खुन सुकाएर काम गरेको थिएँ । कहिल्यै पछाडि बसिन, फिल्डमा गएँ, जनताको सेवामा जुटे । त्यसबेला कतिपयले मेरो काम देखेनन्, बरु अपजस दिए ।

त्यसले मेरो उर्जामा ठेस लगाउने काम गर्थ्यो । तर म र मेरो परिवार अप्ठ्यारोमा परेका बेला वीरगञ्जका जनता र शुभेच्छुकबाट धेरै माया दिनुभयो । त्यही मायाको बलमा हामी कोरोनामुक्त भएका छौं ।

अबका पाँच प्राथमिकता

कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि १४ दिन होम आइसोलेसनमा बस्नुस् भनिएको छ । त्यसले म पनि होम आइसोलेसनमा छु । तर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर वीरगञ्जको वस्तुस्थिति नियाल्ने प्रयास पनि गर्दैछु ।

२८ दिनमा केके भयो भन्ने धेरै मलाई थाहा छैन, तर अहिले पनि संक्रमण नियन्त्रणमा आएको देखिन्न ।

त्यसैले कसरी बढीभन्दा बढी आइसोलेसन वेड व्यवस्था गर्न सकिन्छ भनेर हेर्दैछु । आइसोलेसनमा पनि स्थापना र व्यवस्थापन दुईवटा पाटो हुन्छ । जहाँ–जहाँ आवश्यकता छ, वीरगञ्ज महानगरपालिकाले त्यहाँ स्थापना गर्छ । तर सञ्चालन नेपाल सरकारले गर्नुपर्छ । महानगरले मात्र सबै खर्च बेहोर्न सक्दैन ।

दोस्रो, भारतबाट हुने अवैध आवागमन रोक्नु मेरो र महानगरको प्राथमिकतामा परेको छ । सबैजना मुख्य नाका प्रयोग गरेर आउन्, ताकी क्वारेन्टिनमा राख्न सकियोस् । लुकिछिपी आउनेहरुबाटै समस्या बढेछ । त्यसैले सीमामा कसरी कडाई गर्न सकिन्छ भनेर सुरक्षा निकायसँग समन्वय गर्दैछौं ।

तेस्रो, अस्पताल तथा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको उपचारमा उच्चतम व्यवस्था । केन्द्र र प्रदेशको मुख ताक्दैनौं, जसरी हामीले पीसीआर मेसिन खरिद गर्‍यौं, त्यसरी नै भेन्टिलेटरलगायतको उपचार व्यवस्था मिलाउँछौं । अरु जनतासँग विमुख हुन सक्छन्, महानगर सक्दैन ।

चौथो, हामीले एक घर एक पीसीआर टेष्ट भनेका थियौं । त्यसमा थोरै परिमार्जित गरेर जहाँ आवश्यक छ, त्यहाँ सबैको टेष्ट गर्छौं । दैनिक १ हजार पीसीआर परीक्षण गर्ने वातावरण मिलाउँछु । र, कन्ट्याक्ट ट्रेसिङ लगायतलाई प्रभावकारी बनाउन महानगर, नारायणी अस्पताल, जिल्ला जनस्वास्थ्य, नेपाली सेना सबै टिम मिलाएर टास्क फोर्स जस्तै बनाउने सोच बनाएको छु ।

पाँचौं, खान नपाएकाहरुलाई राहत । राहत सामग्री वितरणका लागि महानगरले स्थानीय प्रशासनसँग समन्वय गर्छ । औषधिलगायतका सामग्री पनि दिन्छौं । आवश्यक कर्मचारी केन्द्र र प्रदेश सरकारसँग मागेका छौं । करारमा लिएर भएपनि काम गर्छौं । कोभिड नियन्त्रणका विषयमा कुनै काम बाँकी राख्दैन ।

मुख्यमन्त्रीले पनि सक्नु भएन

केन्द्र र प्रदेश सरकारलाई धेरै गुहार गर्‍यौं, तर पूर्ण रुपमा वेवास्ता गरे जस्तो महशुस भएको छ ।

वीरगञ्जका लागि प्रदेश मुख्यमन्त्रीले पनि आवश्यक सहयोग गर्न सक्नुभएन । संघीय र प्रदेश सांसदहरुले पनि आवश्यक पहल गर्न किन सक्नुभएन भन्ने प्रश्न मनमा छ ।

वीरगञ्जको अहिलेको अवस्था आउनुमा उहाँहरुले दोष लिने कि नलिने ? प्रजिअ र मेसुलाई पैसा दिन सक्नेहरुले महानगरलाई किन सहयोग गर्नुभएन ? यसको जवाफ उहाँहरुले जनतालाई दिनुपर्छ ।

वीरगञ्जमा राजनीति पनि धेरै भयो । सुरुमा नारायणी अस्पतालमा मात्र कोरोना संक्रमितको उपचार हुन्थ्यो । राजनीतिक दलले नै नारायणीलाई जनरल अस्पताल बनाउनुपर्‍यो भनेर माग अघि सारे । हामीले गण्डकलाई कोभिड अस्पताल बनाउन पहल गर्‍यौं । २८ दिनसम्म हामीलाई अनुमति दिइएन । त्यसपछि पनि आर्थिक र भौतिक खर्च वीरगञ्ज महानगरले नै बेहोर्ने भनेर लेखेर दियो ।

पीसीआर मेसिन, एक घर एक परीक्षणको नीति ल्याउँदा पनि राजनीति भयो । महानगरको हरेक काममा अवरोध गर्ने प्रयास भयो । महामारीमा यति धेरै राजनीति नभएको भए, प्रशासन, राजनीतिक दल र सबैले साथ दिएको भए वीरगञ्जले आज यो दुर्दशा भोग्नु पर्दैनथ्यो ।

आज पनि मेरो आग्रह छ, विगतका गल्तीबाट पाठ सिकौं र वीरगञ्जलाई ग्रिनजोन बनाउन हातेमालो गरौं । सबैलाई साथमा लिएर महानगर अगाडि बढ्न तयार छ । कोरोनामुक्त भएको छु र जनसेवामा खट्न म तयार छु ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>