
अधिकतम् मूल्य निर्धारणले पानी सस्तियो कि मँहगियो ? – Online Khabar
२६, साउन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार प्रशोधित बोतलबन्द पिउने पानीको अधिकतम् सर्मथन मूल्य तोकेको छ । भदौ १० गतेबाट काठमाडौं उपत्याकाका तीन र काभ्रे जिल्लाका पानी उद्योगमा लागू हुने नयाँ मूल्यअनुसार एक जार पानीलाई अधिकतम् ५० रुपैयाँ र एक बोतल पानीलाई उपभोक्ताले १६ रुपैयाँ तिर्नुपर्छ ।
विभागले सोमबार तोकेकोभन्दा बढी मूल्यमा पानी बिक्री गरे उपभोक्ता ठगिको कानुन अनुसार कारबाही गरिने विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले बताए ।
२०७३ सालमा तत्कालीन वाणिज्य सचिव प्रेमकुमार राई संयोजकत्वको टोलीले पहिलोपटक तोकेको अधिकतम् मूल्यको आधारमा नयाँ मूल्य निर्धारण गरिएको र यो पहिलो प्रयास भएको विभागले जनाएको छ ।
प्रशोधित पानीको प्रयोग र सहरका आधारमा अधिकतम् खुद्रा मूल्य तोक्ने कार्यलाई देशव्यापी बनाउने विभागको दाबी छ ।
पानीको भाउ महँगियो कि सस्तियो ?
पानीको भाउमा एक रुपता नभएको र गुणस्तरमा पनि उपभोक्ता ठगिएपछि पानीको एमआरपी निर्धारण गरिएको विभागको दाबी छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा विभागले गरेको दाबीअनुसार एक लिटरको बोत्तलको पिउने पानीमा नयाँ मूल्य निर्धारण पछि उपभोक्तालाई प्रतिबोत्तल चार रुपैयाँ बचत भएको छ भने जारको पानीमा प्रतिजार १० रुपैयाँ सस्तीएको छ । तर विभागको यो दाबी बजार मूल्यको आधारमा आधा मात्रै सत्य हो ।
विभागले पानीको एमआरपी निर्धारण गर्दा एक लिटरको बोत्तलको पानीमा हालको बजारको चल्तीको भाउ र जारको पानीमा ०७३ सालको मन्त्रालयको निर्णयलाई आधार मानेको छ ।
जुनसुकै ब्राण्डको पानीलाई सामान्यत २० रुपैयाँ पर्ने बजार मूल्यलाई आधार मान्ने हो भने एक लिटरको पानीमा उपभोक्तालई राहत मिले पनि जारको पानीमा भने बजार मूल्य भन्दा मँहगो खुद्रा मूल्य विभागले तोकिदिएको छ ।
एक उपभोक्ता अधिरकारकर्मीकाअनुसार काठमाडौं उपत्याकामा एक जार पानीलाई अधिकतम् ४० रुपैयाँ मात्रै पर्छ । जबकी विभागले सोमबारदेखि एक जार पानीको अधिकतम् खुद्रा मूल्य १० रुपैयाँ बढाएर ५० रुपैयाँ तोकिदिएको छ ।
‘बोत्तलको पानीमा घटाएको ४ रुपैयाँको दोब्बर नाफा जारमा जोडिएको छ,’ ति अधिकारकर्मीले भने ।
बोतलको बनावटकै भरमा बढी मूल्य सुनिश्चित
पानीको न्यूनतम् मूल्य निर्धारण गर्दै गर्दा वाणिज्य विभागले गरेको एउटा तर्क गज्जबको छ । त्यो हो बोत्तलको बनाउटको आधारमा पानीको दोहोरो मूल्य कायम ।
एउटै मूल र उही प्रकृतिको प्रशोधन मेशिनबाट उत्पादन हुने पानीलाई विभागले साधरण र पि्रमियम भनेर मूल्य तोकिदिएको छ ।
विभागले तोकेको नयाँ मूल्य साधरण पानीको भएको र पि्रमियम पानीमा उक्त अधिकतम् खूद्रा मूल्य लार्गू नहुने विभागका महानिर्देशक सुवेदी बताउँछन् ।
पत्रकार सम्मलनमै नेपाल वोटल वाटर उद्योग संघले पत्रकारलाई बाँडेको विज्ञप्तिअनुसार पि्रमियम लेेखेको एक लिटरको बोत्तल २० रुपैयाँ भन्दा बढी (हाल बिक्रि भईरहेको) मूल्यमा र २० लिटरको जारले प्रतिजार ६० भन्दा माथीमा पानी बिक्रि गर्न पाउने उल्लेख छ । जसले गर्दा पानीको बोतल फेरेर पि्रमियमको नाममा उपभोक्ता ठगी मौलाउने उपभोक्ता अधिकारकर्मीको तर्क छ ।
सस्तोमा पानी बेच्न नपाउने
काठमाडौं उपत्याकामा मात्रै झण्डै दुई सयको हाराहारीमा प्रशोधित पिउने पानी उत्पादक कम्पनी रहेको व्यवसायीहरु बताउँछन् । उत्पादन बढेसंगै खुल्ला बजारमा ग्राहक तान्न खासगथरी जारको पानीको मूल्यमा निकै प्रतिस्पर्धा रहेको नेपाल वोटल वाटर उद्योग संघका उपाध्यक्ष गोकर्ण सिलवाल बताउँछन् ।
जसले गर्दा प्रतिजार ३५ रुपैयाँमा नै उपभोक्ताले पानी पाउने अवस्था खुल्ला बजारमा बनेको छ ।
‘मेरो उद्योगको पानी म प्रतिजार ३५ रुपैयाँमै उपभोक्तालाई दिन सक्छु,’ सिलवालले भने ‘तर केही उद्योगीको लबिङमा मैले ३५ रुपैयाँ पानी बेच्न नसक्ने गरी मूल्य निर्धाराण भएको छ ।’
तर वाणिज्य विभागको अध्ययन कार्यदलका संयोजक सागर मिश्र व्यवसायीको यो तर्कलाई अस्वीकार गर्छन् । पानी उत्पादक उद्योगी र उपभोक्ताको बीचमा रहेको बिचौलीयको ठूलो खाडललाई चिर्न विभागको निर्णय महत्वपूर्ण भएको उनको दाबी छ ।
पि्रमियम पानी बिक्रेता थोरै रहेको र उनीहरुसंगको छलफलमा विभाग भएको भन्दै निर्देशक मिश्रले त्यस्ता पानीको पनि मूल्य तोकिने बताए ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More