
ओली -प्रचण्ड आआफ्नै अडानमा, भोलिको वार्तामा नेपाल पनि बस्ने – Online Khabar
३१ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अआफ्नो अडानमा रहँदा बुधवार करिव ३ घण्टाको छलफल विना निष्कर्ष टुंगिएको छ ।
साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति कायम गर्ने प्रयास स्वरुप प्रचण्ड बालुवाटार पुगेका थिए । बुधबार भएको छलफलमा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।
छलफल सकारात्मक भएपनि कुनै सहमति नभएको बालुवाटार स्रोतले जनाएको छ । प्रधामन्त्री ओलीले पार्टीको कार्यभार प्रचण्डले सम्हाल्ने गरी अन्य विषयमा सहमति कायम गर्न प्रस्ताव गरेका छन् । तर अर्का अध्यक्ष प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने जेठ २ को समझदारीमा फर्किनुपर्ने अडानमा छन् ।
प्रधानमन्त्री ओली मंसिर ४ मा भएको (पाँच वर्षे कार्यकालभर ओली प्रधानमन्त्री हुने र प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष हुने) समझदारीले जेठ २ को समझदारी खारेज भइसकेकाले पार्टीको एकल कमाण्ड लिन प्रचण्डलाई आग्रह गरेका छन् ।
सरकार सञ्चालन गर्दा दुई अध्यक्षसहित वरिष्ठ नेता माधव नेपाललाई समेत विश्वासमा लिने, मन्त्रिपरिषद र प्रदेश सरकार समेत पुनर्गठन गर्ने उनको प्रस्ताव छ । तर प्रचण्ड भने प्रधानमन्त्रीको राजिनामाकै पक्षमा छन् । ‘प्रधानमन्त्रीले प्रधानमन्त्री चुनावपछि हुनु होला, छिटो महाधिवेशन गरेर अध्यक्ष पनि हुनुहोला भन्ने पुरानै अडान दोहोर्याउनुभयो’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुस् भन्नुभयो । आज पनि कुरा मिलेको छैन ।’
नेकपा नेताहरुका अनुसार सचिवालयको बहुमत सदस्यहरु वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल पनि प्रचण्डले लिएको अडानको पक्षमा छन् ।
स्थायी कमिटीमा पनि प्रचण्ड-नेपाल पक्षकै बहुमत छ । उनीहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने मत राखेका छन् । तर बहुमतले निर्णय गर्दै प्राधानमन्त्री ओलीले पख नछाड्ने, बरु पार्टी विभाजन हुनसक्ने खतरा बढेपछि स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्ष वार्तामा जुटेका हुन् ।
नेताहरुका अनुसार भोलि पनि वार्ता हुनेछ । दुई अध्यक्षबीच सौहाद्रपूर्ण छलफल भएको र बिहीबार पनि सहमतिको प्रयासमा वार्ता हुने महासचिव पौडेलले बताए । ‘उहाँहरुबीच सकारात्मक कुराकानी भएको छ, तर निष्कर्षमा पुगिसक्नुभएको छैन’ पौडेलले अनलाइनखबरसँग भने, ‘उहाँहरुबीच भोलि पुनः छलफल हुन्छ । पार्टीको आन्तरिक जीवनमा उत्पन्न समस्या समाधान गर्दै पार्टी एकताको रक्षा गर्न हामी सफल हुनेछौं ।’
स्रोतका अनुसार प्रचण्डले भोलिको वार्तामा वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत लिएर आउने जानकारी अर्का अध्यक्ष एवं कप्रधानमन्त्री ओलीलाई दिएका छन् । यद्यपि सहमतिको सम्भावना भने कम रहेको एक नेताले बताए ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More