
मालपोत कार्यालयमा भीडभाड, पाँच दिनमै ३० करोड राजश्व संकलन – Online Khabar
८ असार, काठमाडौं । चावहिलस्थित मालपोत कार्यालयमा पुग्नुभयो भने तपाईंले एकछिनका लागि कोरोना भाइरस बिर्सिनुहुनेछ । सेवाग्राहीको निधारमा थर्मल गन तेस्र्याउने बाहेक यहाँ कुनै पनि सतर्कता अपनाइएको पाइँदैन ।
आइतबार अनलाइनखबरको टोली मालपोत कार्यालयमा पुग्दा मालपोत भवनको अगाडि कानून व्यवसायीको र्फममा सेवाग्राही भरिभराऊ थिए । कार्यालय प्रवेश गर्ने मुख्य द्वारमा पनि भिडभाड थियो । प्रवेशद्वारमा बसेका सुरक्षा गार्डले सेवाग्राहीको निधारमा थर्मल गन तेर्स्याएर तापक्रम नाप्थे । हातमा २ थोपा स्यानिटाइजर चुहाइदिन्थे र भित्र पठाउँथे ।
बाहिर मात्र होइन, भित्र हाकिमको चेम्बरमा समेत मानिसहरु झुरुप्प थिए । त्यहाँ सामाजिक दुरीको कसैलाई मतलव नभएको जस्तो भान हुन्थ्यो । दुरी कायम गर्न सम्भवै थिएन । कार्यालय प्रवेश गर्ने बाटो साँघुरो भएका कारण ठेलमठेल गर्दै भित्र पस्नुपर्ने अवस्था देखिन्थ्यो ।
चावहिल मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कलकबहादुर खड्कालाई भ्याई-नभ्याई थियो । उनको टेवलभरि फाइलहरु थुपि्रएका थिए । हस्ताक्षर गरेर फुर्सदै थिएन । उनलाई हामीले कार्यालयको सेवा प्रवाहबारे थोरै जिज्ञासा राख्न खोज्यौं ।
‘म अहिले बोल्न भ्याउदिनँ,’ कार्यालय प्रमुख खड्काले जवाफ दिए । तर, हामीले केहीबेर पर्खेपछि उनी एकैछिन खाली भए ।
‘मेरोमा पाँचजना अफिसर हुनुहुन्छ, तर आज ममात्रै छु,’ उनले टेवलमा थुप्रिएका फाइलहरु देखाउँदै भने, ‘सबै अफिसरले गर्नुपर्ने काम म एक्लैले गरिरहेको छु ।’
‘अनि अरु अधिकृतहरुचाहिँ किन आउनुभएन त ?’ हामीले जिज्ञासा राख्यौं । उनले लकडाउनमा गाउँ गएकाहरु आउन नसकेको बताए ।
खड्काका अनुसार सेवाग्राहीको भीड दिनदिनै बढ्न थालेको छ । सरकारले बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरेर २ सिफ्टमा सेवा दिने निर्णय गरेको छ । तर, बिहानदेखि बेलुकासम्म उही कर्मचारी खटिइरहेका खड्काले बताए ।
‘बिहान ८ बजे कार्यालय आएका कर्मचारी पनि साँझ ६ बजे घर जान्छन्,’ उनले भने, ‘२ सिफ्टमा चलाउने भए त २ जना हाकिम चाहियो, कर्मचारी पनि दोब्बर चाहियो नि ।’
सेवाग्राहीहरु मध्ये सबैभन्दा धेरै जग्गा रोक्का फुकुवा गर्न आउने गरेका छन् । राजीनामा पास गर्नेहरु पनि आउँछन् ।
०००
भूमिसुधार तथा मालपोत कार्यालय डिल्ली बजारमा पनि हामी पुग्यौं ।
तुलनात्मक हिसाबले चावहिल मालपोतको भन्दा डिल्लीबजारमा भीड कम थियो । कोभिड-१९ बाट जोगिन यहाँ अलि राम्रै सुरक्षा सतर्कता अपनाइएको पाइयो ।
मुख्य प्रवेशद्वारमा ज्वरो नाप्ने, स्यानिटाइजर लगाउने मात्रै होइन, दूरी कायम गर्न रेखांकन समेत गरिएको रहेछ । प्रवेश गर्ने र निस्कने बाटो पनि छुट्टाछुट्टै बनाइएको थियो ।
डिल्लीबजार कार्यालयका कामु कार्यालय प्रमुख बुद्धिबहादुर कार्कीले लकडाउन यता दिनप्रतिदिन सेवाग्राहीहरुको संख्या बढ्दो क्रममा रहेको बताए ।
चावहिलमा जस्तै यहाँ पनि बिहानदेखि साँझसम्म एकै सिफ्टमा कार्यालय सञ्चालनमा छन् । अधिकृत कार्की बिहान ८ बजे नै आउँछन् । अन्य कर्मचारीहरु प्राय ८ बजे आउँछन् । कोही ढिला गर्छन् । तर, सबैजना कार्यालय समय पूरा भएपछि मात्रै घर र्फकने गरेको कार्कीले बताए ।
‘बिहान त आउछौं, तर बिहानै सेवाग्राही पनि आउनुहुन्न,’ अधिकृत भन्छन्, ‘दुई सिफ्ट नगरे पनि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म नै सेवा दिन सक्छौं ।’
डिल्लीबजार पुगेका सेवाग्राहीहरु पनि खुसी देखिए । रोक्काको काम आधा घण्टामै सकिएको धेरैले सुनाए । टोकन प्रणाली बनाइएकाले लाइनमा बस्नुपर्दैन । ‘सेवाग्राहीको संख्या बढेको छ, राजश्व संकलन पनि राम्रै भइरहेको छ,’ कामु प्रमुख कार्कीले भने ।
डिल्लीबजारमा पनि धेरै सेवाग्राहीहरु जग्गा रोक्काका लागि नै आउने गरेका छन् । ‘धेरै सेवाग्राहीहरु ऋण लिनका लागि जग्गा रोक्का गर्न आएका हुन्छन्, सँगै बैंकका कर्मचारी पनि हुन्छन्’ उनले भने ।
सेवाग्राहीको बढ्दो ग्राफ
मालपोत कार्यालयहरुमा सेवाग्राहीको संख्या दिनप्रति दिन बढ्दो छ । देशभरका मालपोत कार्यालयहरु १ असारदेखि खुलेका हुन् । त्यसयता ५ दिन -गत शुक्रबार) सम्मको तथ्यांक हेर्ने हो भने २५ हजार भन्दा धेरै सेवाग्राहीले सेवा लिएको भूमि व्यवस्था तथा अभिलेख विभागको अनुमान छ ।
कार्यालय खुलेको पहिलो दिन नै १ हजार ४ सय ३८ वटा सेवा लिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताउँछन् । १ असारदेखि नै कार्यालय पूर्ण क्षमतामा सञ्चालन गरिएकाले सेवाग्राहीको संख्या पनि ठूलो भएको उनी बताउँछन् ।
एउटा कामलाई विभागले एउटा सेवा भनेर तोक्ने गरेको छ । एउटा सेवामा २ वा २ भन्दा धेरै सेवाग्राही हुने गरेको पौडेलले बताए । ५ दिनसम्म करिब १ हजार ३ सय सेवा दिइएको उनले जानकारी दिए । सेवा संख्यामा २ जनाकै हिसाब गर्ने हो भने पनि ५ दिनमा करिब २६ हजारले सेवा पाएको महानिर्देशक पौडेल बताउँछन् ।
‘हामीले पहिले नै तयारी गरेका थियौं, जेठ २५ गते नै कर्मचारीहरुलाई उपस्थित भएर काम सुचारु गर्न भनिएको थियो,’ उनी भन्छन्, ‘यसकारण हामीले अधिकांश मालपोत कार्यालयहरु खुला गरेर १ गतेदेखि नै सेवा दियौँ ।’
सेवाग्राहीको संख्या दिनप्रतिदिन बढ्दै गयो । कार्यालय खोलिएको दोस्रो दिन २ असारमा २ हजार ३ सय २६ वटा सेवा प्रदान भए । तेस्रो दिन ३ हजार १ सय ३६, चौथो दिन ३ हजार ७ सय ६० र पाँचौ दिन २ हजार २ सय ६३ वटा सेवा प्रदान भएका छन् । पाँचौ दिन भने शुक्रबार भएकाले कम सेवाग्राही आएको महानिर्देशक पौडेलले बताए ।
५ दिनमा ३० करोड राजश्व संकलन
सेवाग्राही बढेपछि राजश्व संकलन पनि बढ्ने नै भयो । देशभर १२६ वटा मालपोत कार्यालयहरु छन् । यसमध्ये ८ वटा कार्यालयहरु खुलेका छैनन् ।
मिति | सेवा संख्या | राजश्व संकलन (रु लाखमा) |
१ असार | १४३८ | ३४५ |
२ असार | २३२६ | ४८६ |
३ असार | ३१३६ | ७०८ |
४ असार | ३७६० | ९५१ |
५ असार | २२६३ | ५०० |
सर्लाही, रौतहट जस्ता जिल्लाहरुमा स्थानीय प्रशासनले धेरै भीडभाड हुने भएको भन्दै खोल्न दिएको छैन । बाँकी कार्यालयहरुबाट ५ दिनमा करिब ३० करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
पहिलो दिन ३ करोड ४५ लाख रुपैयाँ राजश्व संकलन भएकोमा दोस्रो दिन बढेर ४ करोड ८६ लाख रुपैयाँ पुगेको विभागका महानिर्देशक पौडेलले बताए ।
यसैगरी तेस्रो दिन ७ करोड ८ लाख रुपैयाँ र चौथो दिन ९ करोड ५१ रुपैयाँ राजश्व संकलन भयो । पाँचौं दिन शुक्रबार करिब ५ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More