2021-03-06Saturday कोरोना कहरमा खाद्य सुरक्षा – Online Khabar – Hamro Nepal

कोरोना कहरमा खाद्य सुरक्षा – Online Khabar


केही दिन पहिले मात्रै नेपालको अर्घाखाँची र कास्की लगायतका जिल्लाहरुमा तरकारी तथा फलफूलहरुबाट कोरोना सर्ने भन्दै कैयौं ट्रक तरकारीहरु प्रशासन र स्थानीय तहकै निर्देशनमा नष्ट गरिएको समाचारहरू प्रकाशित भए । यसमा विविध प्रकारका प्रतिक्रियाहरु पनि आए।

बुझ्नेहरुबाट केही तथ्यपूर्ण प्रतिक्रियाहरु पनि आए भने कसैकसैले कोरोना संक्रमण त्यो तरकारी ढुवानी गर्दा अपनाइने नियन्त्रण कार्यहरु (Control Measures) को अपर्याप्तताको कारणले हुन सक्ने भन्दै प्रशासन र स्थानीय सरकारले लिएको निर्णय स्वाभाविक भएको पनि प्रतिक्रिया दिए।

यो लेख उक्त घटनाको प्रतिक्रियाका रुपमा लेखिएको नभई कोरोना महामारीको अवस्थामा व्यक्तिगत तथा खाद्य सुरक्षा (Food Safety) का बारेमा जनतालाई सत्य-तथ्य जानकारी दिने र कृषक, ब्यापारीलगायत अन्य सम्बन्धित सबैलाई यस महामारीको अवस्थामा व्यक्तिगत सुरक्षा कायम राख्तै अन्तराष्ट्रिय रुपमा अपनाइएको खाद्य सुरक्षा कार्यक्रम, विधि र कार्यहरुको जानकारीका लागि तयार गरिएको हो।

खाद्य सुरक्षा के हो ?

मानिसले खाने खानामा शरीरलाई नराम्रो असर गर्ने कुनै पनि जोखिम (Hazard) वा जोखिमको मात्रा (Limit) अन्तर्राष्ट्रिय तथा राष्ट्रियरुपमा तोकिएको मापदण्ड (Specification) अनुसार भएमा त्यसलाई सुरक्षित खाना भनिन्छ। यस्तो मापदण्ड फरक फरक देशहरुमा आधिकारीक कार्यालयहरुले बनाउने गर्दछन् ।

अमेरिकामा खाद्य तथा औषधि प्रशासन(Food and Drug Administration), सेन्ट्रल फर डिजीज कन्ट्रोल जस्ता संस्थाहरुले, यूरोपमा इयू विधि निर्माण (EU legislation) विभाग तथा चीनमा स्टेट काउन्सिल अन्तर्गत करीब दश विभाग तथा मन्त्रालयहरुले विभिन्न क्षेत्रमा खाद्य सुरक्षा सम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा अनुगमन गर्दछन्।

नेपालमा भने कुनैपनि खाद्य तथा पेय पदार्थको मापदण्ड निर्माण र लागू गर्ने काम कृषि मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्दछ।साथै नियमन गर्ने र बजार अनुगमन गर्ने काम भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य विभाग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि गरेको पाइन्छ। विश्वब्यापी मान्यता अनुसार सुरक्षित खाना हुनको लागि सामान्यतया दुईवटा मापदण्ड पूरा गरेको हुनुपर्छ ।

१. खानाले मानिसको शरीरलाई प्रत्यक्ष हानी (Injury, illness) गर्नु हुँदैन ।

२. खाना मानिसलाई उपयोगको लागि अयोग्य (Unfit) हुनु हुँदैन।

खाना खानयोग्य हुनको लागि खानामा कुनै पनि जोखिम(Hazard) हरु विल्कुलै हुनु हुँदैन या त जोखिमको मात्रा शरीरलाई हानी नगर्ने गरी तोकिएको मापदण्डभन्दा तल हुनुपर्छ। अन्तर्राष्ट्रिय रुपमा खाद्य सुरक्षाको क्षेत्रमा सबैभन्दा बढी प्रयोगमा आएको कार्यक्रम जोखिम परीक्षण तथा सघन नियन्त्रण विन्दु (Hazard Analysis Critical Control Point, HACCP), जुन सर्वप्रथम सन् १९६० को दशकमा नासाले आफ्ना अन्तरिक्ष यात्रीहरुलाई क्यानमा राखिने खानाको सुरक्षाको लागि प्रयोगमा ल्याएको मानिन्छ, का अनुसार खाद्य जोखिमलाई मुख्यतः चार भागमा बर्गिकरण गरिएको छ।

भौतिक (Physical), रासायनिक(Chemical), जैविक(Biological) र एलर्जी गराउने (Allergen)। कसैले Allergen लाई रासायनिक जोखिमको हिस्सा पनि मानेका छन्। भाइरस खाद्य सुरक्षा जोखिममा जैविक जोखिम हो।

सुरक्षित खाना हुनका लागि प्राथमिक उत्पादक वा औद्योगिक उत्पादकहरुले वा उपभोक्ताहरुले यी जोखिमहरुलाई हुन नदिन नियन्त्रण माध्यम (Control measures) अवलम्बन गर्ने र यिनीहरुको स्तर तोकिएको मापदण्डभित्र उपभोगको समयसम्म राख्न सकेको खण्डमा त्यस्तो खानालाई सुरक्षित खाना (Safe Food) भनिन्छ।

खाद्य सुरक्षामा कोरोनाको प्रत्यक्ष प्रभाव

SARS-COV-2 भनिने कोरोना भाइरस गत वर्षको नोभेम्बर महिनाको मध्यबाट चीनबाट सुरु भएर विश्वभर फैलिँदै गएपछि यसै वर्ष २०२० को मार्च ११ मा विश्व स्वास्थ्य संगठनले कोरोना प्रकोपलाई विश्वव्यापी महामारी घोषणा गर्यो।

तत्काल खोप विकास, परीक्षण र उपलब्ध हुने नभएपछि यसलाई फैलिनबाट रोक्न नेपाल सरकार लगायत विश्वका धेरै देशहरुले लक डाउनको निर्णय लिए। नेपालमा पनि सरकारले मार्च २४ देखि लगाएको लकडाउन यद्यपि जारी छ। विश्वब्यापी महामारीको यो चरणमा मानिसहरु केही अभ्यस्त भएकोजस्तो देखिए पनि वैज्ञानिक अनुसन्धान र परीक्षणले सकारात्मकतर्फ साकार रुप नलिइसकेको अवस्था र दिनानुदिन बढ्दै गएको संक्रमितको संख्याले भने कोरोनाको त्रासदी अझैपनि आम मानिस र सर्वसाधारणमा उस्तै भयानक छ।

यही आम मानिसमा पर्न गएको डर सँगै जोडिएको एउटा सन्देह हुनसक्छ सागसब्जी र फलफूलबाट कोरोना सर्न सक्ने अनुमान अनि अर्घाखाँची र कास्कीमा प्रशासन र स्थानीय तहले नै दोस्रो जिल्लाबाट आएको तरकारी नष्ट गर्न गरेको निर्णय।

न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिन को मार्च १७, २०२० मा “Aerosol and Surface Stability of SARS-CoV-2 as compared with SARS-Cov-1” शीर्षकमा प्रकाशित खोज तथा अनुसन्धान पत्र अनुसार कोरोना एक संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेपनि अहिलेसम्म पानी र खानाबाट सर्न सक्ने कुनै पनि प्रमाण प्राप्त नभएको कुरा उल्लेख छ। यसको मतलब कुनैपनि खानेकुरा वा पिउने पानीबाट कोरोना सामान्यतयाः सर्दैन।

तसर्थ कोरोना भाइरस खाद्य सुरक्षा जोखिम (Food Safety Hazard) होइन। यद्यपि माथि उल्लेखित रिसर्च पेपरका अनुसार यदि संक्रमितले प्रयोग गरेको वा अन्जानबस रोगको पहिचान नहुँदै तर संक्रमण भइसकेको अवस्थामा छोइएको कागजमा यो भाइरस १ दिन, प्लास्टिक र धातुको सतहमा करीब ३ दिनसम्म जीवित रहन सक्छ। तसर्थ कोरोना महामारीलाई हालसम्मको अवस्थामा हेर्दा खाद्यवस्तुहरुमाथिको थ्रेट नभई जनस्वास्थ्य सम्बन्धित थ्रेट हो भन्न सकिन्छ।

कोरोना संक्रमणको मुख्य सर्न सक्ने माध्यम भनेको संक्रमित मानिसबाट बोल्दा वा खोक्दा निस्कने थुक, हाछ्यूँ गर्दा निस्केका मसिना थोपाहरु (Aerosols) केही समयसम्म हावामा रही श्वास प्रश्वास प्रक्रियाबाट र संक्रमितले छोएको ठाउँमा छोएर स्वस्थ मानिसले यदि नाक, मुख वा आँखामा छोएमा सर्न सक्ने निश्कर्ष भाइरस विशेषज्ञहरुको छ।

तसर्थ यदि यी माध्यमबाट सक्रमितको सम्पर्कमा कोही आएको छैन भने उसलाई कोरोना भाइरसको संक्रमणको जोखिम पनि स्वत कम हुने नै भयो।

खेतबारीमा उत्पादन हुने अनाज, फलफूल र तरकारीमा होस् वा फ्याक्ट्रिमा उत्पादन वा प्रशोधन गरिने खाद्यान्न लगायत अन्य खानेकुरा, पानी वा पेय पदार्थमा कोरोना यसैलाई माध्यम बनाई सर्ने सम्भवना करीब शुन्य बराबर हुने हालसम्मका अध्ययनहरुको निश्कर्ष छ। त्यसमाथि हामी नेपाली सागसब्जी लगायत प्रायः खानेकुरा राम्ररी पकाएर खान्छौं।

यसरी पकाएर खाँदा कोरोना भाइरस मर्ने तापक्रम ७० डिग्री सेल्सियस ५ मिनेट (चिन तथा अन्यको अनुसन्धान, २०२०, द ल्यानसेट) मा सजिलै पुग्ने भएकाले पनि भाइरस निश्क्रिय हुन्छ। तथापि खाना सुरक्षित गर्न प्रयोग गरिने प्याकेज, प्लास्टिक, कार्टुन, क्यान वा अन्य धातुजन्य वस्तुका सतहमा कोरोना उल्लेखित समय सम्म जीवित रहने भएकोले संक्रमितबाट स्वस्थ मानिसको सम्पर्कमा कुनै न कुनै माथि उल्लेखित माध्यमबाट पुग्न भने सक्तछ।

व्यक्तिगत उपभोक्ता सुरक्षा

व्यक्तिगत सुरक्षाको लागि ठाँउ, जनघनत्व वा उक्त स्थानमा संक्रमणको अवस्था हेरी नेपाल सरकार स्वास्थ्य मन्त्रालय वा जनस्वास्थ्य विज्ञ वा सम्बन्धित निकायले समय समयमा जारी गर्ने निर्देशनको पालना गर्नुपर्दछ। यदि यस्ता स्रोतहरुमा पहुँच नभएको खण्डमा भने कमसेकम पनि मास्क लगाउने, आफ्नो हातले बारम्बार आँखा, नाक र मुखलाई नछुने, धेरैले छुन सक्ने ठाँउहरु जस्तै ढोकाको ह्यान्डल्, धाराको भल्ब, टिभिको रिमोट, बत्तीको स्विच आदिमा छोएको खण्डमा तुरुन्तै हात धुने गर्नु पर्दछ।

अनाज, फलफूल तथा सागसब्जीको प्याकेट, क्रेट, बोरा, पोलिथिन ब्याग वा अन्य कन्टेनर एक ठाँउबाट अर्को ठाँउमा लैजादा वा पसलबाट घरसम्म पुर्याउँदा होस, सुरक्षित मास्क र प्लाष्टिकको पन्जा वा धोएर पुन प्रयोग गर्न मिल्ने पञ्जा लगाउन सकिन्छ।

यदि त्यो पनि सम्भव नभए ओसारपसार गरिसकेपछि तुरुन्तै साबुन पानीले हात धुने गर्नुपर्छ। घरमा धेरैले छुने ठाँउहरुलाई बारम्बार सफा गर्नु पर्दछ। यसका लागि अल्कोहल भएको स्यानिटाइजर, साबुनपानी वा क्लोरिन पानी आदि प्रयोग गर्न सकिन्छ।

घरमा खानेकुरा ल्याईसकेपछि भने सुरक्षाको लागि घरको कुनै भाँडोमा खन्याई प्लाष्टिक वा बोरालाई सुरक्षित तरिकाले फाल्न सकिन्छ वा पुनः प्रयोग गर्न छुट्टै बन्द ठाउँमा राख्न सकिन्छ। अमेरिकाको फुड एण्ड ड्रग्स एडमिनिष्ट्रेशनका अनुसार उपभोक्तालाई कोरोनासँगको सम्पर्क न्युनिकरण सुरक्षा (Exposure safety) का लागि जारी तीन बुँदामा उपभोक्ताहरुलाई निम्न लिखित उपायहरु सुझाइएको छ।

१. खाने कुराहरु एक पटकमा कम्तीमा एक दुई हप्ताको लागि खरिद गर्ने ताकि बारम्बार खरीदको लागि बाहिर गइराख्न नपरोस् । खरीदको समयमा अरुसँगको दूरी करिब ६ फीट राख्ने ।

२. छिटो छिटो हात धुने बानी बसाउने। खाना बनाउन अघि र पछि, कुनै अरुले छुन सक्ने सतहमा छोए पछि र घर बाट बाहिर जानु पर्दा घर फर्केपछि हात धुने र धुन मिल्ने मास्क र कपडा प्रयोग गरेको भए तुरुन्तै धुने।

३. धेरै गलत जानकारीहरु अनलाइन तथा सामाजिक संजालमा भएको हुँदा आधिकारिक र विश्वसनीय स्रोतहरुमा मात्रै विश्वास गर्ने ।

पसल, सुपरमार्केट, रेस्टुरेन्ट वा अन्य भिडभाड रहने ठाँउहरुमा सुरक्षा

पसल, सुपरमार्केट, रेस्टुरेन्ट, होटल, ढावा जस्ता ज्यादा भिडभाड रहने ठाँउ जहाँ सेवग्राही वा खरिदकर्ताहरुको सम्पर्कमा लामो समयसम्म सेवा दिने व्यक्तिहरु रहन्छन् , त्यहाँ स्वभाविक रुपमा जोखिम पनि बढी हुने नै भयो । त्यहाँ खरिदकर्ता यदि कोरोना संक्रमित आएमा र संक्रमणको उचित माध्यम मिलेमा अर्थात् प्रत्यक्ष तथा संक्रमितले छोएको पैसा वा अन्य वस्तुहरु छोएर त्यही हातले नाक, मुख, आँखा छोएमा त्यस्ता व्यक्तिमा भाइरस सर्ने नै भयो।

तसर्थ, त्यहाँ कामगर्ने कसैमा पनि कोरोना रोगको लक्षण जस्तै; ज्वरो, श्वासप्रश्वासमा समस्या, रुघाखोकी, शरीर दुख्ने, घाँटीमा समस्या आदि देखिए तुरुन्तै बिदा लिएर सामान्य अवस्थामा घरमा आइसोलेसनमा वा तोकिएको क्वारेन्टाइनमा बसेर वा आवश्यक परेमा अस्पतालमा तथा अन्य स्वास्थ्य संस्थामा गएर उपचार गराउनु पर्दछ। स्वास्थ्य पुर्ण रूपमा ठीक नभएसम्म वा आइसोलेसन अवधि पूरा नभएसम्म काममा फर्कनु हुँदैन। यदि घरमा कोहि कोरोनाको कारणले विरामी भएमा पनि तुरुन्तै खबर गरिहाल्नुपर्छ।

यसबाहेक कामदार र कर्मचारीले निम्न अनुसारका कार्यबिधि बनाई त्यस्ता ठाउँहरुमा लागू गर्नुपर्दछ। यो निश्चित गर्ने काम संचालक वा म्यानेजरले गर्नुपर्छ ।

१. सामाजिक दुरी हरदम कम्तिमा ६ फीटको राख्नु पर्दछ । सेवाग्राहीलाई पनि सोही अनुसार गर्न भुइँमा फ्लोर स्टिकर, कलर टेप आदि लगाउने तथा माइकबाटअनाउन्स गर्न सकिन्छ।

२. हात धुने तथा हात स्यानिटेसन स्टेसन प्रवेश गर्ने ठाउँमा बनाउनु पर्दछ । काम गरिरहँदा वा क्यास छोएपछि बीच बीचमा हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्दछ।

३. बारम्बार भुइँ, भित्ता, टेबल, कुर्सी आदि क्लोरिन पानी वा साबुन पानीले केही समयको अन्तरालमा सफाई गरिराख्नु पर्छ।

४. कस्टोमरलाई अनलाइन, इ-सेवा, खल्ती, बैङ्क एप, क्यूआर कोड स्क्यानर जस्ता टचलेस पेमेन्ट सिस्टमको प्रयोग गर्न प्रोत्साहित गर्नुपर्छ ।

५. खोक्दा, हाच्छियूँ गर्दा वा अनुहार छुने काम परेमा टिस्यूको प्रयोग गर्नु पर्दछ।

६. र्याकमा वा अन्य शो-केसमा सामान मिलाउने तथा सामान भित्र ल्याउने जस्ता कामहरु सेवाग्राहीको भीड कम हुने समयमा गर्नुपर्छ।

७. कर्मचारी र सेवाग्राहीको बीचमा दूरी बनाउन बीचमा बार लगाउनुपर्छ।

८. भित्र पस्ने र बाहिर निस्कने ठाँउहरु फरक फरक बनाउनु पर्छ।

९. होम डेलिभरी जस्ता टाढादेखि गर्न सकिने खरिद बिक्रीमा जोड दिनुपर्छ।

१०. बारम्बार छोइने ठाँउहरु जस्तै घर्रा, डिस्प्ले र्याक, फ्रीजको हेण्डल आदि बरोबर स्यानिटाइज गरिरहनु पर्छ ।

११. सपिङ ब्याग, सपिङ्ग ट्रली तथा बास्केट, लिफ्ट रेल, ढोकाको हेण्डलहरु नियमित क्लोरिन पानीले वा साबुन पानीले सरसफाइ गरिरहनु पर्छ ।

खेतबारीमा काम गर्ने किसान (प्राथमिक उत्पादक) तथा उत्पादनको सुरक्षा

यसपटक वर्षा चाडैं सुरु भएकोले नेपालमा खेतीपातीको काम पनि चाडैं सुरु हुने अपेक्षा गर्न सकिन्छ। खेतबारीमा काम गर्ने किसान दाजुभाइ तथा दिदीबहिनीहरुको हकमा पनि व्यक्तिगत सुरक्षाका उल्लेखित तरीकाहरु नै अवलम्बन गर्नुपर्छ । यसअन्तर्गत;

१. खेतबारीमा काम गर्दा सामाजिक दुरी बनाई राख्नुपर्दछ।

२. सकेसम्म धेरै पटक साबुनपानीले हात धुनु पर्छ ।

३. लामो समयसम्म काम गर्दा र गर्मीको कारणले शरीरमा पानीको मात्रा कम भई रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकोले कामको बीच बीचमा ब्रेक लिनु र प्रशस्त पानी पिउनु बुद्धिमानी हुन्छ ।

४. पानीको बोतल, खाना खाने प्लेट, चम्चा तथा अन्य सामानहरु एक व्यक्तिले खाने र अर्कोले खाने छुट्टाछुट्टै बनाउनुपर्छ।

५. लगाएको जुत्तालाई क्लोरिन पानीमा टेकेर सेनिटाइज गर्न सकिन्छ भने लगाएको कपड़ालाई खेतबारीबाट फर्केपछि साबुनपानीले धोएर सफा बनाउन सकिन्छ।

५. उत्पादित वस्तुहरु राख्ने क्रेट, प्लाष्टिक प्याकेज, बोराहरुलाई क्लोरिन पानी, साबुन पानी, सर्फ वाटर वा तातो पानीमा चोबेर सफा गर्नुपर्छ।

६. उत्पादित वस्तु बजारसम्म पुर्याउनको लागि प्रयोग हुने ढुवानी गाडीमा सकेसम्म कम मानिसहरु बस्ने र बजार जाँदा पनि मास्क र पञ्जाको प्रयोग गर्ने गर्नुपर्छ। साना किसानहरुले आफ्नै खर्पन, साइकल र मोटरसाईकलको प्रयोग गर्दा अझ राम्रो हुन्छ।

७. बजारबाट फर्केर आएपछि लगाएको कपडा धुने तथा नुहाउने गर्नुपर्छ साथै गाडीलाई पनि क्लोरिन पानीले सफा गर्नुपर्छ ।

८. थोक बजार तथा पसलमा सामान भिडभाड नहुने समयमा नहुने समयमा ढुवानी गर्नुपर्छ।

९. कुनै पनि व्यक्तिसँग कुरा गर्दा सधैं सामाजिक दुरी कायम गर्ने र व्यक्तिगत सुरक्षाका साधनहरु (मास्क, पञ्जा आदि) प्रयोग गर्ने गर्नुपर्छ।

१०.यदि कोरोना रोगको लक्षण जस्तै; ज्वरो, श्वासप्रश्वासमा समस्या, रुघाखोकी, शरीर दुख्ने, घाँटीमा समस्या आदि देखिएमा भने सामान्य अवस्थामा घरमा आइसोलेसनमा वा तोकिएको क्वारेन्टाइनमा बसेर वा आवश्यक परेमा अस्पतालमा वा अन्य स्वास्थ्य संस्थामा गई डाक्टरको परामर्श गरी उपचार गराउनु पर्दछ।

(हाल मस्कट, ओमानमा रहेका आचार्य खाद्य सुरक्षा विशेषज्ञ हुन् ।)





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>