2021-02-28Sunday चितवन निकुञ्जमा १९ वर्षपछि अर्नाले फर्कायो खुसी – Online Khabar – Hamro Nepal

चितवन निकुञ्जमा १९ वर्षपछि अर्नाले फर्कायो खुसी – Online Khabar


२० जेठ, चितवन । वि.सं. २०६० सालसम्म मानव वस्ती रहेको चितवनको पुरानो पदमपुर क्षेत्र अहिले पनि मनमोहक छ । पहिले यहाँका बासिन्दाले लगाएका आँपका रुखमा लटरम्म आँप फलेका छन् भने कागती, जिमिर, अमलाका रुखहरु पनि यथावत छन् । पानीका इनारसमेत यदाकदा भेटिन्छ । यही पुरानो पदमपुर क्षेत्रमा बनाइएको खुल्ला खोर (इन्क्लोजर)मा अहिले अर्को खुसी देख्न सकिन्छ, अर्ना ।

अहिले यहाँ १३ वटा अर्ना, एक गैंडा, एक बाह्रसिङे र करिब दुई सय मृगहरु देख्न सकिन्छ । दुई हजार मिटर जाली लगाएर खुल्ला खोर (इन्क्लोजर) ३० हेक्टर क्षेत्रफलमा तयार गरिएको छ । भुइँमा सोलिङ गरेर जालीलाई पीसीसीले च्यापेर ६ फिट अग्लो खोर बनाइएको छ । खोरमा वरिपरि सोलार फेन्सिङ गरिएकाले अन्य जनावर खोरभित्र पस्न सक्दैनन् । इन्क्लोजरभित्र ४ सय मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसे मैदान छ ।

बाँकी १५ हेक्टरमा नयाँ खुल्ला खोर बनाउने काम सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेले अर्नाको वासस्थान सुधार र घाँस लगायतको व्यवस्थापनका लागि थप १५ हेक्टरमा अलग्गै खोर बनाउन लागिएको बताए ।

चितवनबाट अर्ना लोप भएको झण्डै ५७ वर्षपछि २०७३ माघमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना ललितपुरबाट ३ गरी १५ अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइए । तीमध्ये ६ वटा मरे । २०७४ साउन २८ र २९ गते आएको ठूलो बाढीमा परेर दुई र अर्को एक अर्नालाई बाघले मार्यो । बाँकी तीन कालगतीले मरे । १५ वटा अर्ना घटेर ९ वटामा झरे । अर्नाको श्रृंखलाबद्ध मृत्युपछि थप चिन्तित बने संरक्षणकर्मीहरू । कतै निकुञ्जको इन्क्लोजरभित्र अर्ना हुकार्उन सकिँदैन की भन्ने चिन्ता भयो । मार्नका लागि नै ल्याएको जस्तो सन्देश पो जाने हो की भनेर चिन्तित बने संरक्षणकर्मी । त्यसपछि निकुञ्जले थप सतर्कता अपनाउन थाल्यो । अर्ना राखिएको खोरमा दैनिक निरीक्षण र उनीहरूको अवस्थाबारे पशु चिकित्सकसहितको टोलीले अनुगमन गर्यो । त्यसपछि भने अर्ना मर्ने क्रम रोकियो ।

भएका अर्नाले चारवटा पाडा–पाडी पाए । ‘इन्क्लोजर’ भित्र राखिएका ९ जीवित अर्ना मध्ये ७ बटा पोथी र दुई भाले छन् । ७ पोथी मध्ये ४ वटा गर्भिणी भए । २०७५ साउन ३१ पहिलोपटक अर्ना ब्यायो । भदौंमा थप तीन पाडापाडी जन्मिए । अहिले यहाँ तीन पाडा र एक पाडी छन् । ती साना पाडापाडी अर्नाको हुलमा पछि लाग्दै हिँडिरहेको, उफ्रिरहेको, चरीरहेको दृश्यले १९ वर्षअघि उजाडिएको पदमपुरमा खुसी फर्किएको देखिन्छ ।

उनीहरू ठूला हुँदै गएका छन् । निरोगी छन् । एक वर्षभन्दा बढी उमेरका अर्नाको बच्चा खैरो र रातो हुन्छ भने एक वर्षको बच्चाको सेतो रौं हुन्छ । पूर्वको कोशी टप्पु वन्यजन्तु आरक्षबाट फरक भूगोलमा अर्नाको वंश बिस्तारका लागि ल्याइएका अर्नाको पहिलो पुस्ता जन्मिएकोमा संरक्षणकर्मीहरू पनि खुसी छन् ।

अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमिमा बस्न रुचाउँछ । गाईभैंसीको जस्तै ब्याउने साइकल हुने गर्दछ । थप अर्ना गर्भिणी भए वा नभएको अझै एकिन नभएको चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर सौराहाका प्रमुख सहायक संरक्षण अधिकृत गोपाल घिमिरेले बताए । रातको समयमा पनि मचानमा बसेर नेपाली सेनासहितको टोलीले अर्नाको रेखदेख गरिरहेको छ । हात्तीको सहयोगमा अर्नाको अवस्थाको बारेमा रेखेदेख गरिराखिएको हुन्छ । अर्नालाई जुकाको औषधि खुवाउने, सुख्खायाममा विषेश ख्याल गर्ने गरिएको सहायक संरक्षण अधिकृत घिमिरेले बताए ।

अर्ना प्रजाती समाप्त नहोस् भनेर गरिएको संरक्षण

सन् १९६१ सम्म चितवनको घना जंगलमा अर्ना पाइन्थ्यो । त्यसपछि एकाएक अर्नाहरू यहाँबाट लोप भए । सन् १९७३ मा नेपालमा नै पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरियो । निकुञ्ज स्थापना हुनुभन्दा करिब ११ वर्षअघि नै अर्ना यहाँका जंगलबाट लोप भए । चितवनबाट अर्ना लोप हुनुको कारण पहाडी भेगबाट बसाँइसराइ हुने क्रम बढ्नु, वासस्थान विनास हुनु र  प्राकृतिक कारणबाट घट्दै गएका अर्नाको चोरी शिकारी हुनुलाई लिने गरिएको छ । बाघको आक्रमणबाट जोगाउन नसक्नुलाई पनि संरक्षणविद्हरुले अर्को कारण मान्दै आएका छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्षमा मात्रै पाइने अर्ना कुनै प्राकृतिक वा अन्य कारणले समाप्त हुने सक्ने भएकाले पहिलो पटक नेपालमा अर्नाको स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।  २०७३ माघ १४ गते चितवन राष्ट्रिय निकुन्जमा पहिलोपटक अर्ना स्थानान्तरण गरिएको थियो । यसअघि बाह्रसिङ्गे, कृष्णसार, गैँडा र बाघको मात्रै स्थानान्तरण गरिएको थियो ।

कोशी टप्पुको जस्तै हावापानी र आहार चितवन राष्ट्रिय निकुञ्जमा मिल्ने र यहाँ पनि पहिला अर्ना रहेकाले संरक्षणको प्रयास गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत घिमिरे बताउँछन् ।

अर्नाको वंश विस्तारमा सफलता पाउन पोथी अर्नाको संख्या कम्तीमा पनि २० वटा हुनुपर्ने र तिनीहरुले जन्माएका पाडापाडीले समेत दोस्रो पुस्ता जन्माउन थालेपछि मात्रै सफलता पाइएको मानिने संरक्षणकर्मीहरु बताउँछन् । अहिले पोथी संख्या प्रयाप्त छैन । जम्मा ७ वटा मात्रै प्रजननयोग्य पोथी अर्ना छन् । अब १३ वटा पोथी अर्ना थप्नुपर्ने निकुञ्जका संरक्षणकर्मीको भनाइ छ ।

‘अहिले अर्नाले पाडापाडी जन्माउनुलाई चितवनमा अर्ना हुर्काउन सकिन्छ भनेर पुष्टि भएको छ,’ निकुञ्ज सौराहा सेक्टरका प्रमुख घिमिरेले भने, ‘अर्नाको संख्या थपिने भएपछि खोरलाई पनि बढाउनुपर्दछ, कम्तीमा पनि बाहिर प्राकृतिक रुपमा छाड्दा बाघसँग भिड्नसक्ने जमात तयार पार्नुपर्दछ ।’

२०३२ सालमा कोशी टप्पु वन्यजन्तु आरक्ष घोषणासँगै अर्नाको संख्या वृद्धि हुने क्रम बढिरहेको छ । वि.सं. २०७१ मा नै सरकारले पाँच भालेसहित २० वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याउने निर्णय गरेको थियो । १५ वटा ल्याइयो, थप ५ वटा ल्याइएन । यहाँ अर्ना मर्न थालेपछि थप अर्ना नल्याइएको हो । अब भने अनुकूल वातावरण बनेको छ । अर्नाको ‘स्ट्याण्डर्ड साइज पपुलेसन’ भनेको ४० देखि ५० वटासम्मलाई मानिन्छ । वंश बिस्तार हुने क्रमसँगै यिनीहरुलाई चितवन राष्ट्रिय निकुन्जको प्राकृतिक वातावरणमा स्वतन्त्र रुपमा छाड्ने उद्देश्य छ निकुञ्जको । दीर्घकालीन लक्ष्य बनाएर काम गरे, अबको ५ देखि ७ वर्षमा निकुञ्जको खुल्ला क्षेत्रमा छाड्न सकिने संरक्षणकर्मीहरु बताउँछन् ।

त्यसले बाघको आहार प्रजाती पनि बढ्ने छ । कोशी टप्पुमा अर्नाको बाघसँग पनि देखभेट नभएकाले बाघको संगत बुझेका छैनन् । तर चितवन राष्ट्रिय निकुन्जमा भने बाघ छ । बाघले एक अर्नासमेत मार्यो । एउटा भाले अर्नाले बाघलाई घाइते पनि बनायो ।

भैंसी र अर्नामा के फरक छ ?

अर्नाको सरदर आयु २५ वर्ष हुन्छ । यिनीहरुले आफ्नो जीवनकालमा ५ ओटासम्म बच्चा जन्माउन सक्छन् । भाले अर्ना ३–४ वर्षमा र पोथी अर्ना २ देखि ३ वर्षको उमेरमा प्रजननयोग्य हुन्छ । यसको गर्भधारण अवधि १० देखि ११ महिनाको हुन्छ । अर्नाको तौल ७०० देखि १२०० किलोग्रामसम्म हुन्छ । यसको उचाइ १५० देखि १९० सेन्टिमिटरसम्म हुन्छ । खरानी खैरोदेखि कालो छाला हुने र घाँटी, मुख, आँखा, कान र खुट्टामा सेता धर्का हुन्छन् ।

झट्ट हेर्दा भैंसी र अर्ना उस्तै लाग्ने गर्दछ । मानिसहरु झुक्किन्छन् पनि । अर्ना बोभिडेई (Bovidae) परिवारअन्तर्गत पर्ने लोपोन्मुख जंगली जनावर तथा घरपालुवा भैंसीको पूर्वज हो । यो जंगली बोभिडेई जाती दोस्रो ठूलो जनावर हो, जुन गौरीगाई भन्दा थोरै सानो हुन्छ । दक्षिण एसियामा अर्ना नेपाल र भारतमा पाइन्छ । नेपालको कोसी टप्पुमा मात्र पाइने यो वन्यजन्तु भारतको सिक्किम, आसाम र मध्य प्रदेशका संरक्षित क्षेत्रमा समेत पाइने गरेको छ ।

घरपालुवा भैंसीको पूर्वज मानिने अर्नालाई भैंसीको हुलमा मिसाइदियो भने चिन्न समस्या हुन्छ । हेर्दा उस्तै देखिन्छन् । उस्तै रङ, उस्तै शारीरिक बनोट र कराउँदाको आवाज पनि उस्तै हुन्छ । तर, भैंसी र अर्नामा सामान्य फरक छ । निकुञ्जका एक संरक्षण अधिकृतका अनुसार अर्नाको कानका रौं र घुँडाका घेरा सेता हुन्छन् । आँखीभौं पनि केही सेतो र खैरो हुन्छ । जुन घरपालुवा भैंसीमा हुँदैन । अर्ना चिनिने आधारहरूमा खुट्टा, घाँटी, पुच्छर, थुतुनोमा सेतो धर्सा हुन्छ ।  सिङको आधारमा छुट्याउनुपर्दा पोथी अर्नाको सिङ सामान्य तर लामो र टुप्पोमा सिन्दुरे रातो हुन्छ ।

विश्वभरी अर्नाको कुल संख्या तीन हजारको हाराहारीमा रहेको अनुमान छ । पछिल्लो गणना अनुसार कोशी टप्पुमा ४३२ वटा अर्ना छन् । काँस, सिरु, नर्कट, बन्सो लगायतका घाँस प्रमुख चरनका रूपमा अर्नाले उपयोग गर्ने गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले यसलाई संरक्षित वन्यजन्तु सूचीमा राखेको छ । अर्ना मार्ने वा घाइते बनाउनेलाई बढीमा एकदेखि १० वर्षसम्म कैद वा ५० देखि ७५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

तस्वीरहरु : कोमलचन्द्र भगत





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>