2021-03-01Monday ब्राह्मणवादको विरोध गर्दा बाहुनहरु तर्सिनु जरुरी छैन – Online Khabar – Hamro Nepal

ब्राह्मणवादको विरोध गर्दा बाहुनहरु तर्सिनु जरुरी छैन – Online Khabar


जेठ १० गते रुकुममा भएको घटनामा दलित र क्षेत्रीय (ठकुरी) हरुको संलग्नता थियो, तर प्रदर्शन गर्नेहरुले सडकदेखि सदनसम्म ‘ब्राह्मणवाद मूर्दावाद’ भनेर नारा लगाए ।

लकडाउनको अवधिभर भौतिकरुपमा भेटघाट नभएका एकजना मित्रले फोनमा सामान्य भलाकुसारीपछि प्रश्न तेर्साए– त्यो घटनामा बाहुनको के दोष थियो र ?

युगको हिसावले हामी एक्काइशौं शताब्दीमा छौं, राजनीतिक व्यवस्थाका हिसावले हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । लोकतन्त्रमा विधिको शासन हुन्छ, सबै नागरिकको समान हैसियत हुन्छ । यदि कुनै व्यक्ति वा समूहले अपराध गर्‍यो भने त्यसको कानूनी उपचार खोजिन्छ, दानवीय प्रवृत्ति प्रदर्शन गर्ने छुट हुँदैन । त्यसमाथि, संवैधानिकरुपमै फौजदारी कसुर मानिएको जातीय भेदभावको प्रसंग जोडेर कसैको बर्बरतापूर्ण हत्या गर्नु अर्को अपराध हो ।

अझ भन्ने हो भने ‘मानिसको अन्तराष्ट्रिय जाती’ भन्नेहरुले शासन गरिरहेका बेला जातीयताकै कारण कुनै एक समूहले अर्को समूहमाथि यस्तो दुस्कर्म गर्छ भने त्यो कुनै पनि हालतमा क्षम्य नहुनु पर्ने हो ।

विधिको शासनमा गल्ती प्रमाणित गर्ने र दण्ड दिने काम न्यायालयको हो । यदि कुनै गल्ती कमजोरी भएको भए पनि कानूनी बाटोबाट जान सकिन्थ्यो होला । कुटेर, मारेर, हातखुट्टा बाँधेर नदीमा बगाउने कुकृत्यको बिरोध गर्नका लागि शब्दहरु नै कम पर्ने अवस्था छ ।

घटनाका मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना छ । घटनाको निश्पक्ष छानविन होस्, यसमा कुनै पक्षबाट पनि आफ्नो ‘उल्लु’ सिद्ध गर्ने बाहना नहोस् । घटनालाई कुनै पनि पक्षले राजनीतिक रंग दिने काम नहोस् । दोषीले प्रचलित कानून बमोजिमको सजायँ पाउन् ।

रुकुमको यो घटनाले ब्राह्मण र ब्राह्मणवादका विषयमा चर्चा गर्न मन लाग्यो ।

राजनीतिक आन्दोलनमा, जातीय अन्दोलनमा, सामाजिक आन्दोलनमा र वर्गीय आन्दोलनमा पनि पटक–पटक लाग्ने साझा नारा हो ‘ब्राह्मणवाद–मूर्दावाद !’

पहिलो कुरा त हामी जो–जो आफूलाई ब्राह्मण दावी गर्दैछौं, हाम्रै धर्मग्रन्थहरुले दिएका परिभाषाअनुसार हामी ब्राह्मण हौं कि होइनौं भन्ने कुराको ख्याल गर्नु जरुरी छ ।

तर के हो त ब्राह्मणवाद ? र ब्राह्मणवादको बिरोध गर्दा बाहुनहरु तर्सिनु जरुरी छ कि छैन ? यस विषयमा बहस हुनु जरुरी छ ।

ब्राह्मणबाद के हो भन्ने कुरा जान्नका लागि बाहुन (ब्राह्मण) को बिषयमा चर्चा गर्न सान्दर्भिक होला । ब्राह्मण शव्द संस्कृत शव्दबाट आएको हो । लेख्यमा बढीजसो ब्राह्मण शब्द नै प्रयोग हुने भएपनि बोलीचालीमा बाहुन भन्ने गरिन्छ । अझ कसै कसैले त जिस्काउनका लागि ‘ए बाहुन’ पनि भन्ने गर्छन् ।

हिन्दुग्रन्थ गीताको चौथो अध्यायको १३औं श्लोकमा “चातुर्वर्ण्यं मया सृष्टं गुणकर्म विभागशः । तस्यकर्तारमपि मां बिद्धयकर्तारमव्ययत्” भनिएको छ ।

अर्थात् उक्त श्लोकमा कृष्णले अर्जुनलाई भनेका छन् ‘मैले गुण र कर्मका आधारमा विभाग गरेर ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्र यी चार वर्ण व्यवस्था गरेको छु । त्यसैले कर्ता पनि मै हुँ र अकर्ता पनि मै हुँ ।’

यो श्लोक हेर्ने हो भने उनले ‘वर्ण’ शव्दको प्रयोग गरेका छन् वर्णको अर्थ रङ्ग हुन्छ । वर्णको समानान्तर शब्द ‘जात’ हुँदैन । त्यस्तै उनले कर्म र गुणका आधारमा वर्ण छुट्याएको भनेका छन्, थरका आधारमा होइन ।

गीताकै १८औं अध्यायको ४२औं श्लोकमा “शमो दमस्तपः शौचं क्षन्तिरार्जवमेव च, ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम् ।” भनिएको छ । अर्थात् ब्राह्मण हुनका लागि नौ वटा बिशेषता हुनुपर्छ भनिएको छ ।

शम अर्थात् आफ्नो मनलाई बशमा राख्न सक्ने । दम अर्थात् आफ्ना इन्द्रीयहरुलाई बसमा राख्न सक्ने । तप अर्थात् धर्मको पालना गर्नका लागि कष्ट सहन सक्ने । पवित्रता अर्थात् शारीरिक र मानसिक रुपमा शुद्ध रहन सक्ने । क्षान्ति अर्थात् अरुलाई क्षमा दिन सक्ने । सरलता अर्थात् निष्कपट भावना भएको, छलछाम नगर्नेे । ज्ञान अर्थात् शास्त्रीय जानकारी भएको । विज्ञान अर्थात् सृष्टि रचनाको विषयमा जानकारी भएको । र, आस्तिक अर्थात् ईश्वर तथा धर्मकर्ममा आस्थावान् भएको व्यक्ति नै ब्राह्मण हो ।

मनुस्मृतिमा भनिएको छ ‘जन्मना जायते शूद्र कर्मणा द्विज उच्यते, वेदपाठात् भवेत विप्र ब्रह्म जानाति ब्राह्मण ।’ अर्थात् मानव जन्मँदा सबै शुद्र हुन्छन्, कामले उच्च बनाउने हो । यस्तै ब्यासस्मृतिमा भनिएको छ ‘ब्रह्मजीवसमुत्पन्नो मन्त्रसंस्कारवर्जितः, जातिमात्रोपजीवी च भवेदब्राह्मणः स तु ।’ अर्थात् ब्राह्मणको कोखमा जन्मिएर पनि मन्त्र संस्कार नभएको र जातिले मात्र चिनिने अ–ब्राह्मण हुन्छ ।

ब्राह्मणका बारेमा गौतम बुद्धले भनेका छन्, कुनै मानिस जन्मका आधारमा ब्राह्मण हुन सक्दैन । उसले ब्राह्मणचित कर्तव्य गरे मात्र ब्राह्मण हुन सक्छ । ब्राह्मण त त्यो हो, जो अग्लो ठाउँमा शान्तिसँग बस्छ, आफ्नो कर्तव्य गर्छ, उत्तेजनामा आउँदैन, दिउँसो सूर्य, रातमा चन्द्रजस्तै उच्च पदमा आसीन ब्राह्मण राजसी वस्तुले चम्कन्छ । जन्मँदा सबै शूद्र हुन्छन् । कर्मले तिम्रो स्थान तय हुनेछ ।

चाणक्यले भनेका छन् ‘जो मान्छे एकपटकको भोजनबाट सन्तुष्ट हुन्छ, कर्ममा (यज्ञ गर्नु–गराउनु, पढ्नु–पढाउनु, दानमा पाएको खाने, आफूसँग केही नभएको, बाँकी दान दिने) लागिरहन्छ र आफ्नी स्त्रीसँग ऋतुकाल (मासिक धर्म) पछि मात्र संसर्ग गर्छ, उही नै सच्चा ब्राह्मण कहलाउँछ ।’

धर्मग्रन्थहरुमा र हिन्दु धर्मसँग जोडिएका पौराणिक कथाहरुमा यस्ता थुप्रै परिभाषाहरु छन् । ती सबै परिभाषाहरुको निश्कर्ष हो, ब्राह्मणको छोरो ब्राह्मणै हुन्छ भन्ने जरुरी छैन । ब्राह्मण भनिनलाई विद्वान हुनैपर्छ, जसरी क्षेत्री हुनलाई युद्ध र शासन कला, वैश्य हुनलाई व्यापार व्यवसाय कला र शुद्र हुनका लागि सिल्प कला हुनु पर्छ ।

‘ब्राह्मणबाद’लाई गाली गर्दैमा बाहुनहरु मात्रै झस्किनुपर्ने कुनै कारण छैन । ब्राह्मणबाद जात, थर वा गोत्र होइन्, अहिले चर्चा गरिएको ब्राह्मणवाद प्रवृत्ति हो ।

त्यसैले, पहिलो कुरा त हामी जो जो आफूलाई ब्राह्मण दाबी गर्दैछौं, हाम्रै धर्मग्रन्थहरुले दिएका परिभाषा अनुसार हामी ब्राह्मण हौं कि होइनौं भन्ने कुराको ख्याल गर्नु जरुरी छ । हामीमा कुनै लोभ छैन, हामी बैदिक ज्ञानले भरिपूर्ण छौं, हामी आफ्नो मन र ईन्द्रीयहरुलाई बसमा राख्न सक्छौं, हामीमा अरुलाई क्षमा दिने, त्याग गर्ने क्षमता छ भने हामी ब्राह्मण हौं । होइन भने ‘थर’ का मात्रै ब्राह्मण हौं, कर्मले वा धर्मले हामी ब्राह्मण होईनौं ।

तर, दुभाग्र्य, समाज विकासको क्रमसँगसँगै राम्रा र नराम्रा कुराहरु संस्कृतिहरु विकसित हुँदै गए । समाज विकासको चरणमा बनाइएको वर्ण व्यवस्था विस्तारै ‘जाति’ व्यवस्थामा पुग्यो । र, अहिले सवै कुरा जाति व्यवस्थामै रमाएको छ ।

त्यसै कारण हो, केही साथीहरुलाई अहिले पछाडि समाजले उच्च मानेका थरहरु जोडेर आफू उच्च भइन्छ भन्ने सोचाइ छ, त्यसैले आफ्नो नामका पछाडि कथित उच्च थर राखेर रमाउँदैछन् । यसले उनीहरु आफैलाई समस्यामा पारेको छ । तर, थरले ब्राह्मण हुन सक्दैन भन्ने कुरा प्रष्टै छ ।

दोस्रो कुरा यदि हामी धार्मिक परिभाषा अनुसारकै ब्राह्मण भए पनि वा हाम्रा कर्म जेसुकै हुन हामी ब्राह्मणै हौं भन्ने दावी गर्ने हो भने पनि ‘ब्राह्मणबाद’लाई गाली गर्दैमा बाहुनहरु मात्रै झस्किनुपर्ने कुनै कारण छैन । ब्राह्मणबाद जात, थर वा गोत्र होइन्, अहिले चर्चा गरिएको ब्राह्मणवाद प्रवृत्ति हो । कसैकसैले यसलाई दर्शन वा दृष्टिकोणसमेत मान्न थालेका छन् ।

‘ब्राह्मणवाद’ भन्ने जुन चर्चा गरिन्छ, त्यो ब्राह्मणवादै नै हो कि होइन भन्ने प्रश्न छ । यो प्रवृत्ति हो दर्शन होइन । तर, कुनै व्यक्ति वा समूह÷समुदायलाई जाति, धर्म, कुल, रंग, नस्ल, परिवार, लिंग, भाषा वा क्षेत्रका आधारमा व्यवहार गरियो वा यिनै कारणले कुनै कामका लागि योग्य वा अयोग्य मानियो भने त्यसलाई ब्राह्मणवाद भन्ने चलन छ । जस्तो कि– मन्दिरको पुजारी हुनका लागि बाहुनै हुनुपर्ने, बाजा बजाउनका लागि दमाई नै हुनुपर्ने, खाना पकाउनका लागि महिला नै हुनुपर्ने आदि ।

अरुलाई होच्याएर, सानो देखाएर, कसैलाई दास बनाएर, भय देखाएर, लोभ देखाएर आफ्नो हैकम जमाउनु ब्राह्मणवाद हो । अहिलेको बिरोध यिनै रुढीवाद, विभेदकारी र अवैज्ञानिक कुराहरुको हो ।

आज कुनै महिला, कुनै किसान, कुनै पछाडि परेको वर्ग, अल्पसंख्यक, दलितमाथि भइरहेको अन्याय, शोषण दमन पनि ब्राह्मणवादी प्रवृत्ति हो । घरमा महिनावारी भएकी महिलालाई छुवाछुत गर्नु, गोठमा सुताउनु, काजकिरिया गर्नका छोरो हुनैपर्ने मान्यता राख्नु पनि ब्राह्मणवादी चिन्तन हुन् ।

यो चिन्तन, प्रवृत्ति हरेक व्यक्तिमा छ । यो दलित भनिएकाहरु, क्षेत्री भनिएकाहरु, जनजाति भनिएकाहरु, आदिबासी भनिएकाहरु, महिलाहरु, पुरुषहरु सबैमा छ ।

जो हातमा प्ले–कार्ड लिएर चर्को स्वरमा ‘ब्राह्मणवाद–मूर्दावाद’ भन्दैछन् उनीहरु पनि ब्राह्मणवादी प्रवृत्तिबाट ग्रसित छन् । त्यसैले थरधारी ब्राह्मणहरुले मात्रै कसैले ‘ब्राह्मणवाद—मूर्दावाद’ भन्दैमा आफूलाई गाली गरेको सोच्नुपर्ने कुनै कारण छैन ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>