2021-02-26Friday नेतागण ! हस् त नमस्कार ! – Hamro Nepal

नेतागण ! हस् त नमस्कार !


आदरणीय नेतागण नमस्कार !

तेर्ह वर्ष भयो देशमा गणतन्त्र आएको । चार बर्ष हुन लाग्यो संविधानसभाबाट संविधान घोषणा भएको । सरकार बन्ने–भत्कनेको त कुरै नगरौं । यसबीचमा प्राय:तपाईंहरू सबैको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्ने धोको पूरा भएको हुनुपर्छ । किनकि, सरकार बनाउन र भत्काउन सायद संसारकै च्याम्पियन हुनुहुन्छ तपाईहरू ।

तर, नेतागण, देशले के पायो ? हामी नागरिकले के पायौं ?

तपाईंहरूको कुन आदेश मानेनौं हामीले ? राणाविरूद्ध लड्न बोलाउनुभयो । राणाशाही अन्त्य नहुन्जेल लड्यौं । पञ्चायतविरूद्ध लड्न बोलाउनु भयो । पञ्चायत नढलुन्जेल लड्यौं । जनयुद्ध लड्ने आदेश दिनुभयो । जनयुद्ध पनि लड्यौं ।

कृपया भनिदिनुस् नेतागण, हामीले तपाईंहरूको कुन आदेश मानेनौं ? हामीले तपाईहरूमाथि के अन्याय गर्यौं ? के अपराध गर्यौं ? के पाप गर्यौं ? जसको सजायँ हामी जनतालाई यति निर्ममतापूर्वक दिइरहनु भएको छ ?

कर्णालीको नागरिकले सुन मागेको छैन नेतागण ! अहिले पनि केवल नुन माँगिरहेको छ ।

मधेसका मुसहर,चमारहरूले दरबार मागेका छैनन् सरकार ! अहिले पनि केवल घरबार मागिरहेका छन् ।

दलितहरूले मान्छे हुनुको अधिकार मागिरहेका छन् । युवाहरूले आफ्नै देशमा स्वरोजगार/रोजगार मागिरहेका छन् । महिलाले समानता र सुरक्षा खोजिरहेका छन् ।

हो नेतागण ! हो सरकार !! हामी नागरिकले न्याय, सुरक्षा, शान्ति र समृद्धि खोजिरहेका छौं । के यो हाम्रो अपराध हो ।

आजकल बैदेशिक रोजगारीमा गएका महिलाहरू अपमानित भएको, लुटिएको, बलात्कृत भएको, मारिएको खबरहरू सामाजिक सन्जाल र बिभिन्न सन्चार माध्यामहरूमा दिनहुँजसो आइरहन्छ ।

सम्झेर अहिले पनि मुटु काँपी रहेको हुन्छ।

हुन त आफ्नै देशमा पनि हामी महिलाहरू कहाँ सुरक्षित छौं र ? लैंगिक विभेद र त्यसले निम्त्याउने बिविधखाले असुरक्षाहरू कदमैपिच्छे भोगि त रहेका छौं ।

खासगरी किशोरीहरू बलात्कृत हुने र हत्या गरिने मुटु चिमोट्ने समाचारहरू प्रत्येक दिनजसो आइरहेका छन् ।

निर्मला पन्तको बलात्कार र हत्याको समाचार त अन्तरराष्ट्रिय नै बन्न पुग्यो । सरकारले बलात्कारी, हत्यारालाई अहिलेसम्म गिरफ्तार गर्न सकेको छैन । खासमा भन्ने हो भने चाहेको छैन । यस दुःखद घटनाले नेपाल र नेपालीको शीर अन्तरराष्ट्रियरूपमै झुक्न पुगेको छ । विश्वसामु हामी नेपालीको बेइज्जत भएको छ । के अब गुमेको इज्जत फिर्ता हुन्छ र ?

भोकका कारण मृत्यु भएको यसै हप्ता एउटा तस्वीर छापियो  । हे भगवान ! देख्दै मात्र पनि आंग सिरिंग भएर आउँछ ।

सामाजिक संझालमा भाइरल तपाईंले पनि त्यो तस्वीर पक्कै हेर्नुभयो होला ।चटक्कै मुटु चुँडिने । आक्रोश र घृणा एकसाथ ज्वालामुखी बनेर बिस्फोट हुने तस्विर ।

बाँच्न पाउँनु मान्छेको नैसर्गिक अधिकार हो । हाम्रो संविधानले स्वास्थ्यलाई मानवअधिकारका रूपमा परिभाषित गरेको छ ।

नेताहरु जहाज चढेर ज्वरो जाँच्न बिदेश जाँदा त्यहाँका जनताले बाँच्न पाउनु पर्छ कि पर्दैन ? कि जनता तपाईं हरूको भोट बैंक मात्रै हुन ?”

छिमेकी देश चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस फैलिएर संसार आतंकित भएर दैनिक मजदुरी गरी बाँच्नेहरुलाई रात र दिन बिताउन गार्हो भइरहेको छ ।

जनता जिवन मरणको दोषाधमा सडकमा अल्झिरहेको वेला बेला नेताहरू वातानुकूलित बंगलामा बसेर सत्ताको अंकगणित मिलाउन कोशिस गरिरहेका हुन्छन् ।

बर्गीय हिसाबले पीँधमा परेकाहरू, जातीय हिसाबले दलितहरू यस अबस्थामा प्रताडीत छन् ।

तुलनात्मक रूपमा अत्यधिक गरिबी, बेरोजगारी, अभावग्रस्त, शोषित एवं उत्पीडित जीवन जीउन विवश ब्यक्ति खोजि खोजि सरण दिनु पर्दैन र ?

केन्द्रकै गृहमन्त्रीको आदेश कुर्नपर्छ भने किन चाहियो यो संघीयता/प्रदेश सरकार  ??

सरकारविनाको राज्य हुँदैन । राज्यविनाको नागरिक हुँदैन । एउटा नागरिकका लागि बाँच्न पाउनु सबभन्दा ठूलो मानवअधिकार हो । राज्य सबैको संरक्षक हो । सरकार अभिभावक हो ।

मलाई चिच्याई चिच्याई सोध्न मन लागिरहेको छ- के हाम्रो देशमा सरकार छ ? देश र जनताप्रति उत्तरदायी नेता र पार्टीहरू छन् ? यदि छन् भने हामी नागरिकलाई जवाफ चाहियो ।

आफ्नो परिश्रमको लागि आँशु चुहाँउने किसान हाम्रो अन्नदाता होइनन् ? जीवनजल नपाएर ज्यान गुमाइरहेका जाजरकोटका ती दुखी गरीबहरू यस देशका मतदाता हुन् कि होइनन् ? यदि हुन् भने कम्तिमा हजुरहरू वातानुकूलित बंगलामा राज हुँदा उनीहरूले शीतलहरबाट बच्न एकसरो कपडा र राति ज्यान छोप्ने कम्बल पाउनुपर्छ कि पर्दैन ? हजुरहरू जहाज चढेर ज्वरो जाँच्न बिदेश जाँदा जाजरकोटका जनताले जीवनजल पाउनु पर्छ कि पर्दैन ? पसिनाको कमाइले हात मुख जोड्दै गरेका आजको दिन सम्म मण्डलामा कठ्यांग्रिएर उखु किसानले न्याय पाउँनु पर्छ पर्दैन ? कि जनता तपाईँहरूको भोट बैंक मात्रै हो ?”

मुखिया हजुर ! के हामी जनता मदारीले नचाउने बाँदर हौं ? हजुरहरूले जता नचायो त्यतै नाचिदिनुपर्ने ?

नेतागण तपाईंहरुको कार्यकाललाई हामी नागरिकले कसरी सम्झने ? जस दिएन भन्नुहुन्छ । सहयोग गरेन भन्नुहुन्छ । गुनासाका गीत गाउँदै हिँड्नुहुन्छ । एकचोटि आफूले गरेका कामहरू सम्झिहेर्नुस् त !

महंगी, कालाबजारी, कमिसन, भ्रष्टाचार, बलात्कार, हत्या, एसीड आक्रमण र महिलाहिंसाको त कुरै नगरौं । यी ‘महान काम” १४ बर्ष भन्दा कहिले भएको थियो र ?

इतिहासमा कहिल्यै नभएका भ्रष्टाचारका काण्डहरू एकपछि अर्को थपिएको थपियै छन् । पहिला-हिला लाख र करोडमा हुने भ्रष्टाचार, अब त अर्ब र खर्बमा हुन थालेको छ । अदृश्य भ्रष्टाचार कति भएका र भइरहेका होलान् ? साँच्चै देश हेर्दा कहीँ, कतै चित्त बुझाउने ठाउँ छैन । सम्झँदा मात्र पनि मूर्छा परिएला जस्तो हुन्छ । ओपन हार्ट सर्जरी गरेकी मान्छे म । देशको दुर्दशा देख्दा कति गारो होला सहनलाई ? झन्नै अस्पताल जानुपरेको । के ढाँट्नु नेतागण तपाईहरुलाई !

लोकतन्त्र भन्नुहुन्छ हगि तपाईंहरू चुनावलाई ? मेरो जिज्ञासा छ तपाईंहरूलाई-

“लोकतन्त्र भनेको दिनु मात्र हो कि लिनु पनि हो ? कि नागरिकले सधैं दिइरहने तन्त्रको नाम नै लोकतन्त्र हो ?

कि नागरिकले भोट दिएवापत नेताले दिने चोट नागरिकले सही रहनुपर्ने तन्त्रको नाम नै लोकतन्त्र हो ? के हो नेतागण लोकतन्त्र भनेको ?” नेतागण ! तपाईहरूको भर्यांग अब कति वर्ष बन्नुपर्छ हामीले ? अनि तपाईहरूको दासत्वबाट कहिले अमलेख हुन्छौं हामी ?

हाम्रो भोटले राष्ट्रपति बन्नु भो, प्रधानमन्त्री बन्नु भो, मन्त्री बन्नु भो । हामीलाई शासन गर्ने शासक बन्नु भो ।

हामी नागरिकको अपेक्षा थियो, हाम्रा नेताहरू शासक होइन; हाम्रा सेवक बनुन् । हाम्रो असल अभिभावक बनुन् । समस्यामा साथ दिने सहृदयी साथी बनुन् ।

तर, तपाईहरू त हामीलाई सधैं शोषण गर्ने शोषक बन्नु भो । हाम्रो अप्ठेरोमा अट्टहास गर्ने शासक बन्नु भो । नेतागण ! ताली त एउटा हातले मात्र नबज्नु पर्ने हो । रोटी एकोहोरो सेकाएर मात्रै नपाक्नु पर्ने हो ।

मेरो भोटले तपाईं मन्त्री, प्रधानमन्त्री बन्न सक्नुहुन्छ भने तपाईंले मेरो भोटको बिरूद्ध पदीय आचरण गर्दा मलाई मेरो भोट फिर्ता लिने अधिकार हुनुपर्छ कि पर्दैन ? अब हामी नागरिकलाई यो अधिकार चाहियो नेतागण ।

रिसानी माफहोस्, तपाईहरू सारै साँढे बन्नुभयो । सधैं कुकुर-बिरालाको खेल खेलिरहन तपाईंहरूलाई भोट दिएका होइनौं हामीले ।

तपाईहरूको ब्यक्तिगत अहं तुष्टिका लागि हामी नागरिक तपाईहरूका विचारको शिकार कति दिन भइरहने ? अनि कति समय तपाईहरूको वादको बन्दी बनिरहने ? तपाईहरू आफूलाई भगवान पनि घोषणा गर्न सक्नुहुन्छ । तर, यथार्थमा तपाईंहरू रंग फेरिरहने रंगीन छेपारो हो । तपाईंहरूको कुरा पत्याइसाध्ये छैन ।

धरोधर्म नेतागण ! हजुरहरू हजार जिब्रो भएको शेष नागभन्दा कम हुनुहुन्न ।

नेताहरूले भ्रष्टाचार रोक्ने, सुशासन र सदाचार कायम गर्ने वाचा गरेका हुन्छन् आ-आफ्नो घोषणा-पत्रमा । दलहरूको चुनावी घोषणा-पत्र पढ्दा सपनाको पुलिन्दा जस्तो लाग्थ्यौं ।

चुनाबको वेलामा समृद्धिको नारा लगाउन नेतागणहरू बीच प्रतिस्पर्धा नै चलेको हुन्छ । कोही घरघरमा ग्यास पुर्याउने र हावाबाट बिजुली निकाल्ने कुरा गर्नुहुन्छ । कोही २५ वर्षभित्र देशलाई संसारकै समृद्ध बनाउने सपना बाँड्नुहुन्छ । कोही देशलाई स्वीजरलैंण्ड र सिंगापुर बनाउँछु भन्दै हिँड्नुहुन्छ ।

तर, बिडम्बना, ५० लाख युवाहरू आज पनि विदेशमा रगत-पसिना बगाइरहेका छन् । प्रत्येक दिन ५-७ वटा शव कफिन बक्समा पोको पारेर नेपाल भित्रिरहेको छ । कहिले रोकिन्छ नेतागण, नेपाली नारीको सिउँदो पखालिने यो क्रम ? अनि कहिले तोडिन्छ बिदेशमा युवाहरू बेचेर प्राप्त विप्रेषणबाट धनी भएको भ्रम ?

समृद्धिजति आफ्नो भागमा पस्केर हामी जनतालाई गरिबी बाँड्नु भो ।

 सरकार ! कसरी बाँच्ने हामी गरिब जनता ? बोरामा पैसा बोकेर जाँदा झोला भरी सामान नआउने भइसक्यो । बजारमा श्रम बिक्नै छाडिसक्यो ।

के गर्नु नेतागण, हजुरहरूको मीठो भाषणले हामी नागरिकको रित्तो भाँडोमा रासन नभरिँदो रहेछ ।

देशमा असल राजनीति र कुशल नेताको खडेरी परिरहेको समयमा केही आशलाग्दा अनुहारहरू देख्दा मनै रोमान्चित भएर आउँछ ।

पक्कै अबचाहिँ केही हुन्छ कि जस्तो आशा मनभित्रैबाट पलाएर आउँछ । तर, तिनै आशलाग्दा अनुहारहरूबाट फेरि उही पुरानै पुस्ताले गरेको गलत कामको पुनरावृत्ति भएको देख्दा चाहिँ मन त्यसै त्यसै अत्यासिन्छ । दल र नेताहरूको ताल देखेर भित्रैदेखि फ्रस्टेसन सुरू भएको छ ।

म धेरै राजनीति त बुझ्दिनँ । तर, मेरो अनुमानमा राजनीतिले अहिले लुँडो खेलमा ९९ अंकमा पुगेर सबभन्दा लामो सर्पको मुखमा परेजस्तै नियति भोगिरहेको छ । साँच्चै, अहिले नेपालका सबै नेतागणहरु प्रतिको भरोषा ९९ बाट पुछारको २ अंकमा झरेको जस्तो भएको छ ।

तपाईंहरुले दिनदिनै सपनाको सूची थपेर देश समृद्ध हुँदैन । देशमा शान्ति सुरक्षा आउँदैन । तपाईंहरुकोको उखानटुक्काले देश बन्दैन ।सुझाव छ नेतागण तपाईंलाई- बोल्नुभन्दा अघि २० चोटि सोचेर मात्र बोल्ने गर्नुस् । आफूले बोलेको कुरा बिष पिएर भए पनि पूरा गर्नुस् ।

नेतागण ! अब हामीलाई सस्तो सपना होइन, वास्तविक विपना चाहियो । कृपया ! राष्ट्रवाद, राष्ट्रघात, पुँजिवाद, समाजवाद, साम्यवाद विभिन्न वादका नाममा आरोप-प्रत्यारोप र झगडा गर्न बन्द गर्नुस् । पार्टीका नाममा जन्मजात काँग्रेस र कम्युनिस्टमा नागरिकलाई कित्ताबन्दी गर्न छाडिदिनुस् ।

कम्तिमा नागरिकको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्न सिक्नुस् । देश र जनताको पक्षमा काम गर्नुस् । हामी तपाईहरूकै साथमा हुनेछौं ।

अन्तमा,

सायद यो मेरो मात्र होइन, अधिकांश नेपालीहरूको असन्तुष्टि र आशंका हो । आदरणीय नेतागण ! हरेक वस्तुको आफ्नो सहने सीमा हुन्छ । हामी नागरिक अहिले निशब्द सीमामा उभिएका छौं । निशब्द उभिनुको अर्थ हामी निम्छरो होइनौं । आजसम्मको इतिहास अत्याचारी शासकहरूका बिरूद्ध जनताले बिद्रोह गरेको इतिहास छ ।

तर, अब भ्रष्ट र अयोग्य नेताहरूका बिरूद्ध नेपाली नागरिकले बिद्रोह गरेभने अनौठो मान्नु पर्दैन । नेतागणहरूलाई चेतना भया । हस् त नमस्कार !

पत्रमा आवेग ब्यक्त भएकोमा क्षमा पाउँ ।



Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>