2021-03-07Sunday गाउँको चिठ्ठी सहरलाई – Hamro Nepal

गाउँको चिठ्ठी सहरलाई


प्रिय सहर,

बाडुली लागिरहेको थियो । सम्झिएछौ तिमीले । कम्ती खुसी लागेन । तिम्रो इमेल हिजो मात्रै पाएँ । लामो समयपछि तिम्रो इमेल पाउँदा प्रत्यक्ष भेटघाट भएको अनुभूति गरेको छु ।

विश्वव्यापी महामारी कोरोनाले हामीलाई भन्दा तिमीलाई अलि बढी असर पारेको खबर सुन्दा, पढ्दा असाध्यै चिन्ता लागेको छ । तिमीलाई मात्रै होइन, तिम्रो शरण परेका हाम्रा गाउँलेको पनि त्यत्तिकै खातिर गरेको थिएँ । छु । तर, हाम्रा गाउँलेहरू बन्दाबन्दी उल्लंघन गर्दै भए पनि गाउँसम्म आइपुगेको जानकारी गराउन पाउँदा अत्यन्तै गौरवान्वित छु । विभिन्न बहानामा सहर पसेकाहरू गाउँकै शरण परेका छन् ।

आफ्नो सालनाल गाडिएको माटोको सुगन्ध पहिल्याउँदै गाउँ फर्कनेको ‘क्याराभान’ विभिन्न सञ्चारमाध्यममा तिमीले पनि पढेको, सुनेको र हेरेको हुनुपर्छ ।

तिमीलाई चिट्ठी लेखिरहँदा सांसद प्रदीप गिरिलाई सम्झिरहेको छु । ‘मानिसले सबैभन्दा बढी आफ्नो जीवनलाई माया गर्छ,’ सांसद गिरिले भनेका थिए, ‘उसले आफ्नो जीवन बचाउन जस्तोसुकै संघर्ष गर्न पछि पर्दैन ।’ उनको भनाइसँग सहमत नहुने को होलान् र ? सहर पसेकाहरू कोरोना संक्रमणदेखि डराएर जीवन बचाउन गाउँ फर्केको ‘क्याराभान’ देख्दा बौद्धिक नेताका रूपमा परिचित प्रदीप गिरिको अभिव्यक्ति पैंचो लिन लोभिएको हुँ ।

जब–जब संकट पर्छ नि, सहर पसेकाहरू गाउँ फर्कन्छन् । ‘गाउँमा भविष्य छैन’ भन्नेहरू नै संकटमा गाउँ फर्कंदा गाउँमा धेरै थोक रहेछ भन्न कुनै आइतबार पर्खन पर्दैन होला । आपत–विपतमा गाउँ नै कामलाग्दो रहेछ ।

प्रिय साथी,

भारतले अघोषित नाकाबन्दी गर्दा सहर पसेकाले गाउँ सम्झनसम्म सम्झेका थिए । गोरखा भूकम्पमा सहरभन्दा सुरक्षित भन्दै उनीहरू गाउँ फर्के । गोरखा भूकम्प बिर्संदै गएपछि उनीहरू पुनः सहर पसे ।

कोरोना कहरसँग भागेकाले गाउँकै शरण लिएका छन् । तर पनि गाउँले कसैलाई हेलाँहोचो गर्दैन । गाउँको जनजीवन जहिल्यै सामान्य हुन्छ । गाउँ मनले बाँचेको हुन्छ । ऊ आफैं आत्मनिर्भर छ । ऊ आफ्नै खुट्टामा उभिने प्रयत्न गर्छ । गर्दै आएको छ । नाकाबन्दीताका अपवादबाहेकका सहरियाले दाउरामा खाना पकाएका थिए । त्यतिबेला सहरवासीले दाउरामा खाना पकाएको फोटा सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘कोसी पुरानै धारमा फक्र्यो है’ भनेर ‘क्याप्सन’ लेख्नेहरूलाई झल्झली सम्झिरहेको छु । तर, नाकाबन्दी र गोरखा भूकम्पले गाउँलाई खासै असर पारेन । ऊ सधैं उस्तै ।

गाउँमा मानवीय संवेदना पनि छँदै छ । गाउँमा अ‍ैंचोपैंचो चल्छ । गाउँ फर्केर के गर्ने भन्नेहरू नै हिजोआज गाउँमा रुखोसुखो खाँदै ज्यान जोगाउन बाध्य छन् । सहरमा कसले वास्ता गर्ने ? यसो भन्दा तिमीलाई चित्त दुख्ला । आफ्नै साथी सम्झेर यत्ति लेखें । वास्तविकता लेख्दा तिम्रो चित्तदुखाइ भएमा माफी माग्छु । माफी दिन्छौ नि होइन ?

हुन त सहरबाट भागेर गाउँ पस्दैमा कोरोना संक्रमणबाट जोगिने होइनौं । सतर्कता अपनाउनु नै यसको अचुक औषधि हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एक अन्तर्वार्तामा भनेका थिए, ‘कोरोनासँग लड्ने क्षमता हामीलाई पुर्खाबाट प्राप्त भएको छ ।’ मन्त्री ढकालले बोलेको पुगोस् ।

भएका खेतबारी बाँझो राखेरमात्रै होइन, बेचेर सहर पसेका कतिपयलाई गाउँकै काख न्यानो लाग्न थालेको छ । गाउँकै साथ भरोसायोग्य लागेको हुनुपर्छ । चिन्न सके गाउँमा सम्भावनाको खानी छ । दुःखमा रमाउन जान्नेले गाउँले जीवन सुखमय तरिकाले सदुपयोग गरेका छन् । दुःखबाट भाग्नेहरू जीवनदेखि भागेको भाग्यै छन् । गाउँको दुःख सम्झेर सहर पसेकाहरू संकटमा सहरबाट गाउँ लाग्छन् । गाउँ र सहरबाट भाग्दाभाग्दै आधा जीवन बिताइरहेका उनीहरूलाई गाउँ भनेको भर्‍याङ हो भनेर अब त सुझाउन पर्दैन कि ? भर्‍याङ चढ्न जाने ठाउँमै पुगिन्छ । चढ्न जानिएन भने पछारिनुको विकल्प छैन ।

तिमीले त भर्‍याङ देखेका छैनौं होला । ‘लिफ्ट’ चढ्न अभ्यस्त तिमीलाई भर्‍याङले ‘लिफ्ट’को काम गर्छ भनेर जानकारी गराएँ । विद्युत् नहुँदा ‘लिफ्ट’ प्रयोग गर्न सकिँदैन । तर, भर्‍याङ जुनसुकै बेला चढ्न सकिन्छ । त्यही भएर ‘लिफ्ट’भन्दा भर्‍याङ उपयोगीजस्तो लाग्छ । मेरो बुझाइसँग सबै सहमत नहुन सक्छन् ।

सहज हुँदा सहरमा रमाएकाहरू अप्ठ्यारो पर्दा गाउँ सम्झन्छन् । गाउँ फर्कन्छन् । सहर पसेकाहरू घर फर्कंदा गाउँलेले मन अमिलो पारेका छैनन् । घरको भकारीमा एक गेडा अन्न नभए पनि गाउँमा भोकै परिँदैन । एकलाई अप्ठ्यारो पर्दा अर्कोलाई हात र साथ दिनेको कमी छैन ।

नेपालमा ८ सय ३५ वटा पहाड छन् भनेर सामान्यज्ञानमा पढेको थिएँ । त्यसो हो भने गाउँ नै गाउँले भरिपूर्ण देशका हामीलाई सहरले कहिलेसम्म स्वागत गर्न सक्लान् ? सोचमग्न छु । ८ सय ३५ वटा पहाडका गाउँलेवासीले सहरमात्रै मन पराएर साध्य हुन्छ र ?

सहृदयी साथी,

यसपटकको चिट्ठीमा गाउँकै बारेमा केन्द्रित भएँ । भकारीका भकारी अन्नबाली उब्जनी हुने खेतबारी बाँझिए पनि गाउँ आफ्नै पौरखमा बाँचेको छ । पसिनाको गीत गाउँदै जीविकोपार्जन गर्नु गाउँको विशेषता हो । जस्तोसुकै विपत्ति आइलागे पनि सहरजस्तो गाउँ सुनसान हुँदैन । त्यही भएर होला पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले राजनीतिबाट सन्न्यास लिएपछि साबिक खोप्लाङ–४ बेलबास गोरखामा स्थानीयसँगको साझेदारीमा बाख्रा पाल्ने रहर गरेका होलान् । डा. भट्टराईलगायतले खोप्लाङमा ३८ रोपनी पाखो जमिन भाडामा लिएर घाँसखेती थालेको समाचार प्रकाशन भएको धेरै भएको छैन ।

डा. उपेन्द्र देवकोटाले जीवनको आखिरीमा गोरखाको बोहोरागाउँमा रहेको सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेका थिए । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका डा. देवकोटाले सिस्नेधाराको पानी खाने इच्छा गर्नु भनेको गाउँको माया–ममता व्यक्त गरेको हुनुपर्छ । सेनाको हेलिकोप्टरबाट गोरखा पुर्‍याएर उनलाई सिस्नेधाराको दुई चम्चा पानी खुवाइएको समाचार सञ्चारमाध्यममा पढेको थिएँ । त्यतिमात्रै होइन, उनले गोरखाकै चेपेको पानी खुट्टा टेक्ने रहर व्यक्त गरेका थिए । मैले यति जानकारी गराएपछि तिमी प्रस्ट भयौ होला, गाउँका मानिसलाई गाउँले तान्दोरहेछ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित ‘पहाडी जीवन’ निबन्ध पढेका छौ ? छैन भने एकपटक पढ है । त्यतिमात्रै होइन, युगकवि सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’बारे कत्तिको जानकार छौ ? गाउँसँग जोडिएर आउने नेपाली गीत–संगीत त्यत्तिकै श्रवणीय छन् । साहित्य सिर्जना त्यत्तिकै पठनीय छन् ।

गर्न सके गाउँमै सम्भावना छ भन्नेहरू बढ्दै गएका छन् । मुलुकको संरचना तीन तहमा पुनःनिर्माण भएपछि गाउँमै सम्भावना खोज्ने जाँगरिला बढ्नु अस्वाभाविक होइन । गाउँमा सम्भावनाका ढोका खुल्दै गएका छन् । सम्भावनाका ढोका खोल्न स्थानीय सरकार लागिपरेको छ । त्यसलाई मलजल गर्न सम्बन्धित स्थानीय तहका गाउँप्रेमीले सघाएका छन् ।

एकताका बूढाबूढी र केटाकेटीले धानेको गाउँको महत्व फेरि बढेको अनुभूति गरेको छु । आफूले आफ्नै खेतबारीमा फलाएको खानेकुरा खानुको आनन्द शब्दमा व्यक्त गर्न कठिन हुन्छ । चाडबाड र कामविशेषमा मात्र गाउँ फर्कनेहरूलाई कोरोना संक्रमणले गाउँ फर्काएको छ । गाउँदेखि सहर र सहरदेखि बिदेसिएकाहरू गाउँ फर्कन हतारिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैधानिक तरिकाले वैदेशिक रोजगारीमा जाने ४६ लाख छन् । तीमध्ये अधिकांश गाउँकै हुन् । अपवादबाहेक अधिकांशलाई सम्बन्धित कम्पनीले बेतलबी बिदा दिइसकेका छन् । उनीहरू स्वदेश फर्केपछि गाउँमै बस्नुको विकल्प छैन । कोरोना संक्रमणले गाउँलाई हराभरा बनाउने अवसर आएको छ । त्यसो भएपछि गाउँ लोभलाग्दो देखिने नै भयो ।

आत्मीय साथी,

कोरोना संक्रमण बिसेक भएपछि वनफूलझैं हाँसेको गाउँ आउन तिमीलाई निवेदन गरें । मुलुकको मेरुदण्ड भनेर चिनिएको गाउँले जनजीवन बुझ्न र पढ्न तिमीलाई गाउँमा स्वागत गर्न हतारिएको छु । यसपटक यत्ति नै लेखें ।

अन्त्यमा,

‘स्टे होम’ । ‘स्टे सेफ’ है ।



Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>