2021-02-26Friday today’s news – Hamro Nepal

today’s news


विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ नामक महामारीका कारण आमनागरिकको दैनिकी बदलियो । सबैको खाने, बस्ने, पढ्ने, पढाउने, व्यापार, व्यवसाय र सुखसुविधा तथा आरामका कुराहरूमा पूर्णतया बिर्को लाग्यो ।

सुरूमा मानिसहरू कसरी बाँच्ने भन्ने कुरामा केन्द्रित भए । क्रमशः यो अवस्था लम्बिँदै गएपछि सबैमा आफ्नो जिम्मेवारी पूरा गर्ने भावनाको विकास भयो । नेपालमा खासगरी शिक्षा क्षेत्रले यसको निकै ठूलो चर्चा पायो । सरकारी र गैर सरकारी दुवै पक्ष अनलाइन शिक्षाका लागि वकालत गर्न थाले । केही स्कुललाई राम्रो अवसर मिल्यो । उनीहरूले जसरी पनि अनलाइन कक्षा सुरू गर्दा संसार जितेजस्तो उत्साह देखाए । भाडामा बसेर दैनिक छाकबासको समस्या भएकाहरूले समेत निश्चित रकममा इन्टरनेट सेवा (डाटा) लिएर आफ्ना बाबुनानीको कक्षा पूरा गरिदिनु पर्ने भयो ।

अनलाइन कक्षामा सबैको पहुँच र आर्थिक अवस्थाले सम्भव छैन । असमानता जन्माउँछ भन्ने जमात पनि थियो । विस्तारै देशको दूरदराजमा पहुँचका कुरा उठ्न थाले । यसैको परिणामस्वरूप अनलाइन अभियानमा पूर्णविराम लाग्न गयो । अनिवार्य हुन खोजिरहेको अवस्थामा ऐच्छिकमा सीमित भयो । सरकारले नै सबैलाई अगाडि नबढ्न निर्देशन गर्नुपर्ने अवस्था आयो ।

यसपछि स्कुल र सरोकारवालाहरू स्वभाविक बाटोतिर मोडिए । नयाँ शैक्षिकसत्र पनि अन्योलमा पर्न गयो । कहिले सुरू गर्ने भन्ने प्रश्नको उत्तर दिने मानिस र निकाय कोही भएन । तर, बालबालिकाहरूको दैनिकी भने गजबले व्यतीत भएका उदाहरणहरू पनि भेटिए । यिनै उदाहरणहरूबाट के प्रष्ट हुन्छ भने विगतमा उठ्दै आएका दुई ठूला मुद्दाहरू सम्बोधन उन्मुख देखिए । पहिलो कुरा बालबालिकाहरू जीवनोपयोगी सिपहरूमा अभ्यस्त पाइए भने अर्को घर परिवारमा सामाजिकीकरण निकै राम्रोसँग भएको पाइयो । पुस्तान्तरणको निकै राम्रो अवसरहरू जुरेको पाइयो ।

यसै सम्बन्धमा मलाई करिब ५२ दिनको समयावधिले केही थप कुरा जान्ने अवसर दियो । म अहिले दैलेख, धादिङ र रौतहटका केही सामुदायिक स्कुलहरूसँग काम गरिरहेको छु । अनि म काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिकाको नयाँ नैकाप डाँडोमा बस्छु । मेरो घरको छतबाट करिब ६०/७० ओटा अरू घरका कौसी र २५/३० वटा आँगनहरू देखिन्छन् । मेरो पूरै समय घरमा नै बित्ने भएकाले करिब तीन घण्टा समय कौसीमा बित्छ । यसमा बिहान र साँझ १/१ घण्टा र अन्य समयमा एक घण्टा होला । यस क्रममा जीवनोपयोगी अनौपचारिक कक्षाका निकै राम्रा नमुनाहरू देखिए । ती नमुनाहरू कक्षाबाट सम्भावित नतिजाहरू यसप्रकार छन् ।

तीन पिंढीसँगै – पुस्तान्तरण 

करिब ७० वर्षका बाजे, ५० वर्षका बाबु र ८/९ वर्षका बालकसँगै ब्याटमिन्टन खेलेको देखियो । घर आँगनको साँगुरो ठाउँमा कोर्ट नै बनाएर व्यवस्थित रूपमा बिहान एक घण्टा र बेलुका एक घण्टा मजाले समान रूपमा हार्दिकतासाथ खेलेको पाइयो । छेउको अर्को घरमा ५० वर्ष नाघेको आमा र स्कुल जान नपाएका ९/१० वर्षकी नानीले बारीमा साग टिपेर सँगै केलाएका धेरै क्षणहरू देखिए । मेरो विचारमा यो अनौपचारिक तर सिकाइको विशिष्ट अवस्था हो । यस अवस्थामा पुस्तान्तरण हुने भाषा, सीप र माया कुनै औपचारिक कक्षाबाट सिक्न पाइँदैन । यसको अझै ठूलो उपलब्धि भनेको आत्मीय अनुबन्धन हो । वास्तवमै टाढा हुँदा वा बिछोडको समयमा आत्माबाट नै आँसु बग्नेगरी भावनात्मक माया विकास हुने अवस्था हो । संस्कार र परिवारको हिसाबले ठूलो उपलब्धि हो ।

समाज र संस्कारजन्य क्रियाकलापहरू

साना बालबालिकाहरू आमा तथा हजुरआमाले पूजा गर्दा सहभागी भएको कुराले मन छोयो । ४/५ वर्षकी बालिका होलिन् । हरेक बिहान घरको कौसीमा हजुरआमासँग पूजागर्दा सँगै देख्छु । हजुरआमाले बत्ती बाल्दा घण्टी बजाएको देख्छु । हजुरआमाले दुई हात जोडेर आँखा चिम्लेर मनमनै पूजा गरिरहेका बेला उनले पनि हात जोडेर आँखा चिम्लेकी हुन्छिन । अर्को घरमा बेलुका अस्ताउँदो सूर्यलाई बत्ती बाल्ने चलन छ । त्यहाँ प्राय: त्यो घरको ६० वर्ष कटेका बाजेले बत्ती बाल्ने गर्छन् । कक्षा ४/५ मा पढ्ने बालक होला उसलाई पनि सधैं साथमा देख्छु । उसले पनि सघाइरहेको देख्छु । यी कुराहरू कुनै औपचारिक कक्षाभन्दा कम छन् जस्तो लाग्दैन ।

वरपर टोलका केटाकेटीहरू सँगै सक्रिय

स्कुल सञ्चालन भएका बेलामा नजुट्ने संयोगहरू जुटाएको देखिन्छ । परिवारको नियन्त्रणका बाबजुद पनि नजिकका छिमेकका ६/७ जना केटाकेटीहरू भएर कहिले किताब पल्टाएको तथा कहिले छलफल गरेको देख्छु । धेरैजसो समय मस्तले खेलिरहेको देख्छु । उनीहरूले खेल्ने खेलहरू पनि निकै मौलिक पाराका देख्छु । एकमाथि अर्को चढेर टावर बनाइरहेका हुन्छन् । अनि माटोमा विभिन्न आकारको पहाड बनाइरहेका हुन्छन् । तिनिहरूले खेलेका धेरै कुराहरू त मेरो दिमागमा पनि बसेनन् । नित्तान्त उनीहरूको सिर्जनाबाट आएका अनौपचारिक तर सिर्जनशील खेलहरू देख्छु । दिनहुँ फरक–फरक खेलहरू हुन्छन् । सायद कसैबाट केही सिक्नुभन्दा पनि यो उनीहरूको अन्तरमनबाट आएको सिकाइ होला वा टेलिभिजनबाट सिके होलान् । यो ज्ञानको प्रष्फुटन हो । यही सिकाइ नै दिगो सिकाइ हो। यसलाई नै लिपिबद्ध गरेको भए सायद नयाँ विषयवस्तु बन्थ्यो होला ।

उत्पादनमूलक र जीवनोपयोगी काममा बालबालिका

वरपर छिमेकमा पर्याप्त जग्गा हुने मानिस थोरै नै छन् । त्यसैले धेरै जनाले बगैँचा, तरकारी खेती, कुखुरापालनलगायत धेरै कुराहरू कौसी र वरपर नै गरेका छन् । नजिकैको छिमेकमा घरको कौसीमा कुखुरा पालेका छन् । तिनी कुखुरालाई चारा पानी लिने काममा ५/६ वर्षकी बालिका र उसकी भाउजू संलग्न भएको देख्छु । यो उनीहरूको नियमित काम हो । बेलुका ४/५ बजे त एक घण्टा खुला राख्ने गरेका छन् । एउटा छिमेकीको कौसीमा पाल राखेर खानेकुराहरू मःम र आलु पराठा बनाएको देखियो । त्यसमा पनि ९/१० वर्षे बालक संलग्न भएका थिए । उसको काम मःमको डल्लो बनाउने थियो ।

अर्को घरमा एकदिन धेरै कपडा धोइरहेको देखियो । त्यसमा पनि २/३ जना बालबालिका नै सानो कपडाहरू मिच्ने, पानी राख्ने, सुकाउनेजस्ता काममा सहभागी भएको पाइयो । आमा बाबुसँगै कुकुरलाई नुहाउने काम गरेको पाइयो । वास्तवमा यी कामहरू कम शिक्षामूलक छैनन् । छिमेकको एउटा घरमा ९/१० परिवार भाडामा बस्छन् । उनीहरूका साना ठूला ७/८ ओटा केटाकेटी छन् । तिनीहरू पनि तरकारी केलाउने र कपडा धुने काममा सहभागी भएको पाइन्छ । घण्टौसम्म आमाबाबुको समूहमा बसेर कुराकानीमा सहभागी भएका हुन्छ्न् । अग्रजका अनुभवहरू सुन्छन् होला । सायद उनीहरूले यी अवसरहरू स्कुले दिनमा गुमाइरहेका थिए ।

आफ्नै तालमा किताब कापी

कुनै बाध्यता नभएको अवस्थामा र मानिसलाई बाँच्ने कुराको पिर भइरहेको बेलामा पनि धेरै बिहान कौसीमा बालबालिकाहरू किताबकापी सहित कौसीमा बसेको देख्न पाइयो । आमाबाबुले भनेको काम हो वा शिक्षकको दिएको काम भन्ने थाहा छैन । तर, उनीहरू घण्टौसम्म किताब र कापीसँग दोस्ती गरिरहेका थिए । यसको मतलव केही पढ्दै थिए, सिक्दै थिए। उनीहरू एकोहोरो र व्यस्त थिए ।

पहिलेको लत पनि छुटेको हो कि 

यो महामारीको बाढी आउनुभन्दा पहिले बालबालिकाहरूलाई मोबाइल, कम्प्युटर, टेलिभिजनजस्ता कुराहरूको लतले खतम भएका । घरमा केही नसघाउने। अव्यवहारिकजस्ता अनेक उपमा दिने र अभिभावक दिक्क हुने गरेका धेरै उदाहरण भेटिन्थे । मेरो विचारमा छिमेकमा इन्टरनेट नभएको घर छैन होला । तर, दिनभर घरमा तिनै लतले बालबालिकाले दिक्क बनाए भनेको सुनिएको छैन । १०/१२ जना अभिभावकहरू जम्मा भएर कुरा गरेको घरको कौसीबाट सजिलै सुन्न सकिन्छ । तर, उनीहरूले यस प्रकारका टिकाटिप्पणी गरेको सुनिँदैन र बालबालिकाहरू संलग्न भएको पनि देखिँदैन ।

अन्तमा, २/४ महिना शैक्षिक सत्र पछाडि सर्दैमा वा बालबालिकाहरू आफ्नो अभिभावकसँग घरपरिवारमा बसेर स्कुल नजाँदैमा खत्तम नै भयो भन्ने रहेनछ जस्तो लाग्यो । उनीहरू यो समयमा जीवनका अमूल्य दिनहरू बिताइरहेका छन् । जुन दिनहरू मानिसको व्यस्त जीवनशैलीमा सजिलै प्राप्त हुने थिएनन् । अहिलेको निजी र सामुदायिक स्कुलको तानातानले उनीहरूलाई एकक्षण स्वतन्त्र हुन दिने थिएन । सहर क्षेत्रमा एक दिन स्कुल नआउँदा अर्कै स्कुल जान्छ कि भन्ने पिरले दिनहुँ स्कुल जानुपर्ने दिक्दारी उनीहरूमा थियो । वास्तवमा कोरोनाको बन्दाबन्दी एउटा कोणबाट महत्वपूर्ण भएको छ ।

घरको छिमेकमा भएका यी उदाहरणहरूलाई परियोजना कार्य क्षेत्रमा बालबालिकाले गर्ने क्रियाकलापसँग मिसाएर हेर्न खोजेँ । ग्रामीण क्षेत्र भएको अवस्था भिन्न रहेछ । त्यहाँ कुनै बालबालिकालाई आजाद र बेप्रवाह हुने अवसर छैन ।

उनीहरू सबै परिवारको एक जिम्मेवार सदस्य भएर भूमिका निर्वाह गरिरहेका रहेछन् । उनीहरूलाई शैक्षिक पाटोमा जोडिदिन भने केही आवश्यक रहेछ । सबै घर परिवारमा समान अवसर र क्षमता नहुने भएकाले यसलाई व्यवस्थित गर्न सकेमा विभेदकारी अनलाइन कक्षाभन्दा उनीहरू स्वयंले धेरै उपलब्धिमूलक समय बनाउने रहेछन् ।

(शाही  शिक्षा सरोकार केन्द्रसँग आबद्ध छन्)

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>